तुलसीपुरका कोरोना संक्रमित भनिएका व्यक्तिको पहिचान

दाङ,३ जेठ । तुलसीपुर उपमहागनरपालिका– ४ निवासी ४६ बर्षका एक व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । गत चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई कोरोना पुष्टि भएपछि अहिले पाटन हस्पिटलमा उपचाररत छन् ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अुनसार पोजिटिभ भनेको व्यक्ति तुलसीपुर– ४ का हुन । उनी केही समय पहिले बिरामी कुरुवाको रुपमा काठमाडौ गएका थिए । स्वास्थ्य मन्त्रालयबाट सहि सूचना प्राप्त नहुदा स्थानीय सरकारलाई ट्रेसिङ्गको काममा कठिनाई भएको भन्दै नगर प्रमुख पाण्डेले यसतर्फ स्वास्थ्य मन्त्रालय र सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह समेत गरेका छन् ।

शुक्रबार साँझ करिब ८.१५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ताले विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएको भन्ने विज्ञप्ती सम्प्रेषण गरेका थिए । सुरक्षित मानिएको दाङ जिल्लामा पनि ३ जना कोरोना संक्रमित देखिएको उक्त विज्ञप्तीमा उल्लेख गरियो ।

विज्ञप्तीमा दाङको गढवा ४ र ५ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का एक व्यक्तिमा पनि कोरोना संक्रमित भएको उल्लेख थियो । त्यो सँगै तुलसीपुरमा त्रास फैलिएको थियो । त्यो विचमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेको फेसवुक वालमा तुलसीपुर उपमहानगर पालिका– ७ का कोरोना देखिएका भनिएका ब्यक्ति काठमाडौको एक हस्पिटलमा कार्यरत र काठमाडौ मै भएको जानकरी गराएका थिए । तर संक्रमित भनिएका व्यक्तिले आफु संक्रमित नभएको भनी शनिवार विहान फोनमा जानकारी दिएपछि तुलसीपुरका संक्रमित ३४ बर्षीय व्यक्ति को हुन ? भनेर फेरी दिनभर खोज्ने काम भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष टोपबहादुर केसीले संक्रमित भनिएका व्यक्तिसंग फोनमा विहान कुरा भएको उनको स्वास्थ्य परिक्षणमा कोरोना नेगेटिभ देखिएको वताएका थिए । जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु विभिन्न स्थानमा खोजीमा दिन भर हिडेका थिए । तुलसीपुरका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले यसअघि संक्रमित भनिएका व्यक्तिले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको तथा आफु कोरोना संक्रमित नभएको भन्ने जानकारी दिएको हुँदा संक्रमित व्यक्तिको खोजी दिनभर गरेको बताए । ‘गलत सुचनाले धेरै दुख दिने काम भयो’ उनले भने ‘ अहिले पहिचान भैसकेको छ ।’

मन्त्रालयले शुक्रवार जारी गरेको संक्रमित भनिएका व्यक्तिले काम गर्ने शिक्षण अस्पतालले पनि शनिवार विज्ञप्ती प्रकाशित गरि अस्पतालमा कुनैपनि व्यक्ति कोरोना संक्रमित नभएको जानकारी दिएको छ । कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले विज्ञप्ती प्रकाशित गरि सो जानकारी दिएका हुन् ।