गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । सिन्धुपाल्चोककी एक महिला प्रशव पीडा सुरु भएपछि काठमाडौंको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा पुगिन् । बैशाख २३ गते त्यहाँ पुगेकी उनले भोलिपल्ट अर्थात २४ गते उनले बच्चा जन्माइन् । २९ वर्षीया ती महिलाको ‘नर्मल डेलिभरी’ भएको थियो । स्वास्थ्य अवस्था ठीक भएपछि भोलिपल्टै ‘डिस्चार्ज’ भइन् र सिन्धुपाल्चोक स्थित आफ्नो घरमा गइन् ।
सुत्केरी, नवजात शिशुको स्याहारसुसार चल्यो । त्यत्तिकैमा महिलालाई केही समस्या देखिन थाल्यो, त्यो पनि स्वासप्रश्वासमा । ज्वरो सहित स्वासप्रश्वासमा समस्या आएपछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि लगियो, तर समस्या कम भएन । स्वासप्रश्वासले उनलाई चाँप्दै लग्यो । जटिल अवस्था देखिन थाल्यो । त्यसपछि उनलाई धुलिखेल अस्पतालमा लैजाने तयारी भयो ।
विहीवार राति ती महिलाको मृत्यु भयो । त्यसपछि अस्पतालले उनको शवबाट स्वाब निकालेर परीक्षण गर्न थाल्यो । यही बीचमा एक्कासी अस्पतालले उच्च सतर्कता अपनायो । यो सतर्कता देखिएपछि त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी मात्रै होइन, विरामी र कुरुवाहरु समेत अक्क न बक्क पर्न थाले । अस्पतालले ती महिलाको कोरोना संक्रमण परीक्षण गरेको र थप परीक्षणका लागि टेकुमा स्वाब पठाइएको चर्चा गाई–गुई चल्नथाल्यो । ‘पोजेटिभ भएकै कारण फेरि परीक्षण गर्न पठाइयो होला’–भन्ने स्वभाविक अनुमान त्यहाँ चर्चाको विषय भयो । तर, आधिकारिक पुष्टि कतै हुँदैन, जानकारहरु खुलेर केही बताउँदैनन् । परिवारका सदस्यहरुले शव उठाउन खोज्दा उठाउन दिइएन र कोरोना परीक्षण गरेपछि मात्र उठाउने भनियो । एउटा कोठामा उनको शव राखिएको छ र त्यसलाई शनिवार बेलुकासम्म कसैले छोएका छैनन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मृत्युको आधिकारिक कारण भनिने अपेक्षा गरियो । पत्रकार सम्मेलनमा उनको मृत्यु भएको पनि भनियो । तर, कारण खुलाइएन । ‘उहाँको कोरोनासँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन्, सबै परीक्षणका सम्पूर्ण विवरणहरु आइसकेपछि मात्र कोभिड–१९ सँग सम्बन्धित मृत्यु हो कि होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा मन्त्रालयले भन्ने छ’ मन्त्रालयका प्रवक्ता विकास देवकाटाले यति भनेर पत्रकार सम्मेलन टुङ्याए ।
यता उनका परिवारका सदस्यहरुको पनि स्वाब परीक्षण गर्नका लागि संकलन हुँदैछ । नेपालमा यो समाचार तयार पार्दासम्म २ सय ७८ जनामा संक्रमण देखिएको छ भने ३६ जना निको भइसकेका छन् । हालसम्म नेपालमा कोराना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।