गोरक्ष समाचारदाता
दाङ,२१ वैशाख । घोराहीमा हिन्दू स्वयंसेवक संघ नेपाल दाङको स्थायी कार्यालय भवन निर्माणको काम सुरु भएको छ । सोमवार विशेष समारोहकाबीच घोराही उपमहानगरपालिका–१४ स्थीत रव्वे टोलमा भवनको विधिवत् शिलान्यास गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा सनातनी धर्म रक्षा अभियानका अगुवा एवं हिन्दू स्वयसेवक संघका लुम्बिनी प्रदेश संघचालक किशोरचन्द्र गौतमले दान दिएको जमिनमा संघको कार्यालय भवन निर्माण हुन लागेको हो । धार्मिक विधिअनुसार पूजाआजा गरी गरिएको शिलान्यास समारोहमा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिमिल्सिनाले शिलान्यास गरेका हुन ।
प्रमुख अतिथि तिमिल्सिनाले धर्मका माध्यमबाट मानव कल्याण र विश्व शान्तिका लागि योगदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले नवनिर्मित भवनबाट कार्यालय सञ्चालनका साथै सामूहिक सत्संगका माध्यमबाट समाजमा असल संस्कृतिको जागरण ल्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । यस्तै, जग्गादाता एवं अभियन्ता किशोरचन्द्र गौतमले सामाजिक योगदानको लक्ष्यका साथ संघले काम गरिरहेको चर्चा गर्दै मानव कल्याणका लागि अनुशासित समाज र सुमधुर सम्बन्ध निर्माण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
संघका जिल्ला सह–सञ्चालक पुरुषोत्तम भण्डारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको सहजीकरण बासुदेव गौतमले गरेका थिए । स्थानीयस्तरमा संघको आफ्नै भवन बनेपछि आफ्ना गतिविधिहरू सञ्चालन गर्न थप सहज हुने विश्वास लिइएको छ । कार्यक्रमको सहजीकरण बासुदेव गौतमले गरेका थिए ।