नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा आजदेखि सदस्यता अध्यावधिक कार्य प्रारम्भ भएको छ । पार्टीको सदस्यतालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने केन्द्रीय नीति अनुरूप देशव्यापी अभियानकै क्रममा यस वडामा पनि काम सुरु गरिएको हो ।
नेपाली कांग्रेस पार्टीका वडा इकाइ सभापति लीलाधर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै कांग्रेसका पूर्व जिल्ला सभापति घनश्याम रेग्मीले पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । उनले पार्टी नेतृत्वले लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्दै सशक्त ढंगले आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सदस्य एवं जिल्ला प्रतिनिधि विपुल पोखरेलले यो अभियानले कार्यकर्ताहरूमा नयाँ उत्साह भर्ने विश्वास व्यक्त गरेका थिए । उनले प्रविधिको प्रयोगमार्फत पार्टीलाई व्यवस्थित बनाउँदा नयाँ पुस्तालाई लोकतन्त्रको संस्थागत विकासमा जोड्न सहज हुने धारणा राखेका थिए ।
।
त्यसैगरी पार्टीका क्षेत्रीय उपसभापति ज्ञानबहादुर केसीलगायतका नेता तथा कार्यकर्ताहरूले पार्टी सुदृढीकरणका विषयमा आ(आफ्नो धारणा राखेका थिए । वडा इकाइ सभापति ओलीका अनुसार आजदेखि सुरु भएको यो सदस्यता अध्यावधिक कार्य यस वडामा महिनाभर चल्नेछ ।