यम रेग्मी
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म ईसापूर्व ५६३ भएको थियो । यहीँ वैशाख १८ गते विश्वभर विभिन्न कार्यक्रम गरेर २५७०औँ बौद्ध जयती मनाइयो । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको पनि यस विशेष दिनलाई संसारभरिका मानिसहरूले श्रद्धा र उत्साहका साथ मनाउँछन् । तर, बुद्ध जयन्ती केवल पूजाआजा र दीप प्रज्वलनको देखावटी रूपमा मात्र सीमित हुनु हुँदैन । आन्तरिक सारतत्व खोज्न सक्नुपर्छ । बुद्धलाई एकदिन स्मरण गर्ने मात्र होइन् । उनलाई हरक्षणमा स्मरण गर्न जरुरी छ । २६०० वर्षअघि कपिलवस्तुको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले प्रतिपादन गरेको ‘दर्शन’ आजको कोलाहलपूर्ण, तनावग्रस्त र युद्धग्रस्त विश्वका लागि अत्यन्त उपयोगी छ । यस विषयमा छलफल तथा मन्थन गर्नु आजको मुख्य आवश्यकता बनेको छ ।
आजको विश्व भू–राजनीतिक टकराबले तनावग्रस्त छ । आणविक प्रयोगको होडबाजी गर्दा युद्धको चपेटामा छ । एकातिर रुस–युक्रेन द्वन्द्व छ । अर्कोतिर इजरायल र इरानको हालत उस्तै छ । विश्वमा साना–मसिना जातीय र धार्मिक कलहहरूले मानवीय संवेदनालाई क्षतविक्षत पारिरहेका छन् । मान्छे त्रासको भुमरीमा छ । साँडेहरूको जुधाइले अकालमा निर्दोष जनता अकालमा मर्नेक्रम बढ्दो छ । बुद्धको पहिलो र मुख्य शिक्षा भनेकै ‘अहिंसा परमो धर्मः’ हो । यसलाई अनुसरण गर्ने सकियो भने मानव लगायत पशुपङ्छी तथा वनस्पति जगत् अतित्व रहन सक्छ ।
प्रवचन दिने क्रममा कुनै ठाउँमा बुद्धले भनेका थिए– ‘विजयले मानिसमा शत्रु जन्माउँछ, पराजित व्यक्ति दुःखमा डुब्छ तर शान्त व्यक्तिले विजय र पराजय दुवैलाई त्यागेर सुखको अनुभव मात्र गर्छ ।’ वर्तमान समयमा शक्ति र कूटनीतिको कुरा गरिँदा बुद्धको अहिंसाको सिद्धान्त सबैभन्दा बलियो अस्त्र बन्न सक्छ । हतियारले सिमाना जित्न सकिएला, तर मन जित्न केवल प्रेम र करुणाले मात्र सम्भव हुन्छ । जबसम्म मानिसको मनमा शान्ति हुँदैन, तबसम्म विश्वमा शान्ति स्थापना हुन सक्दैन भन्ने बुद्धको सन्देश आज झनै जीवन्त बनेको छ ।
आजको आधुनिक मानिस भौतिक रूपमा अत्यन्त सम्पन्न छ । उसलाई नपुग्दो केही पनि छैन । बाहिरी रूपमा हेर्दा जति नै पूर्ण र सभ्य देखिन्छ, मानसिक रूपमा त्यति नै खोक्रो र अशान्त देखिन्छ । मानिसका लागि आजभोलि डिप्रेसन, एन्जाइटी र एक्लोपन विकास सभ्यताका महारोग बनेका छन् । विज्ञानले शरीरको उपचार त खोज्यो । भौतिक शरीरलाई सुख त दियो, तर मनमा खुसी र शान्ति दिन सकेन । बुद्धले दुःखको कारण बाहिर होइन, मानिसको आफ्नै तृष्णा र अज्ञानतामा देखेका थिए । तृष्णा र अज्ञानतालाई मानिसले त्याग सक्यो भने ऊ आफैँ प्रसन्न हुनसक्छ ।
बुद्धले सिकाएको ‘विपश्यना’ ध्यान विधि वर्तमान समयमा विश्वभर लोकप्रिय भएको छ । आफ्नो श्वासप्रश्वास र वर्तमान पलप्रति सजग रहने यो कलाले मानसिक तनाव कम गर्न र एकाग्रता बढाउन अचुक औषधिको काम गर्छ । ‘अप्प दीपो भव’ अर्थात् ‘आफ्नो प्रकाश आफैँ बन’ भन्ने बुद्धको मन्त्रले मानिसलाई आत्मनिर्भर र मानसिक रूपमा सबल बनाउँछ । डाक्टर र मनोवैज्ञानिकहरूले समेत अहिले बुद्ध दर्शनमा आधारित थेरापीहरूको सिफारिस गरिरहनुले पनि यसको सान्दर्भिकता कति छ भन्ने कुरालाई पनि छलङ्ग पार्छ ।
वर्तमान विश्व दुईवटा अतिवादमा विभाजित छ । एकातिर चरम भोगविलास र उपभोक्तावाद छ, जहाँ मानिस सामान थुपार्नमै जीवनको सार्थकता देख्छ । मै खाऊ, मै लाऊ र मै मात्र बाचू भन्ने मूल मन्त्र रहेको छ । आफू बाच्नको लागि ऊ जस्तो नीच कर्म गर्न पनि पछि पदैन् । अर्कोतिर चरम गरिबी छ । भोक छ । रोग छ । शोक छ । अभाव छ । न त शरीरलाई अति कष्ट दिनु, न त भोगविलासमा हराउनु, यो सिद्धान्त आजको आर्थिक असमानता कम गर्न र दिगो जीवनशैली अपनाउन मार्गदर्शक बन्न सक्छ । जलवायु परिवर्तनको यो युगमा बुद्धको ‘थोरैमा सन्तोष मान्ने’ र प्रकृतिको सम्मान गर्ने दर्शनले पृथ्वी बचाउन मद्दत पु¥याउँछ । यदि हामीले हाम्रा आवश्यकतालाई सन्तुलित बनाउन सक्यौँ भने मात्र प्राकृतिक स्रोतको दोहन कम हुनेछ । बुद्धले मध्यमार्गी बाटोको वकालत गर्नुभयो । जसलाई वर्तमान समयमा पालन गर्न सकियो भने मानिस खुसी र सुखी बन्छ ।
अरू धर्म जस्तो बुद्ध दर्शन कुनै अन्धविश्वास वा कट्टरपन्थी धर्म होइन, यो त एक जीवन पद्धति र विज्ञान हो । बुद्धले स्पष्ट भनेका थियो– ‘मेरो कुरालाई मैले भनेकै भरमा विश्वास नगर, त्यसलाई आफैँले तर्क र अनुभवको कसीमा घोटेर हेर ।’ उनले अन्धभक्तिको सट्टा प्रश्न गर्ने र सत्यको खोजी गर्ने स्वतन्त्रता दिनुभयो । जसले गर्दा आजको वैज्ञानिक युगमा बुद्धको यो तर्कशीलता झनै सान्दर्भिक छ । उनको ‘कार्यकारण सम्बन्ध’ को सिद्धान्तले हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ र कारण हटाए परिणाम पनि हट्छ भन्ने कुरालाई पुष्टि गर्छ । यो तर्क आधुनिक भौतिक विज्ञान, समाजशास्त्र र चिकित्सा शास्त्रको आधार पनि हो ।
आज पनि विश्व जातिवाद, रङ्गभेद र लैङ्गिक विभेदले शिक्षित भनिएको समाजलाई पनि गाँजिरहेको छ । समानताको जति चर्को नारा लगाए तापनि त्यो नारामा नै सीमित छ । नाराबाट व्यवहारमा पूर्ण रूपमा रूपान्तरण हुन सकेको छैन् । बुद्धले आफ्नो संघमा सबै जातिका मानिसलाई समान स्थान दिएर २६ सय वर्षअघि नै सामाजिक क्रान्तिको जग बसालेका थिए । उनले भनेका थिए, ‘मानिस जन्मले होइन, कर्मले महान् वा नीच हुन्छ ।’ नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा बुद्धको यो समतामूलक सन्देशले राष्टिूय एकता र आपसी भाइचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । विभेदरहित समाज निर्माणका लागि बुद्धका विचार संविधानका धाराभन्दा पनि प्रभावशाली हुन सक्छन् ।
डिजिटल युगमा मानिस सामाजिक सञ्जालमा जोडिएका त छन्, तर भावनात्मक रूपमा झन् एक्लो र स्वार्थी बन्दै गएका छन् । बुद्धका चार ब्रह्मविहारहरू– मैत्री करुणा, मुदित र उपेक्षाले मानिसलाई अरूप्रति दयालु हुन र अरूको प्रगतिमा खुसी हुन सिकाउँछन् । जबसम्म हामीमा अर्काको दुःख देख्दा मन रुने ‘करुणा’ र अर्काको सुख देख्दा खुसी हुने ‘मुदिता’ को भाव जागृत हुँदैन, तबसम्म हामी साँच्चैको मानव बन्न सक्दैनौँ । आजको प्रतिस्पर्धात्मक समाजमा यी चार गुणहरूले आपसी सम्बन्धलाई सुमधुर बनाउन मद्दत गर्छन् ।
बुद्धले दुःखबाट मुक्ति पाउनका लागि आठवटा मार्गहरू दिनुभएका छन् । सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि आदि हुन् । यदि कुनै कर्मचारी वा राजनीतिज्ञले सम्यक जीविका र सम्यक कर्म को पालना गर्ने हो भने भ्रष्टाचार आफैँ निर्मूल हुन्छ । यदि हामीले सम्यक वचन को पालना ग¥यौँ भने समाजमा हुने गालीगलौज र झँैझगडा हराएर जान्छन् । यी मार्गहरू केवल भिक्षुहरूका लागि मात्र होइनन्, एक आम नागरिकका लागि असल जीवन जिउने मन्त्र हुन् ।
बुद्धको जीवन प्रकृतसँग जोडिएको छ । उनको जन्म रुखमुनि भयो, ज्ञान प्राप्ति रुखमुनि भयो र महापरिनिर्वाण पनि रुखमुनि नै भयो । बुद्धले सधैँ रुख, विरुवा र जीवजन्तुको रक्षा गर्न सिकाए । आजको ‘ग्लोबल वार्मिङ’ को समयमा बुद्धको यो ‘इको(फ्रेन्डली’ दर्शनले मानवजातिलाई सचेत गराउँछ । प्रकृतिको विनाश गरेर मानव जाति सुरक्षित हुन सक्दैन भन्ने सत्य बुद्ध दर्शनको एक महत्वपूर्ण पाटो हो ।समग्रमा भन्नुपर्दा बुद्ध केवल मूर्तिमा सजाउने वा बिहारमा पूजा गर्ने पात्र मात्र होइनन्, उनी एक शाश्वत विचार र विज्ञान हुन् ।
बुद्ध दर्शनको सान्दर्भिकता हिजोभन्दा आज झनै बढेको छ । भौतिकवादले ल्याएको अन्धकारमा बुद्धका विचारहरूले दिव्य ज्योतिको काम गर्छन् । बुद्धका तमाम दर्शनमध्ये केही दर्शनलाई मात्र अनुसरण गर्न सकियो भने मान्छेको जीवन सार्थक हुने देखिन्छ । बुद्ध दर्शनको नीतिलाई अनुसरण गरेर धेरै देशहरूले उन्नति र प्रगति गरिसकेका छन् । नेपाल सरकारले पनि त्यतातिर ध्यान दिनुपर्ने आजको आवश्यकता देखिन्छ ।