दाङ, २६ वैशाख । कोड फर चेन्ज को संयुक्त आयोजनामा “डिकोडिङ भीसीटीएस : द टेक बिहाइन्ड नेपाल्स सप्लाई चेन” विषयक अन्तरक्रियात्मक सत्र सम्पन्न भएको छ । प्रविधि र आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी ज्ञान युवामाझ विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक प्रकाश बुढाको अध्यक्षमा गुगल मिटमार्फत सञ्चालन गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले प्रविधि, लजिस्टिक्स र राष्ट्रिय विकासबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै युवा पुस्ताले नवप्रवर्तन र डिजिटल प्रविधिको उपयोगमार्फत देश विकासमा योगदान दिन सक्ने बताएका थिए ।
उनले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा तथा आपूर्ति प्रणालीलाई थप पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ आईटी सहायक तथा कोड फर चेन्जका पूर्व प्रोजेक्ट लिड रणबहादुर खड्काले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । उनले डाटा–संचालित ट्र्याकिङ प्रणाली, डिजिटल निगरानी प्रविधि तथा आधुनिक सप्लाई चेन व्यवस्थापन प्रणालीबारे जानकारी गराउँदै ‘भीसीटीएस’ प्रणालीको प्रत्यक्ष प्रयोगात्मक प्रदर्शनसमेत गरेका थिए ।
प्रयोगात्मक डेमोमार्फत सहभागीहरूले आपूर्ति शृङ्खलामा प्रविधिको प्रयोग कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अनुभव हासिल गरेका थिए । कार्यक्रम संयोजक प्रकाश बुढाले सहजीकरण गरेको कार्यक्रममा कोड फर चेन्ज दाङका प्रोजेक्ट लिड जगदिश ओली तथा सुदूरपश्चिम च्याप्टरकी प्रोजेक्ट लिड नेहा जोशीले युवाहरूलाई प्रविधिमैत्री सीप र अनुसन्धानमा जोडिन आग्रह गरेकी थिइन । उनीहरुले आगामी दिनमा पनि यस्ता प्रविधिमूलक सिकाइ तथा क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका थिए ।
कार्यक्रमको समापनमा आयोजक कोड फर चेन्जले प्रमुख अतिथि, प्रशिक्षक तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै युवामाझ प्रविधि र नवप्रवर्तनसम्बन्धी चेतना विस्तार गर्न थप कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।