नेपालका युवा वैज्ञानिक विकासप्रेमी कहिले बन्छन् ?

भुपेन्द्र सुवेदी

नेपालमा विगत ७०–७५ वर्षअघि बाटै राजनीतिले पाक्नै नसक्ने खिचडीको भाँडो डोसेकै अवस्था हो । जो कोहीको नेतृत्वलाई जो कोहीले स्वीकार्नै नसक्ने व्यथा आजको मात्र होइन, यो लामो समयदेखि जरो गाडेर बसेको समस्या हो ।

न कि आफ्नै पार्टी वा आफ्नै भाइ–भाइभित्रै भित्री कर्द, खुट्टा तान्ने प्रवृत्ति र अन्तरघात प्रयोग हुँदै आएको अवस्था छ । जस्तै वीपी र मातृकाको मेल राजनीतिमा खाएन । राजनीतिजस्तो धूर्त, जटिल र स्वार्थले भरिएको कार्य रहेछ, जहाँ कसैले कसैको विचार सहज रुपमा स्वीकार्नै नसक्ने प्रवृत्ति गहिरो रुपमा बसेको छ ।

जस्तै आजसम्म आइपुग्दा नेपालको राजनीतिमा विश्वकै सबैभन्दा धेरै सरकार बने, धेरै प्रधानमन्त्री बने र बन्नका लागि आफूहरु मात्र सक्रिय भए, तर देश, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको पक्षमा कोही पनि गम्भीर भएर लागिएको इतिहास नै भेटिँदैन ।

अब भरखरै सत्तामा आएको नयाँ पार्टी रास्वपाको सरकार गठन भएकै दिनदेखि नै विभिन्न बहानामा विरोध सुरु भएको छ । किनकि नेपालमा कसैले केही गर्न खोज्यो भने तुरुन्तै विरोध सुरु भइहाल्छ । के हो, नेपालको राजनीति विकासप्रेमी हुनै नसक्ने हो त ? कसैले केही सकारात्मक गर्छु भन्यो भने विरोध गर्नै पर्ने किन ? यो प्रश्न आज पनि ज्यूँका त्यूँ उभिएको छ ।

विश्वले नेपाललाई प्राकृतिक स्रोतसाधनले सम्पन्न, सम्भावनायुक्त र धनी देश भन्छ, तर सञ्चालन गर्ने योग्य, दूरदर्शी र इमानदार नेता भने जन्मिएनन् । विगतमा जन्मेका केही गर्न र गर्छु भन्ने दूरदर्शी व्यक्तिलाई अघि सर्न दिइएन, उनीहरुलाई रोकियो, दबाइयो, र आज पनि नेपालको विकासको कुरा खाली भाषण, नाराबाजी र कागजी योजनामा मात्र सीमित छ ।

वि.सं. २०४६ देखि यताको सरकारले केही गर्न खोजेको जस्तो देखिए पनि, २०४७ देखि २०५१ सम्म आइपुग्दा नेपाली कांग्रेसको बहुमतको सरकार आफ्नै भेदभाव, आन्तरिक द्वन्द्व र स्वार्थका कारण आफैंले विघटन ग¥यो र नेकपा एमालेसँग साँठगाँठ गरेर मनमोहन अधिकारीको नेतृत्वमा सरकार सञ्चालन गरियो । त्यो सरकार पनि केही ८–९ महिनामै हटाइयो र फेरि निर्वाचन गरियो ।

नेपालमा जति पनि राजनीतिक पार्टी छन्, सबैको अकर्मण्यता, स्वार्थकेन्द्रित सोच र दूरदृष्टिको अभावका कारण देशले अपेक्षित विकास पाउन सकेन । २०४७ को संविधानको खिलापमा २०५२ देखि तत्कालीन माले–मसाले एक ठाउँमा आएर ४० बुँदे मागको ज्ञापनपत्र सरकारमा पेश गर्दा सरकारले त्यसलाई वास्ता नगरी धम्कीपूर्ण भाषामा अस्वीकार ग¥यो । त्यसपछि माओवादी नामको पार्टीको उदय भयो र देशभर द्वन्द्व, अस्थिरता र भयको माहोल फैलियो ।

के–के गर्छौं भन्ने माओवादी पार्टी समेत आज कहाँ छ भन्ने अवस्थामा पुगेको छ । किन ? नेपाल र राष्ट्रको विकास गर्छौं भन्ने नेताले सबै पार्टी एक ठाउँमा आएर पनि राष्ट्रको समग्र विकासभन्दा आफ्नो, आफ्नो समूह र आफ्नो पार्टीको मात्र विकासमा ध्यान दिए । देशको ढुकुटी गठबन्धनको नाममा दुरुपयोग र लुटपाट गरियो ।

आज पनि ‘मखनलाई हलो बनाएको’ जस्तो अवस्था देखिन्छ । नेपाल बनाउँछौँ भन्ने नेताहरुले आफ्नै देशलाई मगन्ते, परनिर्भर र कमजोर बनाएका छन् । विकासको नाममा कहिले एमसीसी, कहिले एसपीपी जस्ता अन्तर्राष्ट्रिय सम्झौताले नेपाललाई धरौटी राखिएको त छैन ?

देशको विकासको नाममा राष्ट्र नै धितो राखिएको त छैन ? यस्तो गम्भीर अवस्थामा यसको जिम्मेवारी कसले लिने ? सधैं ऋण लिएर देश चलाउने हो भने भोलि कसरी राजनीति गर्ने ? देशको बहुमूल्य सम्पदा तस्करले लुट्दा किन राज्य संयन्त्र मौन बसिरहेको छ ?

नेपालको सबैभन्दा पुरानो वैद्यखाना आज बेवारिसे अवस्थामा पुगेको छ । विगत ६ वर्षदेखि जिम्मेवारीको तानातान, अव्यवस्था र लापरबाहीका कारण बन्द हुने अवस्थामा पुगेको छ । नेपालका अमूल्य जडीबुटी, प्राकृतिक औषधि र परम्परागत ज्ञानको अवस्था किन कमजोर बनाइएको छ ? किन वैद्यखाना ऋणमा डुबेको भनिएको छ ?

अब युवाले यसको बारेमा कहिले बुझ्ने ? अब नगरे कहिले गर्ने र कसले गर्ने ? जनताको सामु आउनुपर्छ, सचेत हुनुपर्छ, लुकेर बस्नु हुँदैन, लुट्नेसँग पछि लाग्नु हुँदैन । नेपालमा ठूलो प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्पदा छ । यसको सही पहिचान गर, व्यवस्थापन गर, र क्षेत्र छुट्याएर भए पनि संरक्षण गर । भावी पुस्ताका लागि जोगाऔँ ।

सीमामा बसेका नेपालीहरुले गोली खाएर पनि देशको रक्षा गरेका छन्, तर आफ्नै देशको सरकारले उनीहरुको समस्या समाधान गर्न सकेको छैन– यो दुःखद यथार्थ हो । देशमा जैविक विविधता, खानी, बहुमूल्य पत्थर, सुन, फलाम, तामा जस्ता स्रोत प्रशस्त छन् । तर यसको उचित उपयोग, व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।

हाम्रो पानीले अन्य देशको विकास भएको छ, तर हामीले त्यसको उचित मूल्य किन माग्दैनौँ ? भारतसँग उल्टो हाम्रो पानीबाट उत्पादन भएको बिजुली निःशुल्क किन दिइन्छ ?

अब देशको विकास आफ्नै देशका होनहार विज्ञ, वैज्ञानिक र युवाशक्तिको जमात तयार गरेर आफ्नै सीप, ज्ञान र प्रविधिबाट गर्नुपर्छ । सधैं भारत, चीन, अमेरिका तिर हेरेर मात्र विकास सम्भव हुँदैन । महावीर पुनजस्तो आँट, आत्मविश्वास, समर्पण र नवप्रवर्तनशील सोच अब नेपाली युवामा जाग्न आवश्यक छ ।

अब त केही गरेर देखाऊ । केवल विरोध, झगडा र आरोप–प्रत्यारोपले देशको विकास हुँदैन । एकता, सोच, योजना र कर्मले मात्र देश अगाडि बढ्छ ।