देउखुरी, २८ वैशाख । लमही नगरपालिका–५ को आयोजनामा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जोगराज चौधरीले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले प्रतिभा पहिचानका साथै समाजमा आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरे । नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले महिला तथा पुरुष दुवैलाई समान अवसर प्रदान गर्ने उल्लेख गर्दै महिलाको सहभागिता उत्साहजनक रहेको बताए । उनले स्थानीय तहले खेल क्षेत्रको विकासमा थप ध्यान दिनुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले खेलकुदलाई अनुशासन, नेतृत्व विकास र स्वास्थ्यसँग जोडिएको क्षेत्रका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिने बताए । वडा नं. १ का वडा अध्यक्ष दामोदर पौडेलले वडास्तरबाट आयोजना गरिएका खेलकुद कार्यक्रमले स्थानीय खेलाडीलाई अवसर मिलेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकतारहेको बताए ।
लमही वडा नं. ८ का वडा अध्यक्ष उमेशकुमार खड्काले खेलकुदमार्फत युवाहरूलाई कुलतबाट टाढा राख्न सकिने बताउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले पुरुषतर्फको प्रतियोगिता देउखुरी व्यापी र महिलातर्फको प्रतियोगिता नगरस्तरीय रहेको जानकारी दिए । उनले खेलकुद गतिविधिलाई निरन्तरता दिँदै युवाहरूलाई सकारात्मक क्षेत्रमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा ६ वटा महिला टिम र ११ वटा पुरुष टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलको प्राविधिकतर्फ भरत कंवर, गुरुप्रसाद चौधरी, रवीन्द्र जिसी, सुरेश शाह र रमेश कंवर रहेका छन् । वडा सदस्य चन्द्रा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाकी प्रेस एडभाइजर प्रिया स्मृती गजमेरले गरेका थिए ।