बाटोका ढुङ्गाहरू पन्छाउने कि हिड्न सिकाउने ?, बाल–मनोविज्ञानको एक नयाँ बहस

किरण थापा

केही दिनअघि एउटा विद्यालयमा भेटिएकी एकजना आमाले भनिन्, मेरो छोराले परीक्षामा राम्रो नम्बर ल्याउन सकेन भनेर दिनभरि रोयो । मैले उसलाई सम्झाउने कोशिस गरेँ, तर केही काम लागेन । अनि मैले नै उसको लागि शिक्षकसँग गएर कुरा गरिदिएँ ।

उनले यो कुरा गर्दा अनुहारमा सन्तुष्टि थियो, आफूले सही काम गरेको भावना थियो । तर, मनोविज्ञानको दृष्टिकोणले हेर्दा, उनले आफ्नो छोराका लागि बाटोको एउटा ढुङ्गा पन्छाइदिएकी थिइन् र छोराले त्यो ढुङ्गा आफैँ उठाउन सिक्ने मौका त्यही क्षण गुमाएको थियो ।

यो एउटा घरको कुरा मात्र होइन । हाम्रो समाजमा यस्ता दृश्यहरु हरेक दिन, हरेक घरमा, हरेक विद्यालयमा दोहोरिइरहेका छन् । बालबालिकालाई माया गर्नु राम्रो हो, तर त्यो मायाको तरिकाले नै उनीहरुको भविष्य निर्धारण हुन्छ । हामीले जुन बच्चालाई हरेक पटक बचाउँछौँ, त्यो बच्चा अर्को पटक झनै कमजोर भएर आउँछ, किनभने उसले आफ्नो शक्ति चिन्ने मौका कहिल्यै पाएको हुँदैन ।

आजका बालबालिका केवल भौतिक सुविधाका भोका छैनन्, उनीहरु आफ्नो आत्मसम्मान, व्यक्तिगत सीमा र स्वनिर्णयको बारेमा निकै सचेत छन् । उनीहरु चाहन्छन् कि परिवार र विद्यालयले उनीहरुका भावना र चाहनाको महत्त्व दिओ्स । तर, वास्तविकता भने फरक छ ।

नेपालका ६० प्रतिशतभन्दा बढी बालबालिका अझै पनि घर वा विद्यालयमा कुनै न कुनै रुपको शारीरिक वा मानसिक दबाबको सिकार भइरहेका छन् । यस्तो वातावरणले उनीहरुको स्वतन्त्र रुपमा सोच्ने र आफैँ निर्णय गर्ने क्षमतामा गम्भीर असर पारिरहेको छ ।

हाम्रो समाजले आधुनिक बालमनोविज्ञानको कुरा गर्न त थालेको छ, तर व्यवहारमा भने बालबालिकालाई पूर्ण नियन्त्रणमा राख्ने पुरानो सोच अझै हावी नै छ । यसको नतिजा के हुन्छ भने, बालबालिकाको व्यक्तित्व विकासका लागि चाहिने मौका र वातावरण हामी बुझ्दै नबुझी खोजिरहेका हुन्छौँ ।

प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक डा. मेरी अल्भर्डले बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा एउटा महङ्खवपूर्ण कुरा भन्नुभएको छ, ‘रेजिलिएन्स’ अर्थात् मानसिक दृढता कुनै जन्मजात उपहार होइन, यो एउटा सिक्न सकिने सीप हो ।

बालमनोविज्ञानमा एउटा साझा भ्रम छ कि मानसिक दृढता केही विशेष बालबालिकामा मात्र हुन्छ । तर डा. अल्भर्डको भनाइ छ, जसरी एउटा बच्चाले निरन्तर अभ्यासबाट साइकल चलाउन सिक्छ, त्यसरी नै प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमता पनि अनुभव र अभ्यासबाट विकास गर्न सकिन्छ ।

आजको ‘तुरुन्तै नतिजा खोज्ने’ युगमा बच्चाहरु कुनै पनि चुनौती आउँदा छिट्टै हार मान्छन्, निराश हुन्छन् । यस्तो बेलामा उनीहरुका लागि समस्या हटाइदिनु होइन, समस्यासँग जुध्न सक्ने बनाउनु हो । यही डा. अल्भर्डको मुख्य विचार हो र यसैका आधारमा उहाँले पाँचवटा ठोस आधारस्तम्भ तय गर्नुभएको छ ।

पहिलो आधार : सानो कदमको ठूलो ताकत

कुनै बच्चाले गृहकार्य गर्न नसक्दा ‘म कहिल्यै सक्दिनँ’ भन्छ । यस्तो बेलामा धेरैजसो अभिभावक ‘तिमीले सक्छौ’ भनेर उत्साहित गराउने कोशिस गर्छन् । तर डा. अल्भर्ड भन्नुहुन्छ, यो पर्याप्त छैन । उहाँको ‘एक्सन माइन्डसेट’ को अवधारणा भनेको बच्चालाई सोध्नु, ‘अहिले तुरुन्तै गर्न सकिने एउटा सानो काम के हो ?’

यो एउटा साधारण प्रश्नले बच्चाको दिमागलाई निराशाबाट निकालेर सम्भावनातर्फ मोड्छ । जब बच्चाले एउटा सानो कदम चाल्छ र त्यसमा सफल हुन्छ, उसको मनमा ‘म पनि गर्न सक्छु’ भन्ने विश्वास जागृत हुन्छ । यही साना सफलताको जगमा नै ठूलो आत्मविश्वास बन्छ । बच्चालाई पहाड देखाउनुभन्दा पहिलो पाइला चाल्न सिकाउनु, यही गर्ने मानसिकताको सार हो ।

दोस्रो आधार : भावनालाई नाम दिनु

नरो, केही भएको छैन, यो वाक्य हामीले बालबालिकालाई कति पटक भनेका छौँ ? तर मनोविज्ञानको दृष्टिमा, यो बच्चाको भावनालाई बेवास्ता गर्नु हो । बच्चाका भावनाहरु साँचो हुन्छन् र ती भावनाहरुलाई दबाउँदा उनीहरुको मानसिक विकासमा नकारात्मक असर पर्छ ।

डा. अल्भर्डका अनुसार, वास्तविक मानसिक विकास भनेको भावनालाई दबाउनु होइन, बरु त्यसलाई सही तरिकाले बुझ्न र व्यक्त गर्न सिकाउनु हो । उहाँले ‘भावना चिन्नु नै भावना जित्नु’ भन्ने सिद्धान्त अगि सार्नुहुन्छ, भावनालाई चिनेर मात्र त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।

जब एउटा बच्चाले भन्न सक्छ, मलाई अहिले धेरै रिस उठिरहेको छ वा म डराइरहेको छु, तब उसको दिमागको आधा तनाव स्वतः कम हुन्छ । यसका साथै, म यो कहिल्यै सक्दिनँ भन्ने सोचलाई ‘म सानो कदमबाट सुरु गर्छु’ तर्फ मोड्न सिकाउनु, जसलाई मनोविज्ञानमा दृष्टिकोण बदल्नु भनिन्छ, बच्चाको जीवनमा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ ।

तेस्रो आधार : एउटा भरपर्दो मान्छेको माया

डा. अल्भर्ड भन्नुहुन्छ, मानसिक दृढता एक्लैको यात्रा होइन । अनुसन्धानहरुले देखाउँछन् कि जुन बालबालिकाको जीवनमा कम्तीमा एकजना भरपर्दो वयस्क हुन्छ, चाहे त्यो आमाबाबु होस्, शिक्षक होस् वा छिमेकी, ती बालबालिका जति कठिन परिस्थिति आए पनि उम्किन सक्छन् ।

यो भरपर्दो मान्छे भनेको सधैँ समस्या हल गरिदिने व्यक्ति होइन । बरु यो त्यो मान्छे हो जसले कुनै सर्त बिना माया गर्छ, विश्वास गर्छ र मन खोलेर सुन्छ । त्यस्तो सम्बन्धको न्यानोपनले नै बच्चालाई असुरक्षाको भावनाबाट बाहिर निकाल्छ । साथीभाइसँगको स्वस्थ सम्बन्धले ‘म एक्लो छैन’ भन्ने भावना दिन्छ, र यही भावनात्मक सुरक्षाको जगमा नै मानसिक दृढता फस्टाउँछ ।

चौथो आधार : समस्या सुल्झाइदिनु होइन, सुल्झाउन सिकाउनु

बच्चा रोयो कि तुरुन्तै दगुरेर समस्या हल गरिदिने, यो स्वाभाविक अभिभावकीय माया हो । तर यही मायाले बच्चालाई लामो समयमा कमजोर बनाउन सक्छ । जब हामी सधैँ समस्या हल गरिदिन्छौँ, बच्चाले सिक्ने अवसर पाउँदैन ।

उसको ‘म आफैँ गर्न सक्छु’ भन्ने भावना विस्तारै मर्दै जान्छ । डा. अल्भर्डका अनुसार, वैज्ञानिक हुर्काइको सिद्धान्त भनेको बच्चालाई आफैँ सोच्न दिनु हो । ‘समस्या के हो ? यसका समाधान के–के हुन सक्छन् ? कुन उपाय अपनाए कस्तो नतिजा आउला ?’, यी प्रश्नहरु सोध्न लगाउनु ।

यो प्रक्रियाबाट बच्चाले आफ्नै बुद्धिले समाधान खोज्न सिक्छ । साना–साना समस्याहरु आफैँ हल गर्दै जाँदा ‘म पनि सक्छु’ भन्ने आत्मविश्वास बन्दै जान्छ, जुन ठूला चुनौतीहरुका अगाडि पनि काम आउँछ । यो सिप सिकेको बच्चा भविष्यमा जुनसुकै क्षेत्रमा गए पनि, पढाइमा होस्, काममा होस् वा सम्बन्धमा होस्, आफ्नै खुट्टामा उभिन सक्षम हुन्छ ।

पाँचौँ आधार : अरुलाई मद्दत गर्दा आफ्नो हिम्मत बढ्छ

यो अलि अनौठो लाग्न सक्छ, अरुलाई मद्दत गरेर आफू कसरी बलियो हुने? तर मनोविज्ञानले यसलाई सहयोगी व्यवहार भनेर पुष्टि गर्छ । डा. अल्भर्डका अनुसार, जब बालबालिका स्वयंसेवामा लाग्छन्, साना आफूभन्दा सानाहरुलाई पढाउन मद्दत गर्छन् वा घरका कामकाजमा सहभागी हुन्छन्, उनीहरुमा ‘मैले पनि केही राम्रो काम गर्न सक्छु’ भन्ने भावना जागृत हुन्छ ।

यो भावनाले उनीहरुलाई भित्रैबाट बलियो, जिम्मेवार र मानवीय बनाउँछ । अरुका लागि केही गर्न सक्दाको त्यो सन्तुष्टि नै बच्चाको आत्मविश्वासको सबैभन्दा गहिरो स्रोत हो । यसले बच्चालाई आफ्नै नजरमा मूल्यवान र सम्मानित महसुस गराउँछ र यही भावनाले नै उसलाई जीवनमा अगि बढ्ने हिम्मत दिन्छ । सहयोग गर्ने स्वभाव भएको बच्चा समाजमा सधैँ प्रिय हुन्छ र त्यो प्रेमले उसलाई झनै बलियो बनाउँछ ।

ती आमा जसले छोराको बदला शिक्षकसँग कुरा गरिदिइन्, उनको माया निश्चय नै साँचो थियो । तर, त्यो माया अलि फरक तरिकाले देखाउन सकिन्थ्यो । शिक्षकसँग आफैँ कुरा गर्न के गाह्रो छ ? कसरी गर्ने होला ? म साथमा हुन्छु, तर कुरा तिमी नै गर्नेछौ, यसरी छोरालाई साथ दिएको भए उसले जीवनभर काम लाग्ने एउटा साहस र आत्मविश्वास सिक्ने थियो ।

एउटा सानो क्षणले कति ठूलो फरक पार्न सक्थ्यो । डा. अल्भर्डको भनाइको सार यही हो, बालबालिकालाई समस्यारहित संसार दिन खोज्नुभन्दा उनीहरुलाई जुनसुकै परिस्थितिमा पनि उठ्न र अगि बढ्न सक्ने भित्री शक्ति दिनु नै असली माया हो ।

दृष्टिकोण बदल्नु, भावनाको व्यवस्थापन, भरपर्दो सम्बन्ध, समस्या समाधानको सिप र अरुलाई सहयोग गर्ने स्वभाव, यी पाँच आधारहरुले बालबालिकालाई केवल भावनात्मक रुपमा सबल मात्र बनाउँदैनन्, बरु अनिश्चित भविष्यका लागि पनि तयार गर्छन् । यी पाँच आधारहरु कुनै जटिल मनोवैज्ञानिक सिद्धान्त होइनन् , यी हाम्रो दैनिक जीवनमा अभ्यास गर्न सकिने साधारण तरिकाहरु हुन् ।

बच्चासँग सही प्रश्न सोध्नु, उसको भावना सुन्नु, उसको गल्तीबाट सिक्न दिनु र उसको साना सफलतालाई मान्यता दिनु, यति नै काफी हो । यी सानासाना कार्यहरुले नै बच्चाको भित्री संसार बलियो बनाउँछन् । हाम्रो समाज र विद्यालयले परम्परागत नियन्त्रणमुखी शैली त्यागेर बालबालिकाको आत्मसम्मान र स्वतन्त्रताको सम्मान गर्ने वातावरण बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।

शिक्षकले कक्षामा र अभिभावकले घरमा, दुवैले आफ्नो भूमिका पुनर्विचार गर्नुपर्छ । हामी निर्णय गरिदिने व्यक्ति होइनौँ, हामी बाटो देखाइदिने पथप्रदर्शक हौँ । जब हामी उनीहरुका लागि बाटो सफा गरिदिने होइन, बरु हिँड्न सिकाउने कोच बन्छौँ, तब मात्र उनीहरु भविष्यका जुनसुकै ढुंगाहरु आफैँ पन्छाउन सक्षम हुनेछन् । बालबालिकामा विकास गरिएको यही मानसिक दृढता नै उनीहरुका लागि सबैभन्दा ठूलो पुँजी हो र वर्तमान समयको सबैभन्दा भरपर्दो वैज्ञानिक समाधान पनि ।

(लेखक गैरसरकारी संस्था सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका कार्यकारी निर्देशक हुन् ।)