तुलसीपुर उवासंघको ३१ औँ साधारणसभा, निजी क्षेत्र तङ्ग्रिने आशा पलाएको छ ः शर्मा

बालाराम खड्का
तुलसीपुर, २७ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको ३१औँ वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रशाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले उद्योगी, व्यवसायीका थुप्रै समस्या रहेको र त्यो क्रमिक रूपले समाधान हुने बताए । ‘अब काम गरेर देखाउने समय आएको छ, म धेरै कुरा यहाँ भन्ने पक्षमा छैन’, उनले भने । शर्माले देशमा नयाँ सरकार आएको र आफु पनि नेतृत्वमा नयाँ भएकाले व्यावसायिक हक, अधिकार र निजी क्षेत्रलाई तङ्ग्रिने गरी काम गर्ने बताए । उनले अब सरकारले नयाँ बजेट ल्याउने तयारीमा रहेकाले आवश्यक सल्लाह तथा सुझाव महासंघलाई पठाउन अनुरोध गरे ।

‘अहिलेको सरकारले थपु्रै पुराना कानुन परिमार्जन गरेको छ, आशा गरौँ निजी क्षेत्र तङ्ग्रिन्छ’, शर्माले भने । यस क्षेत्रको विकास निर्माणदेखि तुलसीपुरको एयरपोर्ट स्तरोन्निसम्मका लागि आफूले पहल गर्ने उनले बताए । तुलसीपुर उद्योग वाणिज्य संघसँग आफू पहिलेदेखि परिचित रहेको भन्दै युवा उद्यमशीलताको विकासदेखि स्थानीय सरकारसँगको समन्वयमा धेरै काम गरेको बताए । ‘तुलसीपुरको एयरपोर्ट निर्माण होस् या अन्य विकास निर्माणका लागि निजी क्षेत्र, म बाट हुने सहयोग हुने छ’, उनले भने, ‘तुलसीपुर क्षेत्रमा व्यवसाय गर्न आवश्यक कुरा के के छन्, ती सुझावसहित महासंघमा पठाउनुहोस्, हामी ती कुरा सरकारसम्म पु¥याउँछौँ ।’

साधारणसभामा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले निजी क्षेत्र अर्थतन्त्रको बलियो खम्बा भएको भन्दै उद्योग र व्यवसायीको सक्रियाताविना समृद्ध नगरको परिकल्पना सम्भव नभएको बताए । स्थानीय सरकार र निजी क्षेत्र बिचको सहकार्यले मात्रै लगानीमैत्री वातावरण निर्माण तथा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । ‘तुलसीपुर उद्योग वाणिज्य संघले स्थापनाकालदेखि यस क्षेत्रको विकास, व्यापार प्रवर्धन र व्यावसायिक हक, हित संरक्षणमा प्रशंसनीय भूमिका खेलेको छ’, नगर प्रमुख खड्काले भने ।

दाङको मुख्य चुनौती भनेकै एयरपोर्ट बन्न नसक्नु भएको बताउँदै प्रमुख खड्काले पटक पटक निजी क्षेत्र र आफूहरूले पहल गर्दा पनि एयरपोर्टको स्तरोन्नति गर्न नसकेको बताए । ‘एयरपोर्ट सञ्चालन नुहँदा यो क्षेत्रको व्यापार पर्यटन प्रवर्धन हुन सकेको छैन, लगानीकर्ता सजिलैसँग भित्रने माध्यम एयरपोर्ट हो, यसको विकासका लागि सबैको पहल आवश्यक छ’, खड्काले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीको पेसागत हक, हित तथा अधिकारका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै आगामी दिनमा पनि खेल्ने बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहनका लागि सबै तहका सरकार लाग्नु पर्ने बताए । उनले तुलसीपुर उपमहानगरपालिका र उद्योग वाणिज्य संघबिच सहकार्य राम्रो भएको भन्दै आगामी दिमना पनि यस्तै सम्बन्ध आवश्यक रहेको बताए ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत श्रीधर टन्डनले कर। कानुन र नीतिहरूको पालना गर्नु सबै नागरिक तथा व्यवसायीहरूको कर्तव्य रहेको बताए । उनले विभिन्न समयमा कार्यालयले करदाता शिक्षादेखि करका विषयमा सहजीकरण गर्दै आएको बताएका थिए । उनले राज्यको नीति व्यवसायीलाई दुःख दिने नभएको बताए । कार्यक्रममा लमही उद्योग वाणिज्य संघका अध्यक्ष कमलजङ्ग ठकुरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष केसीले देशको आर्थिक मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र दिन प्रतिदिन जटिल अवस्थाको सामना गर्नु पर्ने अवस्था सिर्जना भएको बताए । केसीले अमेरिका र इरानविचको आपसी द्वन्द्वको प्रभाव विस्तारै नेपालमा देखिनुले थप अर्को चुनौती सामना गर्नु पर्ने बेला आएको बताए । टरिगाउँ विमान स्थलको स्तरोन्नति हुनुपर्छ भन्ने विषयमा संघ अडिक रहेका बताउँदै अध्यक्ष केसीले सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर अभियान सञ्चालन गरेको र अभियान अन्तर्गत विभिन्न काम गरेको बताए । बजारमा विभिन्न स्थानमा सिसि क्यामेरा जडान, हाइमास्टर लाइट जडानका साथै विभिन्न उद्यमशीलताका तालिम सञ्चाल गरेको उनले बताए ।

साधारणसभामा महासचिव केशवराज केसीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन पेस गरेका थिए । सभामा धन्यवाद मन्तव्य वाणिज्य उपाध्यक्ष नरेशकुमार राजभण्डारीले व्यक्त गरेका थिए । साधारणसभामा तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच पत्रकारिता, शिक्षा तथा व्यवसाय क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । पत्रकारतर्फ पत्रकार टेकराज भण्डारी, जेहेनदार छात्र÷छात्रातर्फ स्मिता केसी, दिलिप खड्का, दिनेश रावत, राजन गिरी, मिरा बस्नेत र सिकिज लामिछानेलाई पुरस्कृत गरिएको थियो । व्यवसायतर्फ जिब्सन, सिमेन्ट, टायल उद्योगका निरज देवकोटा तथा राप्ती खुकुरी उद्योगकी टीकाकुमारी बिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए ।