दाङमा एसइई नतिजा : ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण, २६ जनाले लिए चार जिपिए

लीलाधर वली

दाङ, ३० वैशाख । दाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अनुसार ६१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई दाङका अनुसार २०८२ सालको एसइई परीक्षामा दाङका विभिन्न विद्यालयबाट सहभागी ११ हजार सात सय ४९ परीक्षार्थीमध्ये सात हजार दुई सय ६४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

नतिजाअनुसार नियमित साधारण धारतर्फ ११ हजार चार सय १७ विद्यार्थी सहभागी भएकोमा ४२ दशमलव ४२ प्रतिशत अर्थात सात हजार एक सय २७ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दाङका शाखा अधिकृत तिलकराम बञ्जाडेले जानकारी दिएका छन् । उनका अनुसार परीक्षामा साधारण धारतर्फ चार हजार दुई सय ९० जना फेल अर्थात अवर्गीकृत भएका छन् । त्यसैगरी प्राविधिक धारतर्फ तीन सय ३२ जना विद्यार्थी सहभागी भएकोमा ४१ दशमलव २७ प्रतिशत अर्थात् एक सय ३७ जना विद्यार्थी पास हुँदा एक सय ९५ जना विद्यार्थी फेल भएका छन् ।

सूचना अधिकारी बञ्जाडेका अनुसार दाङमा यस वर्ष २६ जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भएका छन् । २६ जनामध्ये सामुदायिक विद्यालयमा अध्ययनरत तीनजना र संस्थागत विद्यालयमा अध्ययनरत २२ विद्यार्थी रहेको सूचना अधिकारी बञ्जाडे जानकारी दिएका छन् । उनका अनुसार चार जिपिए ल्याउने घोराही उपमहानगरपालिकाका १७ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना, दशगीरण र बबई गाउँपालिकाका १÷१ जना विद्यार्थी रहेका छन् । सामुदायिकतर्फ ४ जिपिए ल्याउनेका पद्मोदय नमुना पब्लिक मावि घोराही रहेको छ भने अन्य २२ जना संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् ।

त्यसैगरी परीक्षामा ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार दुई सय ८९ जना रहेको छ । उनीहरूमध्ये नियमित साधारणतर्फ एक हजार दुई सय ८३ जना र प्राविधिकतर्फ ६ जना विद्यार्थी रहेका छन् । त्यसैगरी ३ दशमलव २ देखि ३ दशमलव ६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी नियमित साधारणतर्फ दुई हजार पाँच सय ४५ जना र प्राविधिकतर्फ २९ जना गरेर जम्मा दुई हजार पाँच सय ७४ जना, २ दशमलव ८ देखि ३ दशमलव २ भन्दा कम जिपिए प्राप्त गर्ने नियमित साधारणतर्फ दुई हजार एक सय ४९ जना र प्राविधिकतर्फ ७१ जना गरेर जम्मा दुई हजार दुई सय २० जना छन ।

त्यसैगरी २ दशमलव ४ देखि २ दशमलव ८ भन्दा कम जिपिए ल्याउने नियमिततर्फ एक हजार ८३ जना र प्राविधिकतर्फ ३१ जना गरेर एक हजार एक सय १४ जना, २ दशमलव ० देखि २ दशमलव ४ भन्दा कम जिपिए ल्याउने विद्यार्थी नियमितर्फ ६७ जना रहेका छन भने १ दशमलव ६ देखि २ दशमलव शून्य भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

गत वर्ष एसइई परीक्षमा १४ हजार दुई सय ४० जना विद्यार्थी सहभागी भएकोमा ६२ दशमलव ७६ प्रतिशत अर्थात आठ हजार नौ सय १७ जना पास भएका थिए भने पाँच हजार दुई सय ३१ जना विद्यार्थी अवर्गीकृत अर्थात् फेल भएका थिए । गतबर्ष जिल्लामा ६९ जना विद्यार्थी फेल भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई, दाङका सूचना अधिकारी बञ्जाडेका अनुसार जिल्लामा विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र शिक्षक–अभिभावक समन्वयलाई थप प्रभावकारी बनाउनेतर्फ आगामी दिनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।