लोप हुँदै काठका ठेकी, हस्तकला सामग्री

बालाराम खड्का
तुलसिपुर, २९ वैशाख । पछिल्लो समयमा परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत रूपमा काठबाट निर्मित कलात्मक तरिकाले कुँदिएका दुध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रो जस्ता काठका सामग्रीको प्रयोग कम भएको देखिन्छ ।

कुनै समयमा प्लास्टिक, सिल्भर र स्टिलबाट बनेका ठेकी जस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे तर अहिले जताततै प्लास्टिकका वस्तुको प्रयोग बढेपछि काठबाट बनेका वस्तु लोप हुन थालेको स्थानीय मानबहादुर विष्ट बताउँछन् ।

‘पहिले प्लास्टिक, सिल्भर र स्टिलबाट बनेका भाँडाकुडाको सट्टा गाउँकै सामुदायिक वन र बारीका कान्लाका ठुला रुखका काठ तथा दारका काठबाट ठेकी लगायतका सामग्री बनाएर प्रयोगमा ल्याइन्थ्यो । पछिल्लो समयमा गाउँमा काठको अभाव र काष्ठकलाको पुस्तान्तरण नहुँदा यो पेसामा लाग्ने व्यक्तिसमेत पलायन भएको अवस्था छ । पुराना पुस्ताका अनुसार गिठाको काठबाट बनेको ठेकीमा दुध जमाउँदा राम्रो र मिठो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही मिठो र स्वादिलो हुने ज्येष्ठ नागरिकले बताउने गरेको पाइन्छ ।

प्लास्टिक, सिल्भर र स्टिलका भाँडामा जमाएको दही, मही र घ्यूको स्वाद काठको ठेकीमा जमाएको तुलनामा स्वादिलो नहुने स्थानीय माधव केसी बताउँछन् । ठेकी नेपाली परम्परागत संस्कृतिको एक अभिन्न अङ्ग पनि हो । यो विशेष प्रकारको काठबाट बनेको, दूध मथ्न र दही जमाउन प्रयोग गरिने भाँडो हो ।

गिठोबाट ठेकी बनाइन्छ । यसलाई एउटै काठको मुढोलाई खोपेर बनाइने भएकाले बिना जोडको टिकाउ हुन्छ । काठको प्राकृतिक गुणले गर्दा ठेकीमा जमाइएको दही र मोहीको स्वाद विशेष हुने विश्वास गरिन्छ । नेपाली ग्रामीण जीवनशैलीमा ठेकीको स्थान पनि त्यतिकै छ । पूजाआजा तथा शुभकार्यमा ठेकीमा राखिएको दही, मोही आदिलाई पवित्र माने परम्परा रहेको स्थानीय ध्रुव गौतम बताउँछन् ।

उनका अनुसार आधुनिक सामग्रीको प्रयोग बढे तापनि परम्परागत तथा धार्मिक कार्यक्रममा ठेकीको महत्व र पहिचान आज कायम रहेको छ । बजारमा सहजै पाइने प्लास्टिक, स्टिल र आल्मुनियमका भाँडाहरू तुलनात्मक रूपमा सस्ता, हलुका र सफा गर्न सजिला हुने भएकाले ठेकीको प्रयोग घट्दै गएको हुन सक्ने स्थानीय चन्द्रकला वली बताउँछिन् ।

यसैबिच तुलसिपुर उपमहानगरपालिका र तुलसी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा तुलसिपुर–१९ नम्बर वडामा २५ दिने ठेका÷ठेकी, काठका कपलगायतका हस्तकला सामग्री बनाउने तालिम सुरु भएको छ ।

परम्परागत हस्तकला सामग्रीको प्रोत्साहन तथा संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको तुलसी सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक गणेश भण्डारीले बताए । काठका सामग्रीप्रति आकर्षण बढ्न थालेपछि उत्पादनका लागि ती सामग्री बनाउने जनशक्ति तयार गर्न तालिमको आयोजना गरिएको र जनशक्ति समेत तयार गर्ने उनले बताए ।

उनका अनुसार पहिलो चरणमा २८ जना महिला र चार जना पुरुष गरी ३२ जनालाई तालिम दिन थालिएको हो । घरमै बसेर काठका सामग्री निर्माण गरी आयआर्जनका लागि गिठोका रुख बढी पाइने क्षेत्रका सामुदायिक वनका महिला र पुरुषलाई तीन महिने सिप सिकाउने योजना रहेको संयोजक भण्डारी बताउँछन् । उत्पादन गरेका काठका सामग्रीको बजारीकरण केन्द्रले गरिदिने उनले बताए ।

‘परम्परादेखि ठेकीमा दही जमाउने, मोही पार्ने, चौँठीमा घ्यु, तेल, चुक राख्ने गरिन्थ्यो तर अहिले त्यो लोप हुने अवस्थामा छन्’, संयोजक भण्डारीले भने, ‘हामीले तालिममार्फत् काठका सामग्री बनाउने दक्ष जनशक्ति उत्पादन गर्छौँ अनि ती सामग्री उत्पादन गर्ने छौँ, बजारमा माग पनि छ ।’ उनका अनुसार लसिपुर–१९ को भुल्के, कालिका मालिका, सिदेथरी सामुदायिक वनलगायतका स्थानमा गिठाका रुख पाइन्छ । तालिममा सहभागी तुलसिपुर उपमहानगरपालिका वडा नं. १८ र १९ का सहभागी महिला पुरुषहरूले सिप सिकेपछि व्यावसायिक रूपमै हस्तकलाका सामग्री निर्माण गरेर बजारीकरण गर्ने योजना रहेको संयोजक भण्डारीले बताए ।