नुमानन्द पौडेल
दाङ, ३१ वैशाख । नेपाल विद्युत प्राधिकरणका दाङ जिल्ला अन्तर्गतका विभिन्न वितरण केन्द्रहरूले विद्युत महसुल सङ्कलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन् । त्यस क्रममा लमही वितरण केन्द्र अन्तर्गत सञ्चालित भालुबाङ महसुल काउन्टर आगामी जेठ १ गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ ।
यसैगरी लमही वितरण केन्द्रले लमहीमा रहेको काउन्टर सेवा आगामी साउन १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ । लमही वितरण केन्द्रका प्रमुख ज्ञानबहादुर तर्तालका अनुसार भालुबाङ वितरण केन्द्रको काउन्टर सेवासँगै लमही वितरण केन्द्र क्रमशः बन्द गर्न थालेको छ । लमही वितरण केन्द्र अन्तर्गत हाल ४५ हजार ग्राहक रहेकामध्ये करिब ७० प्रतिशतले पहिले नै अनलाइनमार्फत् महसुल भुक्तानी गर्दै आएका छन् ।
बाँकी उपभोक्तालाई पनि डिजिटल भुक्तानीतर्फ अभ्यस्त गराउने गरी काउन्टर बन्द गर्न थालेको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख तर्ताल बताउँछन् । डिजिटल प्रणालीका माध्यमबाट विद्युत महसुल भुक्तानी गर्दा समस्या भए ग्राहकलाई कर्मचारीले सहयोग गर्ने भन्दै वितरण केन्द्र प्रमुख तर्तालले भने, ‘अनलाइन भुक्तानीमा ग्राहकलाई अभ्यस्त गराउने गरी भौतिक काउन्टर बन्द गर्न थालेका छौँ । समस्या भएमा कार्यालयमा आउने ग्राहकलाई कर्मचारीले सहयोग गर्नेछन् ।’
काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले इ–सेवा, खल्ती, फोन–पेसँगै विभिन्न बैङ्किङ सेवा प्रयोग गरेर विद्युत महसुल भुक्तानी गर्न सक्ने बताए । लमही जस्तै घोराही वितरण केन्द्रले पनि सूचना जारी गर्दै निकट भविष्यमा भौतिक रूपमा विद्युत महसुल बुझ्ने काउन्टर बन्द गर्न थालेको जानकारी दिएको छ ।
घोराही वितरण केन्द्रका इन्जिनियर नन्दलाल शर्माका अनुसार नेपाल विद्युत प्राधिकरण विद्युत महसुल विनियमावली २०७८ को नियम ४ बमोजिम बिलिङ प्रणालीलाई क्रमशः स्वचालित प्रविधिमा आधारित बनाउनु पर्ने प्रावधान अनुसार घोराही वितरण केन्द्र भौतिक रुपमा सङ्कलन गर्दै आएको विद्युत महसुल सङ्कलन गर्ने कार्य बन्द गर्न थालेको बताए ।
उनका अनुसार काउन्टर सेवा बन्द भएपछि उपभोक्ताले इ–सेवा, खल्ती, फोन–पे, मोबाइल वालेटसँगै विभिन्न बैङ्किङ सेवा प्रयोग जुनसुकै समयमा डिजिटल रूपमा विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् । यसले गर्दा ग्राहकलाई लामो समयसम्म लाइनमा बसेर विद्युत महसुल तिर्नु पर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ । डिजिटल प्रणाली अपनाइएमा उपभोक्ताले लाइनमा पर्खनु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समय र खर्च दुवैको बचत हुने अपेक्षा गरिएको छ । घोराही वितरण केन्द्र अन्तर्गत ५७ हजार बढी ग्राहक रहेका छन् ।