खोलो आउँछ फर्किँदैन, समय आउँछ पर्खिँदैन

एकराज शर्मा अधिकारी

पहिला वैदिककालमा प्राचिन विद्धानहरुले विकास गरेको ब्रह्मको सोच ज्यादै उदार र फराकिलो थियो । त्यसभित्र सबै जातिका मानिसहरु अटाउन सक्थे । बशिष्ट ऋषिले रचना गरेको योगवाशिष्टले सबैलाई पारिवारिक नातामा जोडेको थियो । जब हाम्रा पूर्वजहरुले जातपातको विजारोपण गरे तबदेखि वैदिक धर्मले साँघुरो बाटो लियो । जातिपाति विभाजन भयो । कृत्रिम आवरणमा नयाँ ग्रन्थ बने । याज्ञवल्क स्मृति, मनुस्मृति, भृगृस्मृति आदि ग्रन्थले हाम्रो जीवनको सरल मार्गलाई जटिल धर्मकाण्डमा जेलिदिए । यो जटिलताबाट निस्कन सम्पूर्ण इतिहासको समीक्षा गर्नुपर्छ ।

हाम्रो संस्कृतले गुरुलाई आमाबाबुभन्दा माथि राखेको छ । तर आजभोलि गुरुलाई उच्च सम्मान दिन छाडेका छौँ । संस्कृतका विद्यार्थीहरुले मात्र गुरुको मर्यादालाई बचाएका छन् । अरु विद्यार्थीले सर भन्दछन् । उहिले गुरुकुल प्रणालीमा एउटै गुरु हुन्थे । आजकल हजारौँ गुरु हुन्छन् । पूज्नेको शैली फेरियो, समाजमा विशिष्ट व्यक्तिलाई पूजा गर्ने चलन चल्यो । गुरु पूजाले संस्थागत रुप लियो । प्राचिन युगका सबैभन्दा ठुला शास्त्रका संकलनकर्ता इतिहासमा वेदव्यास हुन् ।

श्रावण महिनाको गुरु पूर्णिमामा उनको जन्म भएको थियो । यिनी वैदिक कालका सर्वश्रेष्ट विद्धान थिए । यिनकै ग्रन्थहरुले वैदिक शिक्षाको विकास भएको छ । वैदिक सनातन हिन्दुहरुको इतिहासले वेदव्यासको सम्मान र पूजा गर्दै आइरहेको छ । कुनै पनि सनातन हिन्दु परम्पराले जात, कुल, थरको आधारमा हाम्रा वेदवेत्ता गुरुलाई अपमान गरेको छैन । उनीहरुले रचना ग्रन्थहरुलाई आदर्श आदर्श मानेर ब्रहवेता गुरु भनेर सम्मान गर्दै आइरहेको छ । आवश्यकता नै आविष्कारको जननी हो । मानव जीवनलाई बढी क्रियाशील बनाउने विषय आवश्यकता नै हो । आवश्यकता भएर नै आविष्कार हुन्छ । प्रारम्भिक कालमा मानवका आवश्यकताहरु सीमित थिए । यिनको पनि सीमा थियो, चेतना पनि सीमित थियो ।

जनसंख्या पनि कम थियो । अहिले जनसंख्या वृद्धि भएको छ । पुरानो जीवन पद्धतिबाट आवश्यकता परिपूर्ति नभएकोले नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ । नयाँ सोच, नयाँ विचार, नयाँ संस्कार, नयाँ व्यवहार तीव्र रुपले विकास भइरहेको छ । समाज विकासको साथ साथै समाजमा शक्तिको विकासमा मानिसहरु लागिरहेका छन् । समाज धेरै शिक्षित भइसकेको छ, रुढीवादी र अन्धविश्वास हट्दै गइरहेको छ । आफू पनि बाचौँ अरुलाई पनि बचाऔँ भन्ने मानवताको विकास हुन लागिरहेको छ । छुवाछुतको प्रथा हटिसकेको छ । एक्काइसौँ शताब्दीमा आइपुग्दा मानिस धेरै शिक्षित भइसकेका छन् । उच्च ज्ञान र चिन्तन भएका सिप भएका मानिसहरु सत्तामा पुगेका छन् ।

गरिब किसानमा आशाको किरण उदाएको छ । नेपाल जस्तो औद्योगिक दृष्टिले कमजोर भएको मुलुकमा अन्याय, अत्याचार, भ्रष्टाचारमा चुर्लम्म डुबेको मुलुक अब क्रमश श्रमशक्तिको सदुपयोग गरेर बेरोजगारी समस्या समाधान गरेर देशमा औद्योगिक विस्तार गर्नेछ । अन्तर्राष्ट्रिय सम्बन्ध बलियो हुनेछ, गुट उपगुट समाप्त हुनेछन् भन्ने आशा र भरोसा नेपाली जनताले लिएका छन् । २०८२ सालको निर्वाचनबाट रास्वपाले बहुमतको सरकार प्राप्त गरेको छ । पार्टीभित्र गुटबन्दी गर्ने पनि कोही छैन, अब पनि देश नबनाएर तानातान गर्ने हो भने नेपालीको विनाश हुनेछ ।

संसारमा सर्वश्रेष्ठ प्राणी मानिस हो । मानिसले जे पनि गर्न सक्छ । मानिससँग मानवता छ, बुद्धि छ, विवेक छ, विचार छ । आफ्नो देशको निर्माण आफै गर्न सक्छ । नेपालले त अझ कसैको मुख ताक्नु पर्दैन । नेपालीसँग प्रकृतिको भण्डार छ, खाली सदुपयोग खाँचो छ । नयाँ आविष्कार नेपालीले गर्न सक्छन् । नेपालीसँग बलिया पाखुरा छन्, साहस छ । जीवनलाई चाहिने सबै वस्तु नेपालमा पाइन्छ । खाली विवेकको खाँचो छ । विवेक हरायो भने मानिसमा हिंसा हुन्छ । राज्यले विवेक गर्न जानिन भने युगौँदेखिको संरचना क्षण भरमा नष्ट हुनसक्छ । त्यसैले प्राचिन विद्धानहरुको फराकिलो मार्गलाई छाड्नु हुँदैन ।

संकीर्ण विचार लिनु हुँदैन । बुद्धको जस्तो उदार भावना हुनुपर्छ, उनले सबै प्राणी माथि दया गर्थे । उनले विश्वलाई एक सुत्रमा बाध्ने प्रयास गरेका थिए तर सफल भएनन् । धर्मको आधारमा भारत फुट्यो, भाषाको आधारमा पाकिस्तान फुट्यो । धर्म र भाषालाई खलबलाउनु हुँदैन । धर्म र भाषाको संरक्षण गर्नुपर्छ । राजा महेन्द्रको राष्ट्रप्रति माया थियो । उनी कवि पनि थिए । उनको पालामा नेपालमा जति औद्योगिक उन्नति भयो त्यति अरुको पालामा भएन । मुख्य पूर्वपश्चिम राजमार्ग उनैको पालामा बन्न सुरु भएको हो । उद्योग गर्दै मानिसलाई धेरै समय चाहिँदैन । खोलो आउँछ फर्कँदैन, समय आउँछ पर्खिदैन भन्ने उखान त हामीले सुनेकै छौँ । नेपाल देश बनाउने सुनौलो मौका आएको छ, हामीले खुट्टा तानातान गरेनौँ भने अब देश बन्छ ।

हामी बुद्ध जन्मेका देशका नागरिक हौँ । सत्य, त्याग, अहिंसा र ज्ञानले गर्दा बुद्धलाई हामीले हरेक वर्ष वैशाख शुल्क पूर्णिमा ईश्वरको अवतार रुपमा सम्झन्छौँ । मानिस नै ईश्वर बन्न सक्दो रहेछ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छ । बुद्धको दर्शनमा मनलाई प्राथमिकता दिइएको छ । बुद्धले जातपातलाई मान्दैनथे । जीवन भर निम्न वर्गलाई माथि उठाउने काम गरे । वर्ण व्यवस्था नै अधोगतिको कारण हो, भन्दथे । सदाचार, अनुशासन र आचरणमा जोड दिन्थे । उनी तार्किक व्यक्ति थिए । उनी रुढीवादीका विरोधी थिए । यज्ञका नाममा हुने हिंसाका विरोधी थिए । महिला हिंसाका विरोधी थिए । वर्तमान सरकारले बुद्धको दर्शनलाई अपनाउनु पर्छ । देशमा शान्ति स्थापना गर्दै अगाडि बढ्नु पर्छ । खोलो आउँछ फर्कँदैन, समय आउँछ पर्खँदैन ।