कोरोना प्रवेश–द्वार बन्द गर्न हातेमालो आवश्यक

दाङमा पनि कोराना प्रवेश गरेको छ । तराईका अन्य जिल्लहरुजस्तै भारतबाट आउनेहरुमा संक्रमण देखिएको हो । गढवा गाउँपालिकाका ती दुई जनाको परीक्षणबाट संक्रमण देखियो र उपचारका लागि कोरोना विशेष अस्पतालमा लगिएको छ । समयमै थाहा पाइएका कारण उनीहरुले उपचार पाउने छन् र छिट्टै संक्रमण मुक्त हुने छन् भन्ने विश्वास गरौँ र त्यसका लागि सामूहिक कामना पनि गरौँ । सँगै जिल्लावासीको काँधमा ठूलो जिम्मेवारी समेत थपिएको छ । त्यो जिम्मेवारीतर्फ नजरअन्दाज ग¥यौँ भने दाङ पनि संक्रमितको संख्या धेरै भएको जिल्लाका रुपमा परिचित हुने धेरै समय लाग्ने छैन । पहिलो दायित्व भनेको संक्रमित पुष्टि भएकाहरुको ‘ट्राभल हिस्ट्री’ तत्काल खोज्नु पर्दछ र यो दौरानमा उनीहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्छ । यसका लागि सबैको दायित्व उत्तिकै हुन्छ, प्रशासनलाई यो दायित्व पञ्छाएर कोही पनि चुप बस्न मिल्दैन ।

कोरोना भाइरसको संक्रमण निर्दयीपूर्वक फैलिरहेको विश्वव्यापी अनुभव हामीसँग ताजै छ । ‘मेरो आफन्त, मेरो मान्छे, सफा सुग्घर नै छ, खासै कतै गएको छैन, हट्टाकट्टा नै छ, कोरोनाले छुँदैन’ भनेर उदारता देखाउनु नै कोरोनाका लागि सबैभन्दा ठूलो स्वागतद्वार निर्माण गरेको हुने छ । संक्रमितको सम्पर्कमा आएकालाई परीक्षणका लागि पठाउन कठोर निर्णय गर्न परिवारका सदस्यहरु कत्ति पनि हिच्किचाउनु हुँदैन । छरछिमेकीले पनि यो दायित्व निर्वाह गर्नुपर्दछ । साथै संक्रमण देखिएकाले पनि आफूसँग सम्पर्कमा आएकाहरुको नाम सम्झँदै प्रशासनलाई जानकारी दिनु पर्दछ । सम्पर्कमा आएकाहरु पनि स्वतःस्फूर्त परीक्षणको दायरामा आउनु पर्दछ, लुकेर बस्नु भनेको घरपरिवारका सदस्यहरुमाथि नै डढेलो झोस्नु हो भन्ने बुझ्नु पर्दछ । यो दायित्व नागरिक स्तरबाट निर्वाह हुने छ र हुनु पनि पर्छ । प्रशासनलाई पनि विशेष दायित्व निर्वाहको चुनौती थपिएको महशुस हुनु पर्दछ । यो महशुसले ऊर्जा र तत्परता जगाउने छ । सीमानामा कडाई, क्वारेन्टाइनमा अनिवार्य बसाउनका लागि आवश्यक परेमा बल प्रयोगसम्मको काम प्रशासनको तत्कालका लागि प्राथमिकताको सूचीमा राखिनु पर्दछ । त्यस बाहेक फ्रन्ट–लाइनरका रुपमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, क्वारेन्टाइनमा कार्यरत जनशक्तिहरुको सूची बनाएर उनीहरुको गतिविधि, उठबस र भेटघाटका आधारमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था समेत मिलाउनु पर्दछ ।

यी स्वास्थ्य सतर्कताका लागि गरी नै पर्ने जिम्मेवारी हुन् । कसैले पनि यसमा आनाकानी गर्न हुँदैन । त्यसैगरी लकडाउनको पालना गर्ने काममा नागरिक र पालना गराउने काममा प्रशासन अझै गम्भीरताका साथ र कडाईका साथ लाग्नुपर्र्ने अवस्था पनि देखियो । नागरिक किन बजारमा वा भीडभाडमा आइरहेका छन् ? उनीहरुको रहर वा लापरवाही हो भने कारवाहीका लागि प्रशासनसँग समन्वय गर्ने र वाध्यता हो भने त्यसलाई सम्बोधन गर्ने जिम्मा स्थानीय सरकारको हो । बैंकहरुमा सामाजिक सुरक्षा अन्तर्गतको भत्ता बुझ्नेको भीड बढ्दै गर्दा उनीहरुलाई सो रकम घरमै पु¥याउने अभ्यास गरेको पनि कतै–कतै देखियो । सामाजिक दूरी कायम गर्दै यस्तो अभ्यासलाई अनुशरण गर्न पनि सकिन्छ । जे जसरी हुन्छ, सामाजिक दूरी बनाउन, भीडभाड हुन नदिन र कोरोना भाइरस प्रवेशका सम्पूर्ण द्वारहरु बन्द गर्न सबैबीच हातेमालो जरुरी छ ।