दूरसञ्चार आविष्कार एक चमत्कार

के.पी. सुवेदी

राम्रो या नराम्रो जस्तोसुकै कामममा किन नहोस्, टेलिफोन वहुपयोगी र वहुआयामिक साधन बनेको छ । खल्तीमा पैसा नहुनसक्छ तर पुरानो थोत्रो, नयाँ तर कमसल अथवा ब्रान्डेड स्मार्टफोनमध्ये कुनै पनि प्रकारको किन नहोस्, फोन आजकल सबैसँग हुन्छ । फोन सेवाको प्रयोगले मानिसको कामकाजमा छरितोपन मात्र नभई मानिसको जिजिविसा सरलीकरण गर्न सघाएको छ । यसले मानिसलाई चलाख, बुद्धिमान र क्षमताको पूर्ण प्रयोग गर्न सघाएको छ ।

नेटफोनको सुविधा उपलब्ध हुन थालेपछि संसारलाई नजिक गराएको खबर वा सुचना आदान प्रदान गर्ने माध्यमबाट विकसित हुँदै इन्टरनेटसम्म जोडिन पुग्दा असीमित अवसर र सम्भावनाको अस्त्र स्रोतको श्रेणी प्राप्त गरेको छ । समाचार वा सूचना लिन÷दिन, चिठ्ठी–पत्र लेखेर मानिसले बोकेर पु¥याउन गरिएका हुलाक सेवाको विकल्प यति धेरै गुणा उपयोगी साधन बन्न सक्ने कल्पना तीत कुरा हो । महिनौँ लगाएर पनि सूचना पु¥याउनै पर्ने विभिन्न प्रयोजनमा टेलिफोनको सुरुवात यान्त्रिक क्रान्तिको सबैभन्दा बलियो अङ्ग हो ।

१९औँ सताब्दीको मध्यतिर एकजना अमेरिकी वैज्ञानिक अलेक्जेण्डर ग्रामवेलले एउटा खेलौनाबाट प्रयोग गर्दै आफ्नो घरको एउटा कोठाबाट अर्को कोठासम्म धागोको माध्यमबाट आफ्नो आवाज पु¥याउने खेल खेल्दै गर्दा त्यसमा आवाजका त्यान्द्रा वा तरङ्गहरु जानसक्ने अनुभव गरेका थिए भनिएको छ । सुरुमा एउटा बन्द कोठामा राखिएको माइक्रोफोनबाट चुम्बकीय माध्यमबाट आवाज बाहिर पठाउन सकिने र त्यस्तै चुम्बक जडित उपकरणबाट आवाज सहितको सन्देश प्राप्त गर्न सकिने यन्त्रको आविष्कार गरेका थिए । जसलाई टेलीग्राम भनेर भनियो । सन् १९२२ मा उनको निधन भएपछि अर्का वैज्ञानिक थोमस एडिसनले यसलाई विशिष्ट प्रकारको उपकरण बनाउने कार्यमा सफलता पाए । त्यसैले टेलिफोन सेवा आज हामी जसरी आफ्नो सन्देश आफूले चाहेको व्यक्तिसम्म पु¥याउन प्रयोगमा ल्याइरहेका छौँ । यसको जन्मदाता अलेक्जेण्डर ग्रामवेल थिए र आजको रुपमा ल्याउन हाम्रो घरको टेलिफोन सेटमा घण्टी बजेर सूचना ल्याएको जानकारी दिने स्तरसम्म विकास गर्ने अर्का वैज्ञानिक थोमस एडिशन थिए ।

विभिन्न समयमा विभिन्न वैज्ञानिकहरुले टेलिफोन जसलाई दूरसञ्चार वा दूरभाषा यन्त्र भनिन्छ, त्यसको नयाँ–नयाँ प्रणालीहरु अनुसन्धान र आविष्कार गर्दै टेलिभिजन, इन्टरनेटजस्ता चामत्कारिक यन्त्रहरुको विकास गरे । आज घर बस–बसी संसारभरिका सबै गतिविधि थाहा पाउन सकिन्छ । प्रत्यक्ष कुराकानी गर्न सकिन्छ । सरकारी आदेश र स्वीकृति लिनु परेमा एउटा बटन थिचेर सेकेण्ड भरमा प्राप्त गर्न सकिन्छ । जुन आज हामी सिक्ने प्रयास गर्दै छौँ । तर संसारका यान्त्रिक अध्ययताहरुले अभूतपूर्व सफलता प्राप्त गरिसके । त्यति मात्र नभई उनीहरु यान्त्रिक उपकरण एउटा स्थायी नोकर बनाइसके र टेलिफोनका अत्याधुनिक उपकरण देखाएर हामीलाई लोभ्याइरहेका छन् । नसकी नसकी भए पनि उनीहरुको पछि लाग्न हामीलाई एक किसिमको वाध्यता बनिसकेको छ ।

आधुनिक वा परम्परागत, सबैका गुण र दोष हुने गर्छन् । आधुनिक सञ्चारका उपकरण वा सूचना तथा सञ्चार प्रणालीका पनि दोषहरु नहुने कुरै भएन । फेरि यन्त्र अर्थात् मानवनिर्मित सबै साधनहरु निर्जीव तत्व हुन् । उनीहरुको सही प्रयोग गर्ने कि नगर्ने ? मानिसकै हातमा निर्भर हुन्छन् । नजानी वा हेल्चेक्र्याई गर्नु मानवको कमजोरी हो र जान्दाजान्दै दुर्घटना हुनु अपवाद हो या नियमित आकस्मिकता हो । जानी–जानी दुरुपयोग गर्ने मानिसकै जन्मजात स्वभाव पनि हो । किनकि मानिस स्वार्थले प्रेरित हुन्छ । सुविधालाई सदुपयोग गरेर भन्दा दुरुपयोग गरेर दुई गुणा फाइदा देख्ने मानिसको विशेषता भएको कारणले दुरुपयोग गरेर दुःख पाउने नियति मानिसले व्यहोरिरहेको कुरा परम्पराजस्तै भइसक्यो । टेलिफोनलाई खल्तीमा हालेर संसार घुम्न सकिने भएपछि दुरुपयोग चौगुणा बढेको छ । पहिले–पहिले टेलिफोन सेट तार सहित हुने भएकाले घरमै मात्र हुन्थ्यो । त्यसबेला दुर्घटना र दुरुपयोग दुवै कम थियो । तर जब टेलिफोन मोवाइल अर्थात् बोकेर हिड्न सकिने भयो त्यसपछि नजिकै बसेर टाढा पुगेको वहाना गर्न र अर्काको नामबाट अज्ञात ठाउँबाट कसैलाई सताउन, तर्साउन वा आपराधिक क्रियाकलाप गर्न मिल्ने भएको दुरुपयोगलाई दोष मान्ने कि नमान्ने ? सामाजिक सञ्जाल त्यस्तै दुरुपयोगीले गर्दा समय–समयमा विवादमा परेर कानुनको कठघरामा पुग्छ । कहिलेकाहीँ कानुनलाई आफ्नो हातमा लिएर अरुलाई डण्डा लगाउने वहाना पनि यसैले दिन्छ । टेलिफोन भन्दा सानो र सीमित हो कि भन्ने पनि लाग्दछ । तर सूचना र सञ्चार (अडियो–भिडियो) सबैको जननी यही नै भएकाले सूचना सम्प्रेषणमा आउने कृति वा विकृति यसका उपज हुन् । संसारका सबै घटनापरिघटनाले ल्याउने चमत्कार वा हाहाकार सबै ग्रहण नगरी सुखै छैन ।

यही प्रविधिले संसारको एउटा कुनामा घटेको घटनाले क्षणभरमा विश्व तरंगित अनि अतिरञ्जित हुन्छ । कोरोना भाइरसको महामारीले कहाँ, कति र कसरी प्रभावित भएका छन् ? भन्नेले भयभित बनाउने योगदान सञ्चारकै हो । आवगमनमा असुविधा हुँदा सभा, सम्मेलन र सम्बोधन समेत दूरदर्शन प्रणालीबाट गर्ने गरिन्छ । त्यस्तै दूरशिक्षा कार्यक्रम यस अघि नै प्रयोगमा ल्याइसकिएको हो । संसारलाई नजिक ल्याई एउटै मालाका थरिथरि थुँगा उनेर एउटै सूत्रमा बाँध्ने प्रविधिको आविष्कार अलेक्जेण्डर ग्रामवेल र थोमस एडिसनले फरक–फरक वर्षमा मे १६ का दिन गरेकाले अंग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष मे १६ लाई टेलिफोन दिवसका रुपमा सम्झना गरिन्छ ।