दाङ,२७ बैशाख । साहित्यकार एकराज शर्मा अधिकारकिो चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) बिमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा साहित्यकार अधिकारीको कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) को शनिवार घोराहीमा विशेष समारोहका बीच विमोचन गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाललगायतले पुस्तकको बिमोचन गरेका थिए ।
विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार पदमप्रसाद शर्माले ’रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गरेका थिए । उनले भने,‘लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ । पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डो¥याउने सामथ्र्य राख्दछ ।’ उनले भाषाको शुद्धता र भावको गहिराइले गर्दा पुस्तक अत्यन्तै सुन्दर र प्रेरणादायी बनेको बताएका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ’समीर’,सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गरेका थिए ।
लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए । कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।