गोरक्ष समाचारदाता
दाङ, २४ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सानुनारायण अधिकारी नेतृत्वको प्यानलले ध्रुव केसीको प्यानललाई सहयोग गर्ने भएको छ । बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी घोराहीमा खानेपानीको दीर्घकालीन रूपमा समस्या समधानका लागि योजना निर्माणसँगै निर्माणाधिन अवस्थामा रहेका योजना पूरा गर्नका लागि यही वैशाख २६ गते हुने निर्वाचनमा ध्रुुव केसी नेतृत्वको प्यानललाई समर्थन गरेको अधिकारीले बताए । उनले केसी नेतृत्वको प्यानललाई समर्थनसँगै आफ्नो समूह निर्वाचनबाट पछि हटेको बताए ।
‘अहिलेको परिवर्तित सन्दर्भमा दलगत प्यानल बनाएर निर्वाचन लड्नुभन्दा खानेपानीको क्षेत्रमा लामोसमयदेखि काम गर्दै आउनुभएका ध्रुुव केसी–धर्मेन्द्र श्रेष्ठ अव्वल हुनुहुन्छ । खानेपानीका लागि नयाँ योजना ल्याउनेदेखि समस्या पर्दा उपभोक्ताको घरसम्म पुग्नुभएको छ’,पत्रकार सम्मेलनमा अध्यक्ष उम्मेदवार अधिकारीले भने,‘उपभोक्तालाई खानेपानीको सहज उपलब्धतासँगै सरसफाईलगायतका योजना अघि बढाउन सक्ने सक्षम उम्मेदवार केसी भएकाले हाम्रो टिमले समर्थन गरेको हो ।’ पत्रकार सम्मेलनमा ध्रव केसीले सानुनारायण अधिकारीको नेतृत्वमा रहेको प्यानलको समर्थनसँगै आफ्नो टिमलाई बलियो बनाएको बताए ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा तत्कालीन स्वर्गीय अध्यक्ष देविबहादुर डिसीको नेतृत्वमा रहेर खानेपानीको समस्या समाधानका लागि काम गरेको र आगामी दिनमा हुन सक्ने पानीको सङ्कट समाधानका लागि कटुवाखोला हाईड्याम निर्माणदेखि सरसफाईलगायतका काम गर्ने बताए । ‘घोराहीमा खानेपानीको सङ्कटको समयदेखि अहिले बबई लिफ्ङि आयोजना पूरा गरेर खानेपानीको समस्या नहुँदासम्म संस्थाको विभिन्न पदमा बसेर काम गरेकाले अहिले नेतृत्वको दौडमा रहेको छु’,अध्यक्षका उम्मेदवार केसीले भने,‘खानेपानीका क्षेत्रमा गरेको कामलाई मूल्याङ्कन गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
पत्रकार सम्मेलनमा खानेपानी जस्तो सामाजिक संस्थामा राजनीतिभन्दा पनि काम गर्ने योग्य र सक्षम व्यक्तिलाई पु¥याउनका लागि धु्रव केसी नेतृत्वको प्यानललाई अघि सारेको नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी र नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले बताएका छन् । विचारमा फरक–फरक भए पनि खानेपानी संस्थामा लामो समयदेखि आवद्ध भएर काम गरेको अनुभव सङ्गालेका र आगामी दिनमा पनि खानेपानी समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन सक्ने सक्षम उम्मेदवार केसी भएकाले साँझा उम्मेदवारका रूपमा अघि सारेको बताएका थिए । पत्रकार सम्मेलनको सहजीकरण धर्मेन्द्र श्रेष्ठले गरेका थिए ।
पार्टी नीति विपरित जानेलाई कारबाही
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि वैशाख २६ गते हुने निर्वाचनमा पार्टीको आधिकारिक निर्णय विपरित उम्मेदवारी दिने नेता तथा कार्यकर्तामाथि नेपाली कांग्रेसले कारबाही गरेको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीले समर्थन गरेको ध्रुव केसी नेतृत्वको प्यानलविरुद्ध उम्मेदवारी दिएका नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । क्षेत्रीय समितिका अनुसार नेपाल ट्रेड युनियन कांग्रेस दाङका पूर्वअध्यक्ष किशोर आचार्य, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ की क्षेत्रीय सदस्य खुमा खड्का, प्रदेश प्रतिनिधि यशोदा पाण्डे, क्रियाशील सदस्य सुमन शर्मा र सुरेश केसीलगायतलाई कारबाही गरिएको छ ।
यसैगरी, बैठकले केसी नेतृत्वको प्यानलविरुद्ध उम्मेदवारी दिने उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्ने निर्णय गरेको सभापति खड्काले जानकारी दिए । सम्बन्धित वडा सभापति, प्रदेश सभापति, क्षेत्रीय पदाधिकारी तथा जिल्ला उपसभापतिलगायतको उपस्थितिमा बसेको बैठकले पार्टी नीति विपरित गतिविधिमा संलग्न सबैलाई कारबाही गर्ने निर्णय गर्दै आम उपभोक्तालाई ध्रुव केसी नेतृत्वको प्यानललाई मत दिन आग्रह गरेको छ ।
सभापति खड्काका अनुसार घोराहीमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्न संस्थामा लामो समयदेखि सक्रिय रहँदै आएका, चालु आयोजना सञ्चालनमा ल्याउन भूमिका खेलेका तथा दिगोपनाका लागि काम गर्न सक्ने टोली भएकाले उक्त प्यानललाई समर्थन गरिएको हो । कांग्रेस क्षेत्रीय समितिले सम्बन्धित सबै पदाधिकारी तथा सदस्यलाई केसी नेतृत्वको समूहलाई मतदान गरी विजयी गराउन आग्रह गरेको छ ।