घोराही पूर्णखोप सुनिश्चितता पालिका

गोरक्ष समाचारदाता
दाङ, १ जेठ । घोराही उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । उपमहानगरपालिका अन्तर्गतका १९ वटै वडामा लक्षित उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क गरेका सबै खोपहरू लगाएको प्रमाणीकरण भएसँगै बिहिबार पालिकालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पालिकामा कम्तीमा चार हजार तीन सय ६५ जना बालबालिकालाई नेपाल सरकारको खोप तालिकामा समावेश भएका सबै खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगो पालिका घोषणा गरियो । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाले गत साउन महिनादेखि नै सूक्ष्म योजना बनाएर सबै वडामा खोप लगाउने उमेर समूहका बालबालिकाको खोजी गर्दा घोराही उपमहानगरपालिकामा एक जना बालकले कुनै पनि खोप नलगाएको तथा ३२ जना बालबालिकाले केही खोप लगाउन छुटाएको पाइएको थियो ।

ती खोप लगाउन छुटेका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि जिल्ला खोप समन्वय समितिलाई पत्राचार गरेको थियो । खोप समन्वय समितिबाट पूर्ण खोप प्रमाणीकरण भएपछि बिहिबार एक समारोहबिच जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेकका थिए ।

यस अघि सोही कार्यक्रममा घोराही उपमहानगरपालिकाले पनि पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता वडाको प्रमाणपत्र प्रदान गरेको थियो । घोराही उपमहानगरपालिका खोप समन्वय समितिका संयोजक नरुलाल चौधरीको अध्यक्षतामा भएको पुर्ण खोप घोषणा सभामा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक तथा प्रमुख अतिथि नित्यानन्द शर्माले पूर्ण खोप नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएकाले हरेक बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन कसैलाई पनि नछुटाएर खोप दिनु पर्ने बताए ।

‘नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको छ, पूर्ण खोप पनि आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नै पर्ने भएकाले हरेक बालबालिकालाई संविधान प्रदत्त मौलिक हकको प्रत्याभूति दिलाउनु स्थानीय सरकारको दायित्व हो’, प्रमुख अतिथि शर्माले भने ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले लुम्बिनी प्रदेशमै मातृशिशु मृत्युदर बढिरहेको र दाङको पनि यसमा नाम जोडिएको उल्लेख गर्दै अब सबै पालिकाले मातृशिशु मृत्युदरलाइ शून्यमा झार्न पूर्ण संस्थागत प्रसूतिको अभियानलाई सँगसँगै लैजान आग्रह गरे । विभिन्न दातृ निकायहरूको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले बालबालिकालाई खोप केन्द्रमार्फत् १३ प्रकारका रोगको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न निःशुल्क रूपमा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । अब आगामी वर्षदेखि भने दातृ निकायहरूले हात झिक्ने बताएपछि यसलाई नेपाल सरकारले नै सम्पूर्ण स्वामित्व ग्रहण गर्नु पर्ने अवस्था सिर्जना हुन सक्ने बताइएको छ ।

जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख राधा पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामा घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे, स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै घोराही उपमहानगरपालिका प्रमुख चौधरीले राज्यले मौलिक हकका रूपमा राखेको पूर्ण खोप कार्यक्रमलाइ निरन्तरता तथा दिगोपना सुनिश्चितता गर्न उपमहानगरपालिका सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका, सबै वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरे । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत वाहरुलाल चौधरीले गरेका थिए ।