प्रेरणाको विन्दु÷ताला र हथौडी : मन जित्ने शक्ति

तुफानबाबु श्रेष्ठ

आजको समय प्रविधिले तीव्र गतिमा अगाडि बढिरहेको समय हो तर मानिसहरूबीचको आत्मीयता भने विस्तारै घट्दै गएको महसुस हुन्छ । धेरैजसो सम्बन्धहरू अहङ्कार, क्रोध र शक्ति प्रदर्शनका कारण कमजोर बन्दै गएका छन् । मानिसहरू शब्दले होइन, आदेशले काम गराउन खोजिरहेका छन् तर सत्य के हो भने, डरले मानिसलाई केही समय दबाउन सकिएला, मन भने कहिल्यै जित्न सकिँदैन । हरेक हृदय सम्मान, माया र समझदारीको भाषा बुझ्न चाहन्छ । यही सत्यलाई उजागर गर्ने एउटा सानो तर अत्यन्त गहकिलो प्रसङ्ग छ ।

एउटा गाउँमा एकजना मानिसको तालाचाबी बनाउने पसल थियो । उसले दिनहुँ विभिन्न प्रकारका चाबी बनाउने गथ्र्यो । पसलमा एउटा बलियो हटौडी पनि थियो । हटौडीले सधैं देख्थ्यो( सानो चाबीले सजिलैसँग ठुला र बलिया तालाहरू खोलिदिन्छ, जबकि आफूले धेरै प्रहार गर्दा पनि ताला फुटाउन निकै समय लाग्छ ।

एक दिन हटौडीले चाबीलाई सोध्यो, ‘म तिमीभन्दा धेरै ठुलो र शक्तिशाली छु । मभित्र फलाम पनि धेरै छ । तर म तालालाई तोड्न संघर्ष गर्छु, अनि तिमी यति सानो भएर पनि कसरी सजिलै ताला खोल्छौ ?’ चाबी मुस्कुरायो र शान्त स्वरमा भन्यो, ‘तिमी तालामाथि प्रहार गर्छौ, त्यसैले ताला झन् कडा हुन्छ । तर म उसको भित्रसम्म पुग्छु, अन्तर्मनलाई छुन्छु र प्रेमपूर्वक खुल्न आग्रह गर्छु । त्यसैले ऊ आफैँ खुल्छ ।’

चाबीको यो उत्तर केवल ताला खोल्ने रहस्य थिएन, जीवन बुझाउने दर्शन पनि थियो ।

वास्तवमा, मानिसको मन पनि एउटा तालाजस्तै हुन्छ । बल, दबाब, डर वा कठोर व्यवहारले त्यो कहिल्यै खुल्दैन । केही समयका लागि मानिस चुप लाग्न सक्छ, तर उसको मन टुट्छ । जब हामी क्रोध, शक्ति वा अहंकारले सम्बन्ध चलाउन खोज्छौँ, तब सम्बन्ध खुल्दैन– केवल चर्किन्छ ।
आज परिवारमा दूरी बढ्नु, समाजमा तनाव बढ्नु र सम्बन्धहरू कमजोर हुनुको एउटा ठुलो कारण पनि यही हो । हामी सुन्नभन्दा बढी हुकुम गर्न खोज्छौँ । बुझ्नभन्दा बढी जित्न खोज्छौँ । तर संसारमा सबैभन्दा ठुलो विजय कसैको मन जित्नु हो ।

एक मिठो शब्दले जहाँ बिग्रिएको सम्बन्ध जोड्न सक्छ, त्यहाँ कठोर व्यवहारले वर्षौंको आत्मीयता पनि समाप्त गर्न सक्छ । मानिसलाई बदल्न चाहनु छ भने उसको आत्मसम्मानलाई सम्मान गर्नुपर्छ । माया, विनम्रता र संवेदनशीलता नै त्यो ‘चाबी’ हो, जसले बन्द हृदय पनि खोल्न सक्छ ।

जीवनले हामीलाई शक्तिशाली होइन, प्रभावशाली बन्न सिकाउनुपर्छ । किनकि हटौडीले ताला फुटाउन सक्छ, तर चाबीले मात्र ताला खोल्न सक्छ । ठीक त्यसैगरी, डरले मानिसलाई झुकाउन सकिएला, तर प्रेमले मात्र मन जित्न सकिन्छ ।

त्यसैले सम्बन्धमा प्रहार होइन, आत्मीयता प्रयोग गरौँ । अहंकार होइन, विनम्रता रोजौँ । किनकि संसारमा सबैभन्दा बलियो शक्ति हातको होइन, हृदय छुने व्यवहारको हुन्छ ।