भुवन पोख्रेल
नेपाली कांग्रेसभित्र भावनात्मक एकताको खडेरीका कारण गत फाल्गुन २१ को सङ्घीय निर्वाचनमा पहिले गम्भीर धक्का व्यहोर्नु परेको हो । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र कहलको स्थितिले कांग्रेसभित्र नै धमिराको काम गरेको यथार्थ झलंग छ ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन समयमा सम्पन्न हुन नसक्नु र सहज ढंगले युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुन नसक्दा गगन र विश्वप्रकाशको विशेष पहलमा कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भई गगन थापा नेपाली कांग्रेस सभापति स्थापित भए । त्यसपछि कांग्रेस आधिकारिकताको विवाद चर्किएर सर्वोच्च अदालत र निर्वाच आयोगसम्म पुग्यो ।
निर्वाचन आयोगले मात्र होइन सर्वोंच्च अदालतले समेत विशेष महाधिवेशनबाट स्थापित नेतृत्व वर्गकै पक्षमा वैशाख ४ मा दिएपछि अब कांग्रेस विवादको टुंगो लाग्नु पर्ने हो तर विशेष महाधिवेशनलाई मान्दैनौँ भन्ने तप्काको नेतृत्व गर्ने पार्टीका पूर्वसभापति पक्षको समूह सो फैसलामा चित्त नबुझाई पुनरावलोकनको निवेदन दिने कुरा सुनिन्छ ।
अब कांग्रेसका नेता तथा कार्यकर्ता प्रतिशोधको राजनीति होइन संवाद र सहकार्यको राजनीतिक संस्करमा उभिएर भावनात्मक एकताको वातावरण तयार पारी सबै एक ढिक्का भई पार्टींको मुल धारमा फर्कि पार्टी सुदृढीकरण दिसामा अघि बढ्नुपर्छं
कांग्रेसजनले गत निर्वाचन व्यहोनु परेको लज्जास्पद हारबाट विचलित हुने होइन बरु पाठ सिकेर आगामी स्थानीय चुनावमा जनतामाझ सच्चिएर वा बदलिएर जान सक्नुपर्छ । नारामा मात्र बदलियो कांग्रेस बदल्छौँ देश भनेर होइन व्यवहारमा कांग्रेस बदलिएको उद्घोष र अठोट साग विशेष महाधिवेशनबाट स्थापित नेतृत्व वर्गलाई सबैलाई समेटेर जाने अवसर पनि सर्वोच्चको फैसलाले दिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको नयाँ नेतृत्व वर्गलाई अब पार्टीलाई बदलेर पहिले कै उचाइमा पु¥याउने अवसर र म्यान्डेट दुवै प्राप्त भएको छ । देउवा दम्पत्ति बदलिने नजान्ने र बदलिन नमान्ने प्रवृति देखाइरहँदा पार्टीभित्र युवा टुट्ने जुट्ने मनहरु हुनु स्वभाविक हो तर पार्टीको भविष्य र नेतृत्वको राजनीतिक संस्कारलाई फुट्न दिनु हुँदैन, बरु भावनात्मक एकताको साङ्लोमा बाध्न सक्नुपर्छ ।
प्रतिस्पर्धात्मक चुनावमा जित्नका लागि दरिलो पार्टी एकता चाहिँदो रहेछ नत्र ठुलो क्षति पार्टीले व्यहोर्नु पर्दो रहेछ भन्ने उदाहरण आम चुनावले दिएको छ । नेपाली कांग्रेसको स्थापनाकालदेखि आजसम्मको इतिहासमा सबैभन्दा नराम्रो हार व्यहोरेको कांग्रेसका लागि त्यो ठुलो धक्का हुनेछ तर पनि हारबाट विचलित होइन परिवर्तनको सङ्घोष गर्दै हिमचुली उक्लनुपर्छ ।
कांग्रेसभित्रका भष्ट, सत्तालिप्स, अकर्मव्य, जीर्ण र जड बनिसकेका मान्यता बोक्नेहरुको भत्किएको पर्खाल भत्काइ नयाँ जग बसाल्न ढिला भइसकेको छ । गगन नेतृत्व यसमा कत्ति पनि झुक्नु हुँदैन । जनतामाझ अलोकप्रिय, अशक्त, असान्दर्भिक भइसकेकाहरुले बढवा भाउ खोज्दा आफै जनताको नजरबाट गिरिरहेका छन् ।
भत्किएका पर्खाल भत्कँदै जानुपर्छ । केही कुहिएका आलु बोराबाट झिकेर फाल्दा अरु राम्रा आलुलाई बचाउन सकिन्छ कि भनेर कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको हो । भत्किएका विचार बोकेकाहरुले पार्टीलाई रसातलमा पु¥याउनु अबको नयाँ नेतृत्वले खुला सोच र सकारात्मक उर्जा बोकेर पार्टीलाई हिमचुलीको यात्रातर्फं डो¥याउनु पर्छ ।
पहिलेको नेतृत्वको अकर्मव्य र असक्षमताले कमजोर बनाएको पार्टीलाई पुनर्गठन गर्दैै र गुटबन्दीको अन्त्य गर्दै पार्टीलाई पुनर्जीवन दिने र शुद्दिकरण गर्ने चुनौती साच्चै भागिरथ र चुनौतीपूर्ण छ । कांग्रेस अहिले सानै आकारमा भए पनि सदनमा प्रमुख प्रतिपक्षी दल छ । प्रदेश र स्थानीय तहको गणना गर्दा अहिले पनि कांग्रेस देशको ठुलो दल छ ।
अहिले लगभग दुई तिहाईको आकारमा प्रतिनिधिसभा र सरकारमा आएको दल रास्वपा शक्तिको मद र दम्भमा निरकुंश र स्वच्छाचारी बन्न सक्छ । यस्तो अवस्थामा विगत आठ दशकदेखि प्रजातन्त्रको पहरेदार रहेको कांग्रेसले सशक्त प्रतिपक्ष बनेर उनीहरुलाई निरकुंश बन्नबाट रोक्ने र प्रजातन्त्रको रक्षा गर्ने बाह्य चुनौती नेपाली कांग्रेसको काँधमा छ । आन्तरिम चुनौतीलाई अवसरको रुपमा लिँदै कांग्रेसले पार्टीभन्दा माथि उठेर बाह्य चुनौतीको सामना गर्नु पर्ने बेला आएको छ ।
गौरवशाली इतिहास बोकेको देशको जिम्मेवार पार्टी दिग्रभ्रमित हुनु भनेको आम राजनीतिक कार्यकर्ता र नेतृत्वको राजनीतिक भविष्य मात्र होइन मुलुककै भविष्यको मार्गचित्र कोर्न हात कमाउनु हो । तसर्थ दरो आत्म विश्वास र बलियो इच्छा शक्ति आम कांग्रेसजनमा हुन आवश्यक छ ।
म कांग्रेस हुँ भन्दा आम नागरिकले गर्व गर्ने पुरानै लयमा कांग्रेसलाई फर्काएर सबैमा पार्टीप्रतिको सर्मपण दृढ संकल्प जगाउनु पनि कांग्रेस नेता र कार्यकर्तालाई आन्तरिक चुनौती छ पार्टीभित्र । हाम्रो कांग्रेस र राम्रो कांग्रेस बनाउन आम कांग्रेसीजनहरु संग्लिनु र सच्चिनु जरुरी छ । जितको अहंकार पनि स्वभनीय हुँदैन हारको रोदन पनि स्वीकार्य हुँदैन ।
चुनावी परिणाम हार र जितको नै हुन्छ । फागुन २१ को धक्कापछि कांग्रेस हारले रन्थनिने होइन, झन रचनात्मक र सशक्त प्रतिपक्ष बनी आगामी चुनावमा भारी बहुमत ल्याउने दिशा कटिबद्द भएर लाग्नुपर्छ । सत्तालिप्सा र पद, प्रतिष्ठााको भोको कांग्रेस हुनु हुँदैन । कांग्रेसको वर्तमान अवस्था आउनुमा जहिल्यै सत्ता गबन्धनको गोल चक्करमा फस्नु हो ।
कहिले माओवादीसँग गठबन्धन त कहिले एमालेसँग सत्ता साझेदार गर्दा कांग्रेसको मौलिक चिनारी नै जनतामाझ फितलो बन्न पुग्यो । कांग्रेसको नीति, सिद्धान्तभन्दा फरक नीति र सिद्धान्तसँग खाली सत्ताकै लागि गठबन्धन गरी चुनावमा जाँदा जनता रुष्ट भएका हुन् ।
जनताले कांग्रेसलाई पटक–पटक विश्वास र भरोसा गरेर भारी मतले चुनावमा विजय बनाएका हुन् । वि.सं २००७, २०१५ र २०४७–४८ सालका चुनावमा कांग्रेस सत्तामा पुग्ने अवसर पाएर जनपक्षीय कार्य गर्न नसक्दा जनतामा वितृष्णा जागेकै हो ।
शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भए । उनको आफ्नो प्रधानमन्त्री कालमा गरेका गल्तीहरुले गर्दा अहिले नेपाली कांग्रेस पछि परेको छ र चुनावमा ठुलो धक्का व्यहोर्नु परेको छ । शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसले केही कमजोरी देख्यो जस्तै कि पार्टी भित्रको आन्तरिक असमझदारी, भ्रष्टाचारको आरोप र सरकार सञ्चालनमा स्वष्टता र स्थिरताको अभाव जस्ता केही निर्णयहरु विवादास्पद बने जसले गर्दा कांग्रेसको जनतामाझ विश्वासको कमी भयो त्यसैले अहिलेको निर्वाचनमा कांग्रेसले ठुलो क्षति व्यहोर्नु प¥यो ।
अहिले गगन थापा पार्टी सभापति भएका छन् । चुनावमा जनताले विश्वास नगरेका कारण गगन थापाले हार व्यहोर्नु प¥यो । यसको दोष उनले व्यक्तिगत रुपमा मात्र नभई सिंगो पार्टी पंक्तिले लिनुपर्छ । हारबाट घुँडा नटेकी बलियो इच्छा शक्ति बोकेर माथि उठ्नु पर्छ गगन । हो, गगन थापा जस्ता युवा नेतृत्वले नेपाली कांग्रेसलाई फेरि मजबुद बनाउने अवसर छ । पहिले पार्टीभित्र उनले एकता र सहमति मजबुत गर्नुपर्छ ।
द्वन्द्व र आन्तरिक विवाद कम गर्नुपर्छ । दोस्रो युवा तथा जनताको रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता मुद्दामा ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्छ । अर्को पारदर्शीता र भ्रष्टाचारमुक्त शासनको प्रतिबद्धता देखाउनुपर्छ । जसले जनताको विश्वास पुनः जित्न सकिन्छ । कांग्रेसका कार्यकर्ताहरुले पहिलो कुरा गगन थापाको नेतृत्वमा भरपुर समर्थन दिनुपर्छ । स्थानीय स्तरमा जनसम्पर्क र अभियानहरुमा सक्रिय रहनुपर्छ ।
उनीहरुले गाउँ–गाउँमा जनताका दैनिक समस्या सुन्ने उनीहरुका अपेक्षाहरु बुझ्ने र स्थानीय तहका नेताहरु समन्वय गरेर जानुपर्दछ । साथै पारदर्शीता, इमानदारी र सामाजिक उत्तरदायित्वको अभ्यास गरेर कार्यकर्ताहरु आफै उदाहरण बन्नुपर्छ जसले आम जनताको मन जित्नुपर्छ ।
गगन थापा नेतृत्वले पार्टीभित्रको संवाद र सहमति बढाउनुपर्छ । सबै गुटहरुलाई समेट्ने प्रयास गर्नुपर्छ । पार्टीभित्रको आधारभूत सिद्धान्तहरुमा फेरि एकता ल्याएर, सबैलाई एक ढिक्का बनाई एउटै लक्ष्यतर्फ केन्द्रित गर्नुपर्छ । आमजनतासँग संवादलाई सशक्त बनाउँदै, पार्टीको काम, पारदर्शीता र प्रतिबद्धता देखाउनुपर्छ ।
सबै पक्ष गम्भीर रुपमा लागे मात्र आन्तरिक फुटको स्थिति सच्याउन सकिन्छ । फुटको मुख्य कारणहरु पार्टीभित्रको वैचारिक भिन्नता, आन्तरिक शक्ति संघर्ष र नेतृत्वको असन्तोष थियो । केही नेता आफ्नो व्यक्तिगत स्वार्थ वा प्रभावका लागि कांग्रेस पार्टीमा लागेका थिए, त्यही अवसरवादीले पार्टीलाई गहिरो धक्का दियो । यसले कांग्रेसलाई कमजोर र विभाजनको दिसातर्फ धकेलिएको छ । जसले जनतामा अस्थिरता र अविश्वासको भावना उत्पन्न गर्छ ।
अहिले नेपाली कांग्रेस विपक्षीको भूमिकामा प्रभावकारी ढंगले संसदमा उभिनुपर्छ । उनीहरुले जनताको समस्या जस्तै रोजगारी, महंगी, शिक्षा, स्वास्थ्य जस्ता मुद्दाहरु संसदनमा उठाउनुपर्छ । प्रतिपक्षीको हैसियतले उनीहरुले सरकारको कामको निगरानी गर्दै, जनताको हितमा धारणा राख्नुपर्छ । पार्टीभित्र एकता कायम गर्दै पारदर्शीता, इमानदारी र जनसमर्थक बलियो बनाउनुपर्छ जसले गर्दा पार्टीलाई थप बलियो र विश्वासिलो बनाउन सकिन्छ ।
कांग्रेसभित्रका केही इमानदार कार्यकर्ताहरु पार्टीभित्र अवसर नदिएपछि उनीहरु बाहिर अन्य पार्टीमा जाने सोच्न सक्छन् । यसलाई रोक्न कांग्रेसले पार्टीमा वर्षौदेखि योगदान पु¥याएका इमानदार कार्यकर्ताहरुलाई उनीहरुको योग्यता अनुसारको अवसर र जिम्मेवारी दिनुपर्छ । यसरी योग्यता र क्षमताको उच्च मूल्याङ्कन गर्नुपर्छ ताकी ती निष्ठावान नेता र कार्यकर्ता नेपाली कांग्रेस पार्टीभित्र टिकिरहुन् ।
निष्ठावान नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई पार्टीभित्र टिकाइ राख्नका लागि पार्टीले आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउनुपछ । सबै तहका नेता, कार्यकर्तालाई सुन्ने मूल्याङ्कन गर्ने र अवसर दिने र उनीहरुलाई आफ्नै भूमिका र जिम्मेवारी स्पष्ट रुपमा दिनुपर्छ । ताकी उनीहरुलाई योगदानको महत्व महसुस होस् । नियमित तालिकामा प्रशिक्षण, संवाद र प्रेरणात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ जसले कार्यकर्ताहरुलाई जोडी राख्दछ र उनीहरुलाई पार्टीहरुप्रति विश्वास र लगाव बढाउँछ ।
पार्टीभित्र युवाहरुलाई आकर्षित गर्न उनीहरुको प्राथमिकता र आवाज सुन्ने नीति बनाउनुपर्छ । उदाहरणको लागि रोजगार, शिक्षा, प्रविधिमा पहुँच र सामाजिक न्याय जस्ता मुद्दामा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी डिजिटल इनिशियटिमहरु, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र सहभागीता लिने मध्ये युवा नेतृत्वलाई पनि भूमिका दिनुपर्छ ।
युवाहरुलाई निर्णय प्रक्रियामा सक्रिय सहभागी बनाउनुपर्छ, ताकी उनीहरु पार्टीसँग जडान महसुस गर्न सकुन् । युवा नेतृत्वको लागि विशेष तालिम कार्यक्रम चलाउनुपर्छ । जसले उनीहरुको नेतृत्व विकास गर्छ । रोजगार र स्टार्टअव सम्बन्धी योजना तथा अनुदान कार्यक्रमहरु ल्याउनुपर्छ ताकी युवा उद्यमशीलता विकास गर्न सकुन् । अर्को कुरा सामाजिक विषयमा जस्तै समानता, जलवायु परिवर्तन र शान्ति जस्ता विषयमा विशेष अभियान चलाएर युवा भावनालाई समेट्नु पर्छ । डिजिटल प्लेटफर्ममा पनि युवाहरुलाई प्रत्यक्ष रुपमा जोडेर उनीहरुका समस्या र चाहनालाई प्राथमिकतामा राख्नुपर्छ ।
नेपालमा युवा बेरोजगारीको समस्या ठुलो छ । त्यसैले पार्टीले रोजगारी सिर्जनाm सिप, विकास र स्टार्टअपमा सहयोगको नीति ल्याउनुपर्छ । शिक्षा र प्रविधिमा आधुनिक शिक्षा, डिजिटल सिप र प्रविधिमा पहुँच बढाउने कार्यक्रमहरु जरुरी छन् । सामाजिक न्याय र समानवा जस्ता विषयमा निष्पक्ष व्यवहार गर्ने । लिंग, जात र क्षेत्रीीय समानताको सवालमा स्पष्ट नीति र अभियान ल्याउनुपर्छ । युवा सहभागीता पार्टीका निर्णय प्रक्रियामा उनीहरुलाई प्रत्यक्ष भूमिका दिनुपर्छ । यसरी जब उनीहरुलाई सुनिन्छ । उनीहरुलाई अवसर दिइन्छ, अनि उनीहरु पार्टीसँग गहिरो ढंगले आवद्ध हुन पुग्छन् ।
कांग्रेसले सबैभन्दा पहिले पारदर्शीता र जवादेहिता अपनाउनुपर्छ । ताकी पार्टीभित्रको काम नै खुल्ला र जिम्मेवार देखियोस् । नयाँ पुस्ताको नेतृत्वलाई अग्रस्थानमा राखेर युवा महिलाहरु र विविध क्षेत्रका मानिसहरुलाई मौका दिनुपर्छ । स्थानीयस्तरमा अधिक जोड दिएर जनताको प्रत्यक्ष सहभागीता बढोस् । सामाजिक न्याय, आर्थिक समानता पर्यावरणीय स्थिरता जस्ता आधुनिक मुद्दाहरलाई केन्द्रमा राख्नुपर्छ ।
अनि डिजिटल र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरेर पार्टीको सन्देशलाई एकदमै बदलिएको र जनसामान्यको पार्टीको रुपमा महसुस गरुन् । कांग्रेसले जनताको वास्तविक समस्या र चाहनामा ध्यान दिनुपर्छ । स्थानीयस्तरमा काम गरेर जनप्रतिनिधिहरुलाई अधिक जिम्मेवार र जवाफदेही बनाउनुपर्छ । सामाजिक मिडिया र डिजिटल सञ्चारको प्रभावकारी प्रयोग गरी पार्टीको काम र नीतिहरुलाई धेरैजना समक्ष पु¥याउनुपछ । पार्टीभित्र आन्तरिक लोकतन्त्र, समानता, र खुलापन ल्याएर सबै वर्गका मानिसहरुलाई पार्टीभित्र समेट्नु पर्छ । यसरी जब जनताले आफूहरुका आवाज सुनिएको महसुस गर्छन् कांग्रेस फेरि जनताको भरोसाको पार्टी बन्न समय लाग्दैन ।
नेपाली कांग्रेस फाल्गुन २१ मा सम्पन्न निर्वाचनमा हारको कारण विश्लेषण गरी आत्मआलोचना गर्नुपर्छ । पार्टीभित्र एकता र विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ । केन्द्र, स्थानीय तह सबै स्तरमा कार्यकर्तालाई सक्रिय बनाउनु पर्छ । संवाद, सहकार्य, सहयोग र सहसम्बन्धलाई प्रोत्साहन गर्न सकिन्छ । जनसम्पर्कलाई अझ अशक्त बनाउन सक्नुपर्छ । नयाँ नीति तथा कार्यक्रम र युवा नेतृत्वलाई अग्रपंक्तिमा ल्याई पार्टीलाई परिवर्तनशील, जनमाझको पार्टीको रुपमा स्थापित गर्नुपर्छ ।
निष्कर्षमा नेपाली कांग्रेसलाई थप सुधारिएको पार्टी बनाउन जनताको आवाज सुन्ने, उनीहरुको प्रत्यक्ष सहभागीता सुनिश्चित गर्ने, पारदर्शीता र जवाफदेहिता अपनाउने र समावेशी नेतृत्वको विकास गर्ने प्रतिबद्धता लिनुपर्छ । जब हामी सबै मिलेर इमानदारी, प्रतिबद्धता र परिवर्तनशीलता देखाउँछौँ । कांग्रेस फेरि एक शक्तिशाली, जनवादी र विश्वासिलो पार्टीको रुपमा उठ्न सक्छ ।