‘रामायण महाभारतको दैविक रुप’

गुरुप्रसाद शर्मा रेग्मी

सनातन धर्मको आस्था र निष्ठाका पुस्तक रामायण– महाभारतलाई ईश्वरको अदृश्य रुप मान्ने किन गरिन्छ भने यी दुवै पुस्तक वेदको सारतत्वको अंश भएको र यसले सनातन धर्मको आध्यात्मिकता, व्यवहारिकताको दर्शन संस्कार संस्कृतिको वास्तविकता देखाउने बुझाउने, जानकारी गराउने भएकाले यिनलाई ईश्वरको प्रतिकको रुपमा मान्ने र पठनीय, पूजनीय, संग्रहणीय, अनुकरणीय मानेर आफ्नो घरको पवित्र स्थानमा यी दुवै पुस्तक राख्ने गरिन्छ ।

सनातन धर्मको आस्था र निष्ठाको केन्द्रमा रहेका रामायण महाभारत पुस्तक नै सनातन धर्मको व्याख्याता र संरक्षक भएर क्रम भंग हुन नदिने पुस्तक भएकाले यिनैलाई वेदको सारतत्व भएको र अरु सबै धर्महरु यही सनातन धर्मका शाखा सन्तान भएको कुरालाई सबै धर्मावलम्बीहरुले मानेको पुष्टि भए पनि सनातन धर्ममा नै जन्मेका हुर्केका मानिसहरु नै संघर्षित भएर गलत सोच चिन्तन राख्नु भनेको आफूलाई जन्मदिने र कर्म दिने बाबुआमाप्रति संघर्षित हुनु जस्तै हो ।

यसतर्फ गम्भीर हुनु पर्ने अवस्था आइसकेको छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित हुन सकेन भने आफूलाई जन्म र कर्म दिने बाबुआमा खोज्दै हिड्नु नपर्ला भन्न सकिँदैन । आफैले गरेको कर्म र धर्मको प्रतिफल नै भोग्नु पर्ने दैवीय विधि र विधान भएकोले यसबाट बच्न र पन्छिन कोही पनि सक्दैन । त्यसैले आफ्नो धर्म र कर्मप्रति सधै सचेत र सजग बनौँ यही नै रामायण महाभारतको सार तत्व हो ।

चौविस श्लोक भएको रामायण पुस्तक र एक लाख श्लोक भएको महाभारत दुई समय कालको प्रतिनिधि गर्ने ऐतिहासिक दस्तावेज बनेका छन् । भागवत गीता जो पविध धार्मिक ग्रन्थ मानिन्छ । त्यो महाभारतको अंग वा अंश पवित्र धार्मिक ग्रन्थ मानिस, परिवार, समाज, राज्य, विश्व परिवेशको भौतिक, आध्यात्मिक, दार्शनिक, विज्ञान प्रविधि, नियम, पद्धति धर्मको व्यवस्थापन सम्बन्धी ज्ञानको अपार भण्डारले भरिपूर्ण भएको खानी हो भन्दा अत्यक्ति नहोला ।

भिन्न–भिन्न काल र अवस्थामा घटेका दुवै ग्रन्थका घटनाहरुले सनातन धर्मको विकास र संरक्षणको कसरी भइरहेको थियो भन्ने कुराको सहज रुपमा अनुमान गर्न सकिन्छ । रामायण एक आदर्श मानक समाजको चित्रण रामको रुपमा देख्न र अनुभूति गर्न सकिन्छ भने महाभारतमा हुनु पर्ने मानक भन्दा वास्तविक धरातलीय परिस्थितिको एक व्यवहारिक मानकको रुपमा कृष्णलाई देख्न सकिन्छ ।

यी दुवै पुस्तकको मुख्य विषय धर्म र अनुशासन भए पनि दुवैमा समाजको धार्मिक जीवनशैली, तदनुरुप गरिएका कार्यहरुको परिणाम भिन्न–भिन्न देखिए पनि सार तत्वमा भिन्नता छैन । रामायणमा राम आदर्श युरुपको भूमिका सफलतापूर्वक रामले गरेको देखिन्छ भने महाभारतमा कृष्ण भगवान्को अवतारको रुपमा भए पनि व्यवहारिक रुपमा एउटा मानिसको रुपमा रहेर कार्य गरेको देखिन्छ । यी दुवै पुस्तक व्यवहारिक जीवनका मार्ग निर्देशक र पथ प्रदर्शक भएकाले नै यिनलाई वेदको सारतत्व भनेर पुज्य बनाएको हुनुपर्दछ ।

संसारका सबै जातजातिले यी दुवै पुस्तकको उच्चता र वैज्ञानिकताको आधार मानेर आफ्नो भाषामा प्रकाशन गर्ने, स्कुल कलेजको पाठ्य पुस्तकमा समावेश गरेको देखेर पनि यसको आध्यात्मिक र धार्मिक महत्व बुझ्न नसकुन् कस्तो विडम्बना हो । कतिलाई लाग्दो होला । रामायण महाभारतले के दियो । यसको अनुशरणले के हुन्छ ।

किन यसप्रति आस्था र निष्ठा राख्ने जस्ता तमाम कुरा आफ्नो पना बिर्सेर विदेशी संस्कृतिको प्रलोभनमा परेका मानिसको मनमा अनेक तर्क वितर्क चलिरहेका होलान् तर यस्तो तर्क वितर्कमा लागेका मानिसले के बिर्सन हुँदैन भने रामायण महाभारत भिन्न समय र परिस्थितिका ऐतिहासिक दस्तावेज भए पनि यी दुवै ग्रन्थले हामीले अनुशरण गरेको परम्पराको बहुपक्षीय ज्ञान, ईश्वर र प्रकृति सँगको मानवीय अन्तर सम्बन्ध दर्शन र विज्ञानको तादाम्पता, भाषा र साहित्यको क्रमिक विकास, धर्महरु बिचको भिन्नता, हामीे अनुशरण गर्ने सही मार्ग, जातजातिको व्याख्य, राजनीतिले धर्ममाथि गर्ने धोखा घडी र गलत प्रहार, पाश्चाय शिक्षा संस्कृति संस्कारबाट परेको नकारात्मक प्रभाव सबै कुरा यी पुस्तक हेर्दा ऐना हेरे जस्तो हुन्छ ।

यदि एउटा मानिसले यी दुवै पुस्तक आदिदेखि अन्त्यसम्म पढ्यो भने उसको सोच र चिन्तनमा नयाँ परिवर्तन अवस्य आउँछ । यी पुस्तकमा लेखिएका धर्म कर्मका गाथाको संकलन मात्र नभएर यो संसारमा जन्म लिएर बसेका मानिसहरु कै कथा व्यथाका रुपमा आकृतिहरु भएको र यस्तो अवस्थामा मानिसलाई हुने देवीदेवताको आत्मियतालाई दृष्टि गोचर गराइदिने गर्दछ । यसैमा मानिसमा आत्मसन्तुष्टी आनन्दको अनुभूति हुने गर्दछ ।