दाङमा तीन प्रदेशका मटाँवा–बरघरहरूको भेला,परम्परागत प्रथाको संरक्षणमा जोड

गोरक्ष समाचारदाता
दाङ, २९ वैशाख । थारू समुदायको आदिमकालदेखि चलिआएको परम्परागत मटाँवा–बरघर–भलमन्सा प्रथाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ३, चखौरामा सोमबारदेखि ’थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम’ सुरु भएको हो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले एक भव्य समारोहका बिच सम्मेलनको उद्घाटन गरेंका थिए । मङ्गलवारसम्म चल्ने सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका एक हजार बढी थारू अगुवाहरूको सहभागिता रहेको छ । सम्मेलनमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासीबाट मटाँवाको सहभागिता रहेको छ ।

परम्परागत प्रथाको अनुभव आदानप्रदान, अलिखित कानुनी अभ्यासको अभिलेखीकरण र संस्कृति संरक्षण अन्तर प्रदेशस्तरीय सम्मेलन गरिएको मटाँवा बरघर भलमन्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका चौधरीले थारू समाज सञ्चालनका लागि यो प्रथा मेरुदण्ड रहेको बताए ।

उनका अनुसार जिल्ला अनुसार मटाँवा, बरघर वा भलमन्सा भनेर फरक फरक नामले चिनिए पनि गाउँको विकास, न्याय सम्पादन र सामाजिक एकतामा सबैको भूमिका समान रहने गर्दछ । दुई दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न महत्वपूर्ण सत्रहरू सञ्चालन हुनेछन् ।

थारू समुदायको परम्परागत कानुन र यसको अन्तर्राष्ट्रिय अभ्यास, थारू समुदायको आर्थिक स्तर उकास्ने रणनीति लगायतका विषयमा छलफल हुनेछ । यस्तै बालविवाहमुक्त अभियानमा मटाँवा–बरघरको भूमिका, लोप हुन लागेका थारू कला र संस्कृतिको जगेर्ना गरिएको छ ।