‘दाङमै परीक्षण हुँदा सहज’

 

दाङ, ३ बैशाख । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको समयमा जिल्लामै कोरोना संक्रमितहरुको स्वास्थ्य परीक्षण हुने भएकाले सहज भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङसहित छिमेकी जिल्लाहरुमा कोरोनाको संक्रमण देखिएको समयमा जिल्लामै पिसिआर परीक्षण हुने भएकाले जिल्लावासीलाई सहज भएको कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

जिल्लामै परीक्षण हुँदा खर्चसँगै जोखिम समेत कम भएको उनले बताए । ‘जिल्लामा कोरोना संक्रमणको परीक्षण नहँुदा विरामीको स्वाब बुटवल वा नेपालगञ्ज पठाउनुपर्ने बाध्यता रहेको थियो’–कोरोना विशेष अस्पताल बेलझुण्डीका फोकल पर्सन समेत रहेका चन्दले भने–‘जिल्लामै पिसिआर परीक्षण हुँदा खर्चसँगै जोखिम समेत घटेको छ ।’ उनका अनुसार जिल्ला बाहिर विरामीको स्वाब पठाउँदा खर्च धेरै लाग्ने गरेको थियो तर अहिले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण हुँदा खर्च बचत भएको उनले बताए ।

कोरोना संक्रमितहरुको स्वाब जिल्लामै परीक्षण हुने भएकाले अहिले भारतबाट आएका व्यक्तिहरुको परीक्षणमा समेत सहज भएको उनले बताए । ‘जिल्लामै परीक्षण हुन थालेपछि विरामीसँगै भारतबाट आएका व्यक्तिको समेत परीक्षण गर्न सहज भएको छ’–उनले भने । खर्चमा कमीसँगै परीक्षणमा सहजता आए पनि सूचना प्रवाहमा केही समस्या भएको बताए । ‘बेलझुण्डी कोरोना विशेष अस्पतालबाट बाहिर विरामी पठाउँदा उता परीक्षण भएपछि चाँडै रिपोर्ट आउने गरेको थियो’–चन्दले भने–‘तर जिल्लामै परीक्षण हुँदा पनि प्रतिष्ठानबाट परीक्षण भएको रिपार्ट आउन ढिलाई हुने गरेको छ ।’

कोरोना विशेष अस्पतालमा १३ जना संक्रमित

तुलसीपुर उपमहानगरपालिका–१७ को बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार हुन सुरु भएको छ । कोरोना विशेष अस्पतालमा दाङका २ जना, बाँकेका ८ जना र कपिलवस्तुका ३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको फोकल पर्सन चन्दले जानकारी दिएका छन् ।