साल विसं २०६९ तिर हुनुपर्छ । त्यो बेला कक्षा ८ को जिल्लास्तरीय परीक्षा हुन्थ्यो । त्यो परीक्षा एसएलसी पछिको ठुलो परीक्षा मानिन्थ्यो । त्यो परीक्षामा मेरो सेक्सनबाट अन्यन्तै कम पास भएका थिए । हाम्रो पारिवारिक शर्कलबाट त म एक्लै पास भएको थिएँ ।
पारिवारिक सर्कलमै एक्लै पास भएको म जिल्लास्तरीय परीक्षामा पास हुँदा मेरो खुट्टा भुँइमा थिएन । उफ्रंदै घरमा यो खुसी बाँड्न पुगेँ । बुवा ठाकुरप्रसाद लामिछाने र आमा बालिका लामिछानेले मलार्ई धाप पार्दै एसएलसीमा पनि नरोकिक नै पास हुने आशिर्वाद दिँदै धाप पार्नु भयो र सुम्सुम्याउनु भयो । मेरो जीवनको सबैभन्दा खुसीको अविस्मरणीय क्षण थियो त्यो दिन ।
आफू पास भएको खबर स्कुलमा बाँड्न स्कुल खुलेपछि मात्रै पाएँ । कक्षा ९ मा पुग्दा हाम्रो सेक्सनबाट जम्मा तीनजना पास भएका थियौँ । ९ कक्षामा भर्ना भएर स्कुल गएको दिन मैले पास भएको खुसीयालीमा स्कुलमा वरफ बाँडेको थिएँ, करिबव दशजना साथीहरूलाई । कम्ति रमाइलो मान्दै हामी वरफको चुस्दै थियौँ, अकस्मात पछिबाट मेरा गुरु जगन्नाथ अधिकारी टुप्लुक्क आइपुग्नु भो, र सोधीखोजी गर्दै वरफ बाँड्ने तिमी हौँ भनेर हप्काउनु भयो ।
सायद स्कुल कम्पाउण्डभित्रै त्यसरी वरफ खान अनुमति थिएन त्यो बेला जस्तो लाग्छ मलाई । प्रधानाध्यापक जगन्नाथ सरको गालीलाई वरफले शीतलता दिइरहेको थियो । सायद त्यसपछि मैले दुधरास स्कुलमा पढ्दासम्म कम्पाउण्डभित्र कहिल्यै वरफ खाइन । त्यो पनि सायद एउटा अनुशासनको सिकाइ थियो ।
लेखिदिनुहोला मेरो खुसी ८ कक्षाको जिल्लास्तरीय परीक्षा पास । यो खुसीको अविस्मरणीय क्षण हो तुलसीपुर उपमहानगरपालिका—१८ मनीकापुरका युवा राजन लामिछानेको । लामिछानेको सम्पूर्ण व्यक्तिगत विवरण लेख्नुभन्दा पहिले उनका जीवनका सफलताका अविस्मरणीय क्षणहरू क्रमश तल उल्लेख गर्न चाहन्छु ।
त्यसो त लामिछानेको खुसी प्रेम विवाहसँग पनि जोडिएको छ । गाउँघर नजिकैकी एउटी युवतीसँग थाहै नपाइ प्रेम भएछ । उनको नाम विष्णु शर्मा हो । म सोह्र वर्षको उनी सत्रकी । सानै उमेरमा हाम्रो प्रेमलाई व्यवस्थापन गरी विवाह भयो, अर्थात् मागी विवाहमा परिणत भयो हाम्रो बिहे ।
घरपरिवार पनि राजी खुसी भएको र छोरीकै जस्तो व्यवहार बुहारीलाई गरेकाले कलिलै उमेरमा बिहे भए पनि हामीलाई शारीरिक र मानसिक तनाव यसले कहिल्यै ल्याएन । अहिले जस्तो सोह्र सत्रमै बिहे गर्नेलाई त्यो बेला कानुनी रूपमा बाल विवाह भनिन्थेन । बालापनमै भएको बिहे मेरो अर्को खुसी ।
बिहेपछि पनि हामी एउटै क्लासमा पढ्थ्यौँ । विसं २०६६ सालमा मैले बाह्र कक्षा पढ्दै थिए । विष्णु पनि बाह्रमै पढ्दै थिइन् । हामी एकै पटक जागिरे बन्यौँ । श्रीमतीले विद्यालयमा शिक्षिका, मैले म अहिले सञ्चालक भए भएका सःमिलमा एकाउण्टेन्ट भएको थिए । श्रीमान् श्रीमतीको एकै पटक जागिर हाम्रो अर्को अविस्मरणीय खुसी हो । अर्थात् मलाई लाग्छ, खुसी भनेको एक पछि अर्को सफलता र त्यसबाट प्राप्त हुने आनन्दको अनुभूति । बाह्र सकाएपछि हाम्रो प्रेमको विज उम्रियो । अर्थात छोरा रिजनको जन्म । मलाई स्मरण छ । विसं २०६७ पुस १७ गते । हाम्रो पहिलो सन्तानका रूपमा हामीले रिजनलाई पाएका थियौँ ।
यसो त मेरा खुसीका अविस्मरणीय क्षणका श्रृङ्खला सायद एक दिनको तपाइको पत्रिकाको पातोमा अटाउँदैन होला । तैपनि म सम्झदै जान्छु, सम्भव भएसम्म अटाइदिने प्रयास गरिदिनु होला, राजनले भन्दै थिए, मैले टिप्दै थिएँ । फोनमा कुरा गर्दै गर्दा एउटी महिलाको आवाज आयो, योर व्यालेन्स इज गेटिङ लो…।
मैले फेरि ह्वाट्स एपमा कन्ट्याक्ट गर्दा राजन फेरि अर्को अविस्मरणीय क्षण पक्सन आतुर थिएँ । अं दाइ मैले विद्यालय पढाउन सुरु गर्दै गर्दा रेडियो प्रकृतिमा कार्यक्रम प्रस्तोताका रूपमा काम थाले । त्यसो त मैले कक्षा १० मा पढ्दै गर्दा रेडियो इन्द्रेणीको कार्यक्रम आरजे हटको टप टेनमै पर्दा स्वर परीक्षा भइसकेको थियो ।
त्यसैले पनि मलाई रेडियोकर्मी बन्न मन लाग्यो र प्रकृतिमा जोडिएर पहल गाउँघरको चलाउने गर्दथे । त्यस बेलाका पात्रहरू पनि मेरा खुसी हुन् । जुन पात्रको समस्याले गाउँकै समस्या उजागर गरिदिन्थ्यो । रेडियोमा पोखिएका ती पात्रहरू गाउँका प्रतिनिधि थिए, गाउँका तस्वीरहरू थिए । उनीहरूबाटै समग्र गाउँ बुझ्न सकिन्थ्यो ।
त्यसो त मेरो खुसी स्कुलको प्राचार्य भएको क्षणसँग पनि जोडिएको छ । विसं २०७३ सालमा म तुलसीपुर उपमहानगरपालिका—१७ मज्गैमा रहेको मिड भ्याली स्कुलको प्रिन्सिपल भएको थिएँ । यद्धपि लामो समयसम्म त्यो स्कुलमा म रहन सकिन, अर्थात् स्कुलनै बिक्री भएर घोराहीमा राजविद्यालयका नाममा सञ्चालन हुन थाल्यो ।
राजनको पुख्र्यौली घर नुवाकोट हो । मावली घर भने दाङमै भएकाले राजनको परिवार उनी कलिलै हुँदा मावली गाउँमा बसाइ स¥यो । नुवाकोट जिल्लाको तारकोश्वर गाउँपालिकामा विसं २०४७ साल भदौ १ मा जन्मिएका राजनको परिवार दाङ बसाइ स¥यो मनिकापुरमा । प्राथमिक शिक्षा जनकल्याण मावि दुधरासमा सुरु गरी त्यही स्कुलबाट राजनले एसएलसी उत्तीर्ण ।
उच्च शिक्षा नजिकै रोजियो । सिद्धरत्ननाथ उच्च मावि नारायणपुरबाट प्लस टु उत्तीर्ण गरेपछि उनले शिक्षा सङ्कायमा स्नातक नोभेक्स इन्टरनेश्नल तुलसीपुरबाट उत्तीर्ण गरे । त्रिविवि राप्ती शिक्षा क्याम्पसबाट एमएड उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरेपछि उनी अहिले पनि शिक्षा क्षेत्रमै जोडिएका छन् ।
हाल उनी ज्ञानज्योति प्रोग्रेसिभ स्कुल घोराही–१० नारायणपुर र लिटिल फ्लावर मावि बिजौरीमा अध्यापनरत छन् । शिक्षा सँगै उनी व्यवसायीकतासँग पनि सँगसँगै जोडिएका छन् । आफैले लेखापाल भएर काम गरेको तुलसीपुर उपमहानगरपालिका—१७ झिँगैमा रहेको देवा सःमिल तथा फर्निचर उद्योगको सञ्चालक बनेका छन् । साथै ठाकुरबाबा बहुउद्देशीय कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएर उनी व्यावसायिक रूपमा बर्दिया पालनमा पनि जोडिएका छन् ।
त्यसो त राजनको संस्थागत अनुभव पनि छ । साक्षी वचत तथा ऋण सहकारी बिजौरीको सचिव, बेलझुण्डी क्षेत्र विकास समितिको उपाध्यक्ष, छरछरे खानेपानीको कार्यसमिति सदस्य, रंगशाला टोल विकास संस्थाको सल्लाहकार उनी जोडिएका सामाजिक संस्था हुन् भने उनले पत्रकारितालाई पनि टिकाइ राख्न नेपाली आवाज डट कम पनि सन्ञ्चालन गर्दै आएका छन् । भन्छन्, खुसी एक पछिको अर्को सफलता….।