अमरराज आचार्य
दाङ, २१ वैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८२÷०८३ को नौ अवधिमा उद्योग तथा व्यवसायमा करिब १० हजारले रोजगार प्राप्त गरेका छन् । यस अवधिमा प्रदेशका १२ जिल्लामा नौ हजार आठ सय ६४ जनाले रोजगार प्राप्त गरेका छन् । जसमा पुरुष छ हजार दुई सय दुई जना र महिला तीन हजार छ सय ६२ जनाले रोजगार प्राप्त गरेका छन् । उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा थपिएका उद्योग तथा व्यापारमा क्षेत्रमा यो सङ्ख्यामा रोजगार प्राप्त गरेका हुन् ।
मन्त्रालयका अनुसार रुपन्देहीमा एक हजार नौ सय ५५ जना पुरुष र सात सय ७१ जना महिलाले रोजगार प्राप्त गरेका छन् । बाँकेमा एक हजार ९० जना पुरुष र सात सय २५ जना महिलाले रोजगार प्राप्त गरेका छन् । नवलपरासी पश्चिममा छ सय १४ जना पुरुष र तीन सय २६ जना महिलाले रोजगारी प्राप्त गरेका छन् । कपिलवस्तुमा सात सय १६ जना पुरुष र छ सय ६९ महिलाले रोजगारी प्राप्त गरेका छन् । दाङमा नौ सय २६ जना पुरुष र छ सय ५० जना महिलाले रोजगार प्राप्त गरेका छन् ।
यसैगरी बर्दियामा दुई सय ३१ जना पुरुष र एक सय ४७ जना महिलाले रोजगारी प्राप्त गरेका छन् । पाल्पामा एक सय ४९ जना पुरुष र ९१ जना महिलाले रोजगार प्राप्त गरेका छन् । गुल्मीमा एक सय २३ जना पुरुष र ६९ जना महिलाले रोजगार प्राप्त गरेका छन् । अर्घाखाँचीमा दुई सय ४० जना पुरुष र एक सय एक जना महिलाले रोजगार प्राप्त गरेका छन् ।
प्युठानमा ७० जना पुरुष र ३९ जना महिलाले रोजगार प्राप्त गरेका छन् । रोेल्पामा ३७ जना पुरुष र ३७ जना महिलाले रोजगारी प्राप्त गरेका छन् । रुकुम पूर्वमा ५८ जना पुरुष र ३७ जना महिलाले रोजगारी प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
तीन हजार २१ जना उद्यमी थप
लुम्बिनी प्रदेशका १२ जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा उद्यम तथा व्यवसायमा गरी तीन हजार २१ जना उद्यमी थपिएका छन् । जसमा पुरुष एक हजार नौ सय १० जना र महिला एक हजार एक सय ११ जना उद्यमी थपिएका हुन् ।
मन्त्रालयका अनुसार रुपन्देहीमा पाँच सय ८६ जना पुरुष र तीन सय ३५ जना महिला उद्यमी थपिएका छन् । बाँकेमा तीन सय २१ जना पुरुष र एक सय ८८ जना महिला उद्यमी थपिएका छन् । नवलपरासी पश्चिममा एक सय ५५ पुरुष र एक सय ११ महिला उद्यमी थपिएका छन् । कपिलवस्तुमा दुई सय २५ जना पुरुष र एक सय २६ जना महिला उद्यमी थपिएका छन् ।
यसैगरी दाङमा दुई सय ८८ जना पुरुष र एक सय ८७ जना महिला उद्यमी थपिएका छन् । बर्दियामा ९९ जना पुरुष र ५७ जना महिला उद्यमी थपिएका छन् । यसैगरी पाल्पामा ४५ जना पुरुष र २८ जना महिला उद्यमी थपिएका छन् । गुल्मीमा २९ पुरुष र १४ महिला उद्यमी थपिएका छन् ।
अर्घाखाँचीमा ५६ जना पुरुष र १२ महिला उद्यमी थपिएका छन् । प्युठानमा ५४ जना पुरुष र २७ जना महिला उद्यमी थपिएका छन् । यसैगरी रोल्पामा २५ जना पुरुष र १२ जना महिला उद्यमी थपिएका छन् भने रुकुम पश्चिममा २७ जना पुरुष र १४ महिला उद्यमी थपिएका छन् ।
लुम्बिनी प्रदेशमा नयाँ उद्योग व्यवसाय थपिने क्रम बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनामा पाँच हजार चार सय छ वटा नयाँ उद्योग व्यवसाय थपिएका हुन् । उद्योगतर्फ दुई हजार पाँच सय छ वटा र वाणिज्य फर्मतर्फ दुई हजार नौ सय उद्योग थपिएका छन् ।
गत वर्षसम्म खुल्नेभन्दा बन्द हुने उद्योग बढी थिए । प्रदेशमा नयाँ उद्योग व्यवसायमा आकर्षण बढेका कारण उद्योग थपिने क्रम बढेको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ । प्रदेशका १२ वटै जिल्लाको आँकडामा नयाँ उद्यमी थपिएका छन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई हजार ६९ वटा उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन् । जसमा नौ सय ९५ वटा उद्योग र एक हजार ९४ वटा वाणिज्य फर्म बन्द भएका हुन्््््््््््् । उद्योग व्यवसायको नवीकरणतर्फ उद्योगभन्दा वाणिज्यका बढी छन् ।