खानेपानी सेवामा सुधार र दीर्घकालीन योजनाका लागि उम्मेदवारी : सचिव पदका उम्मेदवार श्रेष्ठ [अन्तर्वार्ता]

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । संस्थाको नयाँ नेतृत्व चयनका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् । तीनैमध्ये एक हुन, ध्रुव केसी । केसीको प्यानलबाट सचिव पदमा उम्मेदवार रहेका धर्मेन्द्र श्रेष्ठसँग खानेपानी सेवा, विगतका काम र आगामी योजनाबारे गरिएको कुराकानीको सारसंक्षेप ः

तपाईं पुनः सचिव पदमा किन जिताउनुपर्ने ?

खानेपानी सेवा प्रत्यक्ष रूपमा नागरिकको दैनिक जीवनसँग जोडिएको विषय हो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दुई कार्यकाल सदस्य र एक कार्यकाल सचिवको पदमा रहँदा धेरै काम गरेको अनुभव हासिल गरेको छु । हामीले बबई लिफ्टिङ खानेपानी आयोजनालाई पूर्णता दिदै घोराहीमा बर्षेनी देखिने खानेपानीको समस्याको अन्त्य गरेका छौ ।

बबई लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरेसँगै घोराहीमा तत्काल लागि खानेपानीको समस्या अन्त्य भएको छ । तर यो पनि पनि २५ देखि ३० बर्षसम्मका लागि करिव १२ हजार घरधुरीका लागि मात्र हो । त्यो भन्दा पनि के गर्ने,त्यसका लागि अहिलेदेखि नै काम गर्नुपर्ने छ ? त्यहीका लागि कटुवाखोलामा मिनी हाइड्यामदेखि पानी संकलनका लागि सम्वेल निर्माण र रोल्पाको रुन्टीगढीबाट पाइपलाइनका माध्यमबाट घोराहीमा पानी ल्याउने योजना अघि सारेका छौ । रुन्टीगढीबाट पाइपलाइनका माध्यमबाट पानी घोराही ल्याउन सक्ने हो भने आर्थिक रुपमा संस्थालाई भारकमसँगै उपभोक्तालाई पनि शुल्क म लाग्ने छ ।

त्योसँगै अटो मेसिन प्रणाली लागु गरेर खानेपानीको कुन ठाउँमा के समस्या भयो भनेर पहिचानसँगै संस्थालाई प्रविधिमैत्री बनाउनुपर्ने छ । यो योजना साधारणसभाबाटै अघि सारेर पास भइरहेका छ, त्यसलाई कार्यान्वयनसँगै अहिलेलाई घोराहीमा खानेपानीको समस्या समाधान भएपनि निकट भविष्यमा पर्न सक्ने समस्या समाधानका लागि त्यसका लागि पनि मलाई निर्वाचनमा भोट गरेर जिताउनुहोस भन्न चाहान्छु ।

तपाईंले आफ्नो कार्यकालमा गरेका मुख्य काम के–के हुन् ?

हामीले बबई लिफ्टिङ खानेपानी आयोजनालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका छौँ । त्यससँगै पानीको चुहावट नियन्त्रण, मिटर व्यवस्थापन सुधार, कार्यालयलाई डिजिटल प्रणालीतर्फ लैजाने प्रयास तथा उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्ने काम गरेका छौँ । त्यस्तै नयाँ बोरिङ, ट्यांकी निर्माण र पाइपलाइन विस्तारले पनि खानेपानी सेवाको पहुँच बढाएको छ । त्यसका साथै घोराहीमा सडक विस्तार तथा कालोपत्रे गर्दा बर्सेनी पाइप काटिने समस्या थियो, लगभव अव सडक विस्तारका क्रममा खानेपानीका पाइप नकाटिने गरि व्यवस्थापन गरेका छौ ।

तपाईंका आगामी प्राथमिकता के–के छन् ?

गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउने, डिजिटल सेवा प्रणाली विस्तार गर्ने, उपभोक्ताले घरमै बसेर सेवा लिन सक्ने व्यवस्था गर्ने तथा आकस्मिक समस्या समाधानका लागि द्रुत प्रतिक्रिया टोली गठन गर्ने योजना छ । साथै आगामी दिनमा घोराहीमा खानेपानीको समस्या नहुने गरि कटुवाखोलामा मिनी हाइड्यामदेखि पानी संकलनका लागि सम्वेल निर्माण र रोल्पाको रुन्टीगढीबाट पाइपलाइनका माध्यमबाट घोराहीमा पानी ल्याउने योजना अघि सारेका छौ ।

संस्थामा सेवा सुधारका लागि के गर्नुहुन्छ ?

संस्थालाई प्रविधिमैत्री बनाउने, आर्थिक तथा प्रशासनिक कामलाई थप पारदर्शी बनाउने र उपभोक्ताको गुनासोलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता छ । सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउनु नै हाम्रो लक्ष्य हो । मैले अघिपनि भनेको छु, संस्थालाई प्रविधिमैत्री बनाउँदै लग्नुपर्ने आवश्यकता छ । त्यसैगरी संस्थामा अटो मेसिन प्रणाली जडान गरेर खानेपानीका क्षेत्रमा हुने समाधान जतिसक्यो चाडै पहिचान र समाधान गर्ने योजना रहेको छ ।

निर्वाचनमा उपभोक्तासँग तपाईंको  अपिल के छ ?

मैले संस्थामा रहेर काम गरेको अनुभव र सेवाप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गरिदिन आग्रह गर्दछु । खानेपानी सेवा सुधार र दीर्घकालीन समाधानका लागि मैले सुरु गरेका योजनालाई निरन्तरता दिन उपभोक्ताको साथ आवश्यक छ,त्यही कारण निर्वाचनमा मतदान गरि बिजयी गराउन अनुरोध गर्दछु ।