देशभित्रै भएका सम्भावनाको सदुपयोग गर्नुपर्छ : मन्त्री ढकाल

गोरक्ष समचारदाता
दाङ, २१ वैशाख । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले युवाहरूले देशमै अवसरको खोजी गर्नु पर्ने बताएका छन् । देशमा धेरै सम्भावना भएको भन्दै यसको सदुपयोग गर्न उनले आग्रह गरे ।

नेपाल जेसीजको आयोजनामा तथा त्रिभुवननगर जेसीजको आतिथ्यतामा ‘जेसीज नेपाल बिजनेस एकेडेमी २०२६’ तालिम समापन कार्यक्रममा उनले देशभित्रै भएका सम्भावनाको सदुपयोग गर्नु आवश्यक रहेको बताएका हुन् ।

देशमा सम्भावना नदेखेर बिदेसिने क्रम बढेको भन्दै यसतर्फ सामाजिक संघसंस्थाले भूमिका खेल्नु पर्ने उनको भनाइ छ । ‘बिदेसिने मोहलाई सबै मिलेर रोक्नुपर्छ’, मन्त्री ढकालले भने । युवाको नेतृत्व गर्ने संस्था जेसीजले युवालाई प्रेरित गर्न सक्नु पर्ने बताए ।

‘विदेशमा सिकेका सिप स्वदेशमै सदुपयोग गरेर देशको विकास गर्न सकिन्छ’, मन्त्री ढकालले भने । देशमा चुनौतीका बिच पनि अवसर भएकाले यसको सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीले व्यवसायीको आवश्यकता पहिचान गरी तालिम आयोजना गरिएको बताए ।

यसले सहभागीलाई व्यवसाय प्रवर्धन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा प्राडा.सन्देशराज श्रेष्ठले भविष्यका सम्भावना पहिचान गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे । ‘अवसर आफैँले खोज्नुपर्छ र त्यसको सही सदुपयोग गर्नुपर्छ’, उनले भने । कार्यक्रममा नेपाल जेसीजका नवराज उपाध्याय, त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटलगायतले भनाइ राखेका थिए ।

समापन कार्यक्रम नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल जेसीजका महासचिव अमर घिमिरेले गरेका थिए । जेसीजले व्यवसाय गरिरहेका तथा व्यवसाय विस्तारको तयारीमा रहेका युवालाई लक्षित गर्दै आयोजना गरिएको तालिमले व्यवसाय प्रवर्धनमा व्यावहारिक सहयोग पु¥याउने विश्वास आयोजकले लिएका छन् । तालिममा देशका विभिन्न जेसीज संस्थाका युवा व्यवसायीको सहभागिता रहेको तालिमले अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरेको आयोजकको भनाइ छ ।

चार दिनसम्म चलेको तालिममा व्यवसाय व्यवस्थापन, नेतृत्व विकास, बजार विस्तार, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी विभिन्न सत्रहरू समावेश गरिएको थियो । आयोजकका अनुसार तालिमले युवा व्यवसायीलाई व्यावहारिक ज्ञान प्रदान गर्दै प्रतिस्पर्धी बजारमा टिक्न सक्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । सहभागीबिच नेटवर्किङको अवसर सिर्जना गर्दै दीर्घकालीन सहकार्यको वातावरण बनेको आयोजकको अपेक्षा छ ।