धर्म निरपेक्षताले के दियो ?

गुरुप्रसाद शर्मा रेग्मी

धर्म भन्ने कुरा वस्तु, पदार्थ, मानिस, व्यापार, संस्था, संगठन नभएकाले धर्म निरपेक्षता भनेर अपेक्षा गर्नें वा नगर्ने भन्ने कुरा कहीँ कतैबाट आउँदैन ।

धर्म भन्ने कुरा त मानिसको आचरण र व्यवहारमा देखिनु पर्ने चोरी नगर्ने, सरसफाइ गर्ने, विद्या आर्जन गर्ने, सत्य बोल्ने, क्रोध नगर्ने, क्षमा गर्ने, घमण्ड नगर्ने, धैर्य राख्ने, बुद्धिको सही उपयोग गरी विकास निर्माण गर्ने, लोभलालच नगर्ने, नियमानुसार आचरण गर्ने आदि कुराहरुको उपेक्षा गरेर धर्म निरपेक्षताको गुणगान गाउने हो भने त्यस्ता मानिसलाई मानिस भन्ने किन ? जन्तु जनावरको जितिको भन्ने, मान्ने कुरा यतिबेलाको खरो बहसको विषय बन्न गएको छ ।

दलाल बनेका दलका नेतृत्वहरुले मानवीय मूल्यमान्यता र मर्यादाको सीमा नाघेर देशको अस्मितालाई र सार्वभौमिकतालाई धरौटी राखेर देशको अस्तित्व मेटाउन चाहने दलका नेतृत्वहरुलाई बढारेर रच्छानमा फाल्न दलका कार्यकर्ता देशका जनता संगठित भएर संविधानको धारामा उल्लेख भएको धर्म निरपेक्षतालाई पनि दलाली गर्ने दलका नेतृत्वहरुसँगै रच्छानमा नफाल्दासम्म यी देशले काँचुली फेर्न सक्ने छैन ।

किन यस्तो भन्नु परेको हो भने यो देशले धर्मको विशेषाधिकार गुमाइसकेको छ । सत्य कुरा भन्ने हो भने यो देशलाई असफल, गरिबनाउन आर्थिक दृष्टिले कमजोर बनाएर परनिर्भरतामा बाच्न पठाउने विदेशीहरुको हातभन्दा हाम्रै देशका दलका नेतृत्वले अहं भूमिका खेलेको कुरा सब छर्लंग भएको छ । यसैको लागि यतिबेला नेपाली जनता नयाँ आयामको बन्दोबस्तको लागि सचे भएको छ ।

राम्रो नराम्रो जुनसुकै काम गर्ने गराउने, प्रेरित गर्ने, त्यस्तो कामलाई अनुमोदन गर्ने कार्यमा हुन्छ तर नेपालका दलका नेताहरुले नेपालको संविधानमा धर्म निरपेक्षता राखेर देशलाई अभिश्रापित बनाउने काम गरेका छन् । देशको अस्मिता र जनताको आत्मनिर्भरताको अन्त्य गराइदिने काम भएको छ ।

दलका दलाल नेतृत्वहरुले विदेशीले दिएको सुविधा सहुलियत, धन पैसाको आँडमा जनतालाई भ्रमित मूर्ख बनाएर सत्तामा आउने र विदेशीको झोले बनेर देशलाई कंगाल बनाउन षड्न्त्र र आफ्ना पूर्खाको वीरगाथा संस्कार संस्कृति मूल्यमान्यता रहेको उच्चताको आफ्नोपना सबै बिर्सेर बाँदर जस्ता भएर विदेशी शिक्षा, संस्कार, संस्कृति, मूल्यमान्यता, आचारविचार, चालचलन बिर्सेर विदेशीको खटनपटमा रमाएर आफूलाई सभ्यभव्य मान्ने नेपालीहरुको मूर्खताले उनीहरुलाई रसातलतर्फ ढकेलिरहेको छ भन्ने बुझ्न र बुझाउन नसक्नु कस्तो विडम्बना हो ।

विदेशीहरुले नेताहरुलाई मात्र हैन जनतालाई पनि जुठो खुवाएर उनको सोच र चिन्तन गर्ने शक्ति श्रीण बनाएर आफ्नो स्वार्थको बगरमा खेती गर्ने काम गरिरहेको छ । त्यसैले जनता नेताको लहलहैमा लागेर थपडी मार्ने सडक आन्दोलन जाने दुःख र कष्टहरुमा भौतारिने काम भइरहेको हो ।

त्यसैले यो देशको संविधानबाट धर्म निरपेक्षता र संघसंगठनको रुपमा रहेका भातृ संगठनहरु र राजनीतिक नियुक्तिका सबै झ्याल ढोका बन्द हुने हो भने यो देशको विकास हुन धेरै समय लाग्ने छैन । कुनै पनि देश वा राज्य र त्यसको राज्य व्यवस्था कहिले पनि धर्म निरपेक्ष हुन सक्दैन ।

जुन देशले आफ्नो संविधानमा धर्म निरपेक्षताको घोषणा गरेका छन् यस्तो किन गरे भनेर सोधे हो भने उनैलाई थाहा छैन । धर्म निरपेक्षतालाई स्वीकारेका देशहरुमा यसको व्यवहारिक अवस्था र व्यवस्थाको आधारमा अर्थ लगाउने हो भने हिन्दु धर्मको विरोधी हुनु हो ।

हिन्दु धर्मावलम्बीहरुको पूजापाठ, संस्कृतको पठनपाठन, मन्दिरहरुको उचित व्यवस्थापन, मन्दिरको आम्दानी सरकारको अधिनमा रहने, मन्दिरको विकास पुनर्निर्माणमा सरकारको कुनै दायित्व नरहने तर चर्च बनाउन पाइने, चर्चको स्कुल खोल्न पाइने, इस्लामिक भाषा पढाउन पाउने तर नेपालको संविधानमा धर्म निरपेक्षता उल्लेख गरेर हिन्दु सनातनी संस्कार, संस्कृति, चालचलन, रितिरिवाज सबै हटाएर आयातित धार्मिक संस्कार संस्कृतिलाई विशेष प्राथमिकता दिने, धर्म परिवर्तन गर्ने र गराउने, छुट दिने दलका दलाल ऐजेण्डा नेताहरु नै भएकाले नेपालीहरुको धर्मप्रतिको आस्था र निष्ठामा तुसारो बनेका छन् ।

यो देशको सत्तामा यस्ता दलाल दलका नेतृत्व रहँदासम्म यसले विकास निर्माणको बाटोभन्दा पतनको बाटोमा नै लैजाने छन् । यस्ता तितो सत्य ३५१ वर्षदेखि भ्रममा भ्रमित भएका जनताको मनोमस्तिष्कमा के भयो, के पायौँ, कहाँ पुग्यौँ भन्ने प्रश्न उठ्न थालेको छ ।

देशको अस्मिता र आत्सम्मानको लागि अब जनता नै सजग प्रहरी बनेर उभिन थालेकाले विदेशीका दलाल र नेतृत्वका झोलेहरु भागाभागको स्थितिमा पुगेका छन् । सरकारी जग्गा सुकुम्बासीको नाममा आफ्ना झोलेलाई दिने र सुकुम्बासी अलपत्र परेर बस्नु पर्ने, राज्यकोषको रकम झोलेमा बाटिने कस्तो राजनीति व्यवस्था हो ।

यी नेताहरुलाई नेता भन्नु पनि शब्दको अपमान गर्नु हो । यस्ता दलका नेतृत्वहरुको सम्पत्ति राष्ट्रिकरण गरी त्यो रकम आर्थिक विकासमा लगाउनु पर्दछ । अनि मात्र देशको मुहार फेर्न सकिन्छ ।

धर्म निरपेक्षता भनेको जब धर्मबाट कुनै किसिमको अपेक्षा गरिँदैन त्यसैलाई धर्म निरपेक्षता भनिन्छ तर व्यवहारमा कुनै राष्ट्र, देश, आफ्नो धर्म संस्कार संस्कृति मूल्यमान्यता परम्पराको आदर्शबाट सञ्चालित हुने गर्दछ । आफ्नो देशलाई जन्मभूमि कर्मभूमि भनेर गर्व गरेको हुन्छ ।

धर्म निरपेक्षता अपनाएर आफ्नोपना र पहिचान सबै बिर्सेर विदेशी सोच र चिन्तनमा टोपी राख्दछ भने त्यो देशको स्वाभिमान, आत्मसम्मान सबै लिलाम गराउनु जस्तै हो । यस्तो गलत विध्वंशकारी आयात संस्कारले हाम्रो परिवारभित्रको आस्था निष्ठा मात्र खलबलाइदिएको छैन । यसले शिक्षा, स्वास्थ्य, समाजका सबै खलबलाइदिएर अस्तव्यस्त बनाइदिएको छ ।

हामी नेपालीका नेपाली हौ भन्ने हाम्रा सबै परिचानबाट हामी नाङ्गिएका छौँ । यसरी सबै क्षेत्रमा नाङ्गिँदै गएकाले जनता र दलका सचेत कार्यकर्ताहरुको सोच र चिन्तनले नयाँ उर्जा थपिदिएकाले सुधार हुने कुरामा आशा पलाउन थालेको छ । दलका नेतृत्वहरुले विध्वंशकारी र आतंकारी भएकाले आफू मात्र मोटाउने काम गरेका छन् ।

त्यसैले जनता दुब्लाएका हुन् । सुकुम्बासीको नाममा हुकुमबासीले राज गर्ने कस्तो काम गरेका रहेछन् भन्ने ठुला दलका ठुला नेताहरु नै सुकम्बासी बनेर ठुला सहरहरुमा सरकारी जग्गामा घर बनाएर बसेको खबरले दलका नेताहरु नै चोर डाँका बनेर सरकारी कोष लुट्ने र विदेशमा व्यापार गर्ने । यिनलाई यस्तो सजाय दिनुपर्दछ कि भोलि कसैले यस्तो गर्ने सोच्न पनि नसकोस् ।