हावाहुरीका कारण केराका बोट ढल्दा, करिव तीन लाख बराबरको क्षति

दाङ, २४ बैशाख । दाङमा हावाहुरीका कारण केराका बोट ढल्दा व्यवसायीक केरा खेतीमा पुगेको छ । यहि बैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यवसायिक रुपमा केरा खेती गर्नुभएका हुमबहादुर केसीले लगाएको ४ विगाहमध्ये २ बिगाह जमिनमा रोपेका केरा बोट ढलेर नष्ट भएका छन् ।

केरा फलेर बिक्रीका लागि तयार हँुदै गरेका र भर्खरै पसाउन थालेका चार सय १३ बोट हावाहुरीका कारण ढलेर क्षति भएको किसान केसीले बताउनुभएको छ । उहाँका अनुसार दुई विगाह जग्गामा तयार हुँदै गरेका चार सय १३ बोट ढलेर क्षति हुँदा करिव दुई लाख ८५ हजार पाँच सय रुपियाँ बराबरको क्षतिभएको छ ।

एनिमल सनसाइन बहुउद्देश्य कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर हापुर रतनपुरमा रहेको माध्यामिक बिद्यालय हापुरको दश बिगाहा जग्गा भाडामा लिएर विगत पाँच बर्षदेखि केरा खेती गर्दै आउनुभएका केसीले भन्नुभयो,‘‘सानो बोट भएको केरामा खासै असर भएको छैन तर ठुलो र पसाउने तयारीमा रहेका धेरै बोट हावाहुरीका कारण ढलेका छन् ।’’ सानो विरुवा भएको ठाउँमा आंशिक रुपमा क्षति भएपनि ठुलो विरुवा भएको ठाउँमा पूर्ण रुपमा क्षति भएको बताउनुभयो ।

जग्गा भाडामा लिएर व्यवसायीक केरा खेती गर्नुभएका प्यूठान ऐरावती गाउँपालिका–२ निवसी केसीले बार्षिक ७० हजार रुपियाँ विद्यालयलाई तिर्ने गरेको बताउनुहुन्छ । भाडामा लिएको दश विगाह जग्गामध्ये अहिले चार विगाहमा केरा खेती गरेको र बाँकी जग्गामा सिजनअनुसार मकै, तोरी, मसुरोलगायतको खेती गर्ने गरेको बताउनुहुन्छ ।

फर्ममा उत्पादन भएका केरा गाउँघरसँगै घोराही बजारमा बिक्री गर्दै आएको र मासिक ४०÷५० हजार रुपियाँ बचत गर्ने गरेको बताउनुहुन्छ । व्यवसायीक केराखेतीसँगै कुखुरापालन गर्नुभएका केसीले स्थानीय चार जनालाई रोजगारी समेत दिनुभएको छ ।