बालाराम खड्का
तुलसीपुर, ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब धारिलो प्रतिपक्ष भएर उभिने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ३ ले तुलसीपुरको पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले दुई तिहाईको सरकार अराजकतातिर जान लागेको भन्दै अब कांग्रेस जिम्मेवार प्रतिपक्षको रूपमा धारिलो भएर उभिने बताए ।
‘हामीले यो सरकारको विरोध गर्नु नपरोस् भनेका थियौ, तर सरकारका पछिल्ला गतिविधि तथा क्रियाकलाप सबैले देख्नुभएको छ, अब कांग्रेस गलत क्रियाकलाप हेरेर बस्न सक्दैन’ महामन्त्री पौडेलले भने । महामन्त्री पौडेलले राज्य जनताको अभिभावक बन्नु पर्नेमा सुकम्बासीलाई अमानवीय व्यवहार देखाएको बताए ।
‘अहिले काठमाडौँमा हेर्नुहोस्, अब विस्तारै अन्य जिल्ला दाङमा पनि सुकम्बासीका घरटहरा हटाउन सुरु गर्नेछ, कुनै सूचना समय नदिएर यसरी राज्यले अमानवीय व्यहार देखाउन मिल्छकी मिल्दैन’ उनले भने । महामन्त्री पौडेलले वास्तविक सुकम्बासी र हुममबासीको पहिचान नगरी डोजर चलाएको बताए ।
त्यस्तै दुई तिहाई सांसद भएको सरकारले संसद छलेर अध्यायदेश ल्याएको बताए । ‘हिजो राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गर्दा के भयो देख्नु भयो, आफ्नै सांसद हुँदा पनि अध्यायदेश ल्याउन खोज्नु आफनै सांसदको विश्वास नभएको हो’ उनले भने । उनले हिजो भोट हालेका जनताले अब प्रश्न सोध्नु पर्ने बेला आएको बताए ।
उनले विभिन्न डिजिटल प्रविधिमार्फत् कांग्रेस र अन्य दल गलत भएको प्रचारप्रसार गरेको समेत बताए । उनले आफ्नो र अन्य दल सत्तामा हुँदा केही कमी कमजोरी भएको भन्दै सवै कम्जोरी गरे भन्ने भाष्य निर्माण गरेको बताए । ‘अब कांग्रेसले पनि क्षमता बढाउनु पर्ने बेला आएको उनले बताए ।
त्यस्तै महामन्त्री पौडेलले कांग्रेसको जरा अभियानले कांग्रेसलाई बलियो तथा डिजिटलाईट गर्ने बताए । उनले नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको भन्दै यसलाई अनेथा नलिन पनि आग्रह गरे । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एकमहिने जरा अभियान सञ्चालन गरेको त्यसमा आफ्नो क्रियाशिल आवधिक समयमै गर्न सबैलाई आग्रह गरे ।
महामन्त्री पौडेलले क्रियाशिल सदस्यता अब वितरण गर्दा २० प्रतिशत युवा समेटन पनि आग्रह गरे । ‘३० वर्षमुनिका युवा धेरै समेटनुहोस् युवा मैत्री कांग्रेस बनाउने अभियानमा सबै लाग्नुहोस्’ उनले भने । उनले यस अघि छुटेका क्रियाशिल सदस्यलाई पनि क्रियासील नवीकरण गराउन आग्रह गरे । नेपाली कांग्रेस क्षेत्र नं. ३ सभापति जगतबहादुर खड्काले पार्टीका गतिविधि र वस्तु स्थितिको बारेका जानकारी गराएका थिए ।
भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव आचार्य, महाधिवेशन प्रतिनिधि कृष्णकुमार गिरी, टोपबहादुर केसी, जिल्ला सहसचिव राजु आचार्य, सुबोध डाँगीलगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सहसचिव भीमकान्त भट्टराइले गरेका थिए ।