‘लाली बजार’ चलचित्र प्रदर्शन रोक्न माग

गोरक्ष समाचारदाता
दाङ, २२ वैशाख । बादी समुदायको मान, सम्मान र पहिचानमा आँच पुग्ने सामग्री समावेश गरिएको भन्दै ‘लाली बजार’ नामक चलचित्रको प्रदर्शन रोक्न माग गरिएको छ । बादी समुदायका प्रतिनिधिहरूले जारी गरेको प्रेस विज्ञप्तिमा चलचित्रले समुदायलाई अपमानित गर्ने, गलत ढङ्गले चित्रण गर्ने तथा सामाजिक प्रतिष्ठामा असर पार्ने दृश्य र संवादहरू समावेश गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा नेपाली समाजमा लामो समयदेखि बादी समुदायले भोग्दै आएको विभेद, अन्याय र शोषणलाई सम्बोधन गर्नुको सट्टा चलचित्रले पुनः नकारात्मक छवि प्रस्तुत गरेको छ । चलचित्रका नाममा समुदायको पहिचान, इज्जत र संस्कृतिमा आघात पु¥याउने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाइएको छ ।

यस अघि पनि बादी समुदायविरुद्ध अपमानजनक शब्द प्रयोग तथा चरित्र हत्या हुने सामग्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई त्यस्ता गतिविधि नगर्न आदेश जारी भइसकेको स्मरण गराइएको छ । सो आदेशको बेवास्ता गर्दै लाली बजार चलचित्र निर्माण गरिएको आरोपसमेत लगाइएको छ ।

विज्ञप्तिमा तल हस्ताक्षर गर्नेहरूमा समुदायका विभिन्न व्यक्तिहरूको समर्थन रहेको जनाइएको छ । हस्तलिखित सूची अनुसार समर्थन जनाउनेमाः कल्ती बादी, सितारा बादी, आशा बादी, चाँदनी बादी, गीता बादी, शान्ता बादी, सरस्वती बादी, मुक्ति बादी, खुसी बादी र रोशनी बादीलगायतका रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासने लाली बजार चलचित्रले बादी समुदायको जातीय अस्तित्व र अस्मितामाथि गम्भीर आँच पु¥याएको बताउँदै यस्ता सामग्रीप्रति जिम्मेवार निकायले तत्काल ध्यान दिनु पर्ने बताए । बादी समुदायले चलचित्रमममा प्रयोग भएका आपत्तिजनक दृश्य, शब्द र प्रस्तुति हटाइ प्रदर्शन रोक्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै समाजको हित, मर्यादा र सम्मान कायम राख्न आवश्यक कदम चालिने विश्वास व्यक्त गरिएको छ ।