अत्यावश्यक वस्तुको अभाव हुँदैन : व्यवसायी नेतृत्व

गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । जिल्लामा अत्यावश्यक वस्तुको अभाव नहुने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लामो समयदेखि लकडाउन गरिराखेको छ । लकडाउनको कारण अत्यावश्यक वस्तु अभावको भयले नागरिक चिन्तामा छन् । तर व्यवसायीका छातासंस्थाले भने अत्यावश्यक वस्तुको अभाव देखा नपर्ने दाबी गरेको छ । लकडाउन बढ्दै गए पनि खाद्यान्न तथा अत्यावश्यक वस्तुको समस्या नहुने दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । लकडाउनको समयमा पनि अत्यावश्यक सामग्री आपूर्ति भइराखेकाले समस्या नहुने व्यवसायीहरुले बताएका छन् । अत्यावश्यक सामग्री आइराखेकाले अभाव नहुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । ‘उद्योगमा उत्पादन घटेपछि आपूर्ति पनि घटेको छ तर अभाव हुने अवस्था छैन’ अध्यक्ष भुसालले भने ।

उद्योगहरुमा आवश्यक पर्ने कच्चापदार्थको समस्या हुँदा उत्पादन हुन नसकको उनले बताए । देशमा उत्पादन भए पनि कच्चा पदार्थ बाहिर ल्याउनुपर्ने उद्योगीहरु बताउँछन् । राज्यले नीतिको कारणले अन्योल भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत (वीरु)ले बताए । राज्यले गरेको निर्णय छिटो–छिटो फेरिँदै जाने गरेकाले समस्या भएको उनले बताए । कसरी सहज व्यवस्थापन गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको बताए । ‘उपभोक्ताहरुलाई कसरी सामग्री पु¥याउने भन्ने बारेमा आफूहरु लागिपरेका छौँ’ अध्यक्ष रावतले भने ।
पूर्वी जिल्लामा कोरोना संक्रमितहरुको संख्या बृद्धि हुँदै जाँदा राज्यले कडाई गर्दै जाँदा काम गर्ने मजदुर नहुँदा उत्पादन हुन नसकेको उनको भनाई छ । विशेष गरी वीरगञ्ज, विराटनगरबाट आउने सामग्रीहरु ल्याउन समस्या भएको अध्यक्ष रावतले बताए । कफ्र्यू लागेको कारण मजदुरहरु उद्योगसम्म जान समस्या रहेको रावतले बताए । ढुवानी गर्ने सवारी साधनहरुले पनि सहज रुपमा सामान ल्याउने उत्साह नदेखाउने गरेको रावतको भनाई छ ।