नारायणप्रसाद श्रेष्ठ
फूलको स्वभाव अरुलाई आफूतिर आकर्षित गर्नु हो । यति राम्रो स्वच्छ र पवित्र गुण भएर पनि फूलले आफूभित्रको विविधता र गुणलार्ई आफै छुट्याउन सक्दैन । उसको गुण र दोष अरुले छुट्याइ दिनुपर्छ । त्यसैगरी मानिसले पनि आफ्नो गुण, दोष, विचार र कर्मलार्ई आफैले छुट्याउन सक्दैन । न त मूल्याङ्कन गर्ने क्षमता पनि राख्दछ ।
यो सबै उसले गरेको कर्म, व्यवहारबाट प्रमाणित हुने कुरा अरुले भन्नु पर्छ । हुनत आधुनिक समाज मा देखिएको अहंमपन र चेतना को गिर्दो स्तर ले अरुले अरुपाइ भनोस् वा नभनोस आफूले म पाई गर्ने जमानामा म बाहेक अरु योग्य नै हुँदैन भन्ने मान्यता बढ्नु कुनै नौलो कुरा मानिँदैन । वास्तवमा यस्तो हुनुमा पनि हाम्रै कर्म र चिन्तनले ल्याएको परिणाम हुन् । तसर्थ यसको गहिरो अध्ययन हुन जरुरी छ ।
मानिस आफूलाई उच्च कोटिमा राख्न चाहान्छ । विचार र कर्मबाट प्रमाणित गर्ने कोसिस पनि गरिरहेको हुन्छ तर उसले आफूलाई अरुले मूल्याङ्कन गरिरहेको कुरा उसले बुझ्न चाहान्न । वास्तवमा यही नेर मानिस चुकेको हुन्छ । आफ्नो कारणले आफै समस्या खडा गरेको हुन्छ । बुझ्नु पर्ने सत्य के हो भने समस्याको च्याङ्ग खडा गरेर मात्र समस्या समाधान हुँदैन, समस्याको समाधान म आफैसँग छ र मैले नै समाधान गर्न सक्छु भनी विचार र चिन्तनमा परिस्कृत गर्न सक्नु पर्छ ।
आइपरेका समस्या यो हाम्रो कर्म र व्यवहारले ल्याएको परिणाम हो भनी जबसम्म आफूले आफैलाई बुझ्ने चेष्टा गरिँदैन, तबसम्म परिवेश शुद्ध बन्न सक्दैन । त्यसैले समय र परिस्थितिलाई होइन आफूले आफैलाई बुझ्न जरुरी हुन्छ । जुनसुकै कार्य गर्दा वा त्यसको नतिजा प्राप्त गर्दा जसरी मानिसले परिस्थितिलार्ई दोष दिने प्रवृत्ति देखिन्छ वास्तवमा त्यो उसको अहंकार र घमण्डको परिणाम हो ।
जहाँ स्वच्छ विचार र चिन्तन हुन्छ, त्यहाँ कुनै पनि समस्याले मानिसलार्ई अप्ठ्यारो बनाएको हुँदैन । वर्तमानमा जति पनि विकृति र विसंगतिहरु देखा परेका छन् । ती सबै मानिसको सोच र चिन्तनबाट आएका परिणामहरु हुन् । कर्म, अकर्म र विकर्म, मानिस आफ्नै सोचको कारणले हुने गर्दछ । तसर्थ समय र परिस्थितिको आंकलन गरी आफूले आफैंलार्ई आफ्नै परिवेशको मूल्याङ्कन गरेर मानवीय गुणमा आधारित कर्म र व्यवहारलाई प्राथमिकता दिई व्यवहार गर्नुपर्दछ ।
समय र परिस्थितिलार्ई दोष दिइ आफूलार्ई चोखो बनाउने प्रवृत्ति देखाउनु भनेको पानी माथी ओभानो बन्ने कोशिस गर्नु हो । यो आचरण वर्तमानमा निकै देखिएको छ । वास्तवमा यो आधुनिक सभ्यताले ल्याएको मानवीय चरित्रभित्रको सोच र अहंकारवादी चिन्तन हो । जीवनको उकाली ओरालीमा देखा पर्ने जति पनि परिस्थिति छन्, ती सबै मानिसको दुरदर्शी चिन्तन नहुनाका कारणले भएको हुन् ।
वर्तमान समयमा मानिस जुन अवस्थामा गुज्रनुपरेको छ, वास्तवमा यो परिस्थितिले ल्याएको परिणाम होइन । मानिसले आफूले आफूलार्ई पानी माथिको ओभानो बनाउने कु चेष्टाको कारण हो । सुख दुःख, लाभ हानी, जय पराजय जति पनि समस्या जीवनको आरोह अवरोहमा देखा पर्ने गरेका छन् । त्यसलार्ई केवल मानिसले परिस्थितिसँग गाँसेर व्याख्या गरेको पाइन्छ । परिस्थितिले उनीहरुलार्ई समस्या खडा गरेको हो भन्ने मानसिकता बढाएको देखिन्छ ।
के गर्ने मैले त यस्तो उस्तो गर्ने उद्देश्य राखेको थिए, परिस्थिति त्यस्तै भयो, हुन सकेन यस्तो हुनुपर्नेमा यस्तो भयो भन्ने प्रतिक्रिया प्राय सुन्नमा आएको देखिन्छ । परिस्थिति त्यस्तो नहुँदो हो त मैले यस्तो गरिदिन्थे, उस्तो गरिदिन्थे, भनी मानिस आफूलार्ई उच्चकोटीको देखाउन कोसिस गरेको देखिन्छ ।
समयको महत्वलाई नबुझी समय घर्किसकेपछि यस्तो उस्तो गरेको थिए, गर्ने विचार थियो, समय घर्की सकेपछि भन्ने गरेको पाइन्छ । समस्या बल्झाएर एकले अर्कालाई दोष दिने गरेको पाइन्छ । राजनीतिक वृत्तचित्रमा भने यस्तो परिवेश निकै मौलाएको पनि पाइन्छ । हामीलाई विश्वास गर्नुस् हामी यस्तो गरिदिन्छौ, उस्तो गरिदिन्छौँ, तर जब अधिकार आफ्नो हातमा हुन्छ, त्यसबेला उनीहरु केवल निहित स्वार्थ तथा वर्ग स्वार्थभित्र आफूलार्ई प्रस्तुत गर्न लागिपरेका हुन्छ ।
यो हिजोको अनुभवले देखाइसकेको छ । जब परिस्थितिले नयाँ मोड लिन्छ । अनि फेरि भन्ने गर्छन् हामीले त यस्तो गरिदिन्थ्यो । अब सोचौँ के साँच्चिकै परिस्थितिले मानिसलार्ई आफ्नो कर्मबाट विचलित बनाएको हो त ? के परिस्थितिले मानिसलार्ई कर्म गर्न नदिएको हो ? यो केवल अरुलाई भुलाउने शब्दजाल मात्र हुन् ।
वास्तवमा विकृति र विसंगति जति बढेका छन् ती सबै समय र परिस्थितिले ल्याएका परिणाम होइनन् हामीले कर्म गर्न नजानेको कारण हुन् । अहिले यी र यस्तै विचारहरुले मानिसको वर्तमान निकै उकुसमुकुस भएर गुज्रिएको छ । निराशाको बादलमा मडारिएको अवस्था छ ।
तसर्थ परिस्थितिलार्ई दोष दिएर होइन, आफ्नो विचार र कर्मलार्ई मूल्याङ्कन गरेर आफूले आफैंलार्ई हेर्नुपर्छ । यसको लागि मानव जीवनमा आउने जति पनि समस्याहरु छन् त्यो मानव स्वयम्ले उत्पन्न गरेका समस्या हुन् भनी मूल्याङ्कन गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ ।
दिनमा २४ घण्टा हुन्छ । प्रत्येक दिनमा रात दिन हुन्छ । बिहान सूर्योदय भएपछिको समय र दिउँसो मध्यान्ह हुँदै गोधुली साँझसँगै सन्ध्याकालीन अवस्था भएर राति हुन्छ । यो निरन्तर गतिशील भइरहने प्रक्रिया हो । जसरी दिनरात भयो त्यसरी नै ३० दिनमा एक महिना, १२ महिनामा एक वर्ष भएर समय बितिरहन्छ ।
यसै समयमा ऋतुले पनि आफूलाई, बसन्त ऋतुदेखि शिशिर ऋतुसम्म, हिउँद, वर्षा, ठन्डी, गर्मी हुँदै आफुलाई प्रस्तुत गर्दछ । यसरी नै दिन महिना महिना वर्ष र वर्ष शताब्दी भएर बितिरहन्छ । यो प्रकृतिको नियम हो । जसरी पृथ्वी, आकाश, जलवायु, अग्नि, स्वरुप भएर समयले आफूलार्ई निरन्तर गति दिइरहेको हुन्छ । त्यसरी नै जीवनले पनि घाम छाँया सहँदै जीवनको आरोह अवरोह पार गर्दै गरेको हुन्छ ।
प्रत्येक महिनाको ३० दिनभित्र १५ दिन औंशी कृष्णपक्ष, र १५ दिन पूर्णिमा शुक्लपक्ष भएर, बितेको हुन्छ । औंशी पक्षमा अँध्यारोको प्रवलता हुन्छ भने शुक्लपक्षमा उज्यालोको प्रवलता हुन्छ । अँध्यारोपछि उज्यालो र उज्यालोपछि अँध्यारो यो प्रकृतिको नियमै हो । यसरी नै जीवनको गति पनि यही समय अनुकुल कहिले खुसी कहिले दुखी भई गतिशील भइरहेको हुन्छ ।
यसरी सरसर्ती हेर्ने हो भने यहाँ कुन अवस्थालार्ई परिस्थितिसँग गाँसेर जीवनमा समस्या आयोत ? भन्ने प्रश्न उठछ । दिनपछि रात र रात पछि दिनलाई परिस्थितिको संज्ञा दिने हो भने यो समय चक्रको निशानी हो । सूर्यको उदाउने र अस्ताउने प्रक्रियासँगै दिनको २४ घण्टा बिहान दिउँसो सन्ध्या र राति भएर गुजिरहेको हुन्छ । समयलाई परिस्थितिसँग गाँसेर व्याख्या गर्ने हो भने यो निरन्तर गतिशील भइरहने हँुदा यहाँ समयले कसरी समस्या उत्पन्न ग¥यो ? भनी प्रश्न उठ्न सक्छ ।
तसर्थ समय र परिस्थितिलाई दोष दिई कर्मबाट उम्कने हाम्रो मानसिकता नै कतै हाम्रो समस्याको कारक त होइन ? जब विचार र कर्ममा भिन्नता हुन्छ, त्यसले ल्याउने परिणाम पनि यस्तै किसिमको हुन्छ । तसर्थ परिस्थितिलार्ई दोष दिएर हैन, आफ्नो कर्म र व्यवहारलार्ई मूल्याङ्कन गरी समय सापेक्ष आफूलार्ई सत्कर्मतर्फ अग्रसर गराउनु पर्दछ ।
अहिलेको वर्तमानलार्ई हेर्दा मानिसको विचार र कर्ममा एकले अर्काको टिकाटिप्पणी गरी मैले यस्तो गरिदिन्थे, मैले उस्तो गरिदिन्थे भनी भ्रमजालको शब्द वाणले मानिसले मानिसलार्ई भुल्याउने चेष्टा गरेको देखिन्छ । वास्तवमा यो उनको निहित स्वार्थ र अहंकारकोले परिपोषित विचार मान्नुपर्दछ । तसर्थ समस्या उल्झ्याएर समस्यामाथि समस्या खडा गरेर अरुलाई दोष दिने हाम्रो चरित्र नै दोषी भएकोले यसतर्फ गम्भीर चिन्तन गर्न जरुरी हुन्छ ।
अहिले मानवीय चिन्तनमा मौलाउन खोजेको जुन किसिमको चरित्र देखिएको छ, यसले अरुलार्ई होइन आफैलार्ई विक्षिप्त बनाउने अवस्था रहन्छ । वर्तमान समयमा जे जस्ता विकृति र विसंगतिहरु देखा परेका छन् । वास्तवमा यी सवै हाम्रै कर्मको परिणामहरु हुन् ।
त्यसैले पदभन्दा प्रतिष्ठालाई प्राथमिकता दिएर मेरो, हाम्रो उद्देश्य भावी पिढीको लागि नयाँ मार्ग निर्देशन बन्ने कार्य गर्नु गराउनु हो भन्ने सोच राखी आफूले आफैलार्ई समस्यामा उल्झाउने होइन, आइपरेका समस्यालार्ई सकारात्मक चिन्तनका साथ समाधान गर्दै, सर्वजन हिताय सर्वजन सुखायको मान्यता राखी कर्म र व्यवहार गर्नु अब हामी सबैको जिम्मेवारी बढेको छ । एकको लागि सबै र सबैको लागि एक भन्ने मूल मन्त्रका साथ अगाडि बढ्नु पर्ने अवस्था अहिलेको वर्तमानले खोजेको सत्य हो । चेतना भया ।