हेफर साझेदारी परियोजनाको प्रगति समीक्षा

दाङ, २८ वैशाख । स्थानीय सरकार र हेफर इन्टरनेशनल नेपालबीचको साझेदारी परियोजनाको प्रगति समीक्षा तथा सिकाई आदान–प्रदान कार्यक्रम घोराहीमा गरिएको छ । परियोजनाअन्तर्गत दाङ, प्युठान र रोल्पामा सञ्चालित कार्यक्रमको सोमवार घोराहीमा प्रगति समिक्षा गरिएको हो ।

प्रगति समिक्षा कार्यक्रममा दाङ, प्युठान र रोल्पामा सञ्चालित दश स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि, कृषि उद्यमशील सहकारीका पदाधिकारी एवम् कर्मचारीसँगै किसानको सहभागितामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा परियोजना सञ्चालित क्षेत्रका किसान तथा न्यून आय भएका नागरिकहरूको आयआर्जनमा परियोजनाले पु¥याएको योगदानको समीक्षा गरी सिकाई आदान–प्रदान गरिएको थियो । परियोजनाअन्तर्गत तीन जिल्लामा ९ सय २५ कृषि उद्यमी सहकारी संस्था क्रियाशील रहेका छन्, जसमार्फत किसानहरूले वस्तु उत्पादन, बजारीकरण तथा आर्थिक उपार्जन गर्दै आएका छन् ।

हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यका अनुसार परियोजनाले किसानहरूलाई उत्पादन प्रक्रियामा आबद्ध गर्ने, उत्पादित वस्तुको बजारीकरणका लागि व्यवसायीसँग जोड्ने, भण्डारणको व्यवस्था गर्ने र उपभोक्तासमक्ष सहज रूपमा पु¥याउने कार्य भइरहेको छ । साथै, किसानहरूमा लगानी अभिवृद्धिका लागि बैंक तथा वित्तीय संस्थाको पहुँच सहज बनाउन ’बैंक साथी कार्यक्रम’ पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा परियोजना लागू भएका स्थानीय तहले गरेका कार्यहरू, उद्यमी सहकारी संस्थाका प्रगति विवरण तथा किसानहरूका सफलताका अनुभव प्रस्तुत गरेका थिए । पशु चिकित्सक, पशु शाखाका कर्मचारी र साझेदार व्यवसायीहरूले पनि परियोजनाका उपलब्धि र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए । हेफर इन्टरनेशनल नेपालका निर्देशक डा. तिर्थराज रेग्मीले साझेदारी कार्यक्रम मूलतः स्थानीय सरकारकै स्वामित्वमा रहेको उल्लेख गर्दै हेफरले प्रोत्साहन र सहजीकरणको भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले ५०÷५० साझेदारीको अवधारणा तत्काल पूर्ण कार्यान्वयन गर्न कठिन भए पनि भविष्यमा थप परिमार्जनसहित परियोजना अघि बढाइने बताएका थिए । हेफर इन्टरनेशनल नेपालका निर्देशक डा. तिर्थराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हेफरका वरिष्ठ कार्यक्रम अधिकृत शरद पोख्रेलले गरेका थिए ।