‘सङ्कल्पन’ पढी भ्याउँदा

राम बहादुर जी.सी

÷कृति समीक्षा

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोखरेलज्यूद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक अध्ययन पश्चात् एक पाठकिय अनुभूति तथा बिचार टिप्पणी राख्ने कोशिस गर्दै छु । आजको सूचना–प्रविधिको युगमा कुनै व्यक्तिलाई चिन्न प्रत्यक्ष भेटघाट अनिवार्य छैन; उसका सार्वजनिक अभिव्यक्ति—लेख, विचार वा टिप्पणीबाटै उसको निजात्मक जिन्दगीका सबाल बाहेक लगभग उसलाई बुझ्न सकिन्छ ।

यस अर्थमा, लेखक पोखरेलका अखबारमा प्रकाशित विचार स्तम्भहरुबाट नै उनको सोचसँग परिचित हुँदै आएको एक गम्भीर स्रोता तथा पाठकको रुपमा यो कृति झनै अर्थपूर्ण लाग्यो । ‘सङ्कल्पन’ मूलतः विभिन्न समय सन्दर्भमा लेखिएका विचारहरुको संगालो हो, जसले लोकतन्त्र, मिडिया, राजनीति र समाजका बहुआयामिक प्रश्नहरुलाई समेट्छ ।

२१८ पृष्ठको यस पुस्तकमा विशेषतः नेपालको राजनीतिक उतारचढाव, मिडिया, लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण प्रक्रिया र समकालीन चुनौतीहरुबारे लेखकले गहिरो विश्लेषण प्रस्तुत गरेका छन् । पुस्तकले २००७ सालको जनआन्दोलनदेखि ०४६ र ०६२÷६३ का ऐतिहासिक आन्दोलनसम्मको यात्रालाई स्मरण गर्दै नागरिकले लोकतन्त्र स्थापनाका लागि चुकाएको मूल्यलाई उजागर गर्छ । पटक पटक आन्दोलन, दमन, जेल, यातना र बलिदानको इतिहासले लोकतन्त्र सहज प्राप्त नभएको सन्देश दिन्छ । तर यति ठूलो संघर्षपछि पनि राजनीतिक नेतृत्वमा देखिएको सैद्धान्तिक, राजनैतिक एवम् दार्शनिक सुझमा भएको विचलन, मूल्यह्रास र जनविश्वासको संकटप्रति लेखक गम्भीर चिन्ता व्यक्त गर्छन् ।

विशेषगरी राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र, नेतृत्वको पुनरावृत्ति, महँगो चुनावी प्रणाली, युवा आवाजको अवमूल्यन र सिद्धान्तहीन अभ्यासप्रति उठाइएका प्रश्नहरु अत्यन्त सान्दर्भिक छन् । किन सक्षम, इमानदार र वैचारिक रुपमा स्पष्ट व्यक्तिहरु पाखा पारिन्छन् ? किन राजनैतिक नेतृत्व आधारभूत तहका जनताको सुखदुःखमा सहभागी हुनबाट टाढिँदैछ ?

किन नीति हरुको मूल नीति राजनीतिले समाजलाई सहि दिशा निर्देश गर्न सकिरहेको छैन ? किन दिनानुदिन दर्शन, बिचार, सिद्धान्त, आदर्श, मूल्य, निष्ठा नीति, थिती र विधि स्खलित एवम् ह्रास हुँदो छ ? यस्ता प्रश्नहरुले पाठकलाई गम्भीर चिन्तन तर्फ डोर्याउंछन ।

त्यस्तै, पुस्तकमा पछिल्लो समय देखिएका सामाजिक–राजनीतिक असन्तुष्टि, जेन–जी अथार्त नव युवा पुस्ताको विद्रोह र त्यसलाई हिंसात्मक मोडतर्फ धकेल्ने प्रवृत्तिको समेत विश्लेषण गरिएको छ । आन्दोलनका नाममा भएका तोडफोड, आगजनी र अराजक गतिविधिहरुको पृष्ठभूमि, उद्देश्य र त्यसमा संलग्न शक्ति केन्द्रहरुप्रति लेखकले उठाएका प्रश्नहरु गम्भीर र मननिय छन् । राज्य संयन्त्र, सुरक्षा निकाय र राजनीतिक नेतृत्वको भूमिकामाथि गरिएको समीक्षा पनि उत्तिकै विचारणीय छ ।

पुस्तकको अर्को महत्वपूर्ण पाटो भनेको मिडिया र पत्रकारितामाथिको विमर्श हो । पत्रकारिताको विश्वसनीयतामा संकट, सामाजिक सञ्जालको प्रभाव, पछिल्लो समय युटुव लगाएतका माध्यम मार्फत अपुष्ट सूचनाको प्रसार र सनसनीपूर्ण सामग्री उत्पादन गर्ने प्रवृत्तिले समाजमा सिर्जना गरेको कोलाहलमय वातावरण र दिग्भ्रमप्रति लेखक चिन्तित छन् ।

पत्रकारिताको सन्दर्भमा छापा र डिजिटल माध्यमका सिमा, चुनौती, पत्रकारिताको आचारसंहिता, पेशागत मर्यादा र सामाजिक उत्तरदायित्वलाई पुनस्र्थापित गर्न आवश्यक सुधारका उपायहरु पनि सुझाइएका छन् । विशेषतः श्रमजीवी पत्रकारको अवस्था, पारिश्रमिक, सुरक्षा र पेशागत भविष्यबारे उठाइएका सवालहरु अत्यन्त संवेदनशील छन् । पत्रकारिता क्षेत्रभित्रै आचार संहिता पालनामा कडाइ र आत्मशुद्धि आवश्यक रहेको निष्कर्ष पुस्तकले स्पष्ट रुपमा प्रस्तुत गर्छ ।

यसका साथै पुस्तकमा दार्शनिक अरस्तु, प्लेटो, महात्मा गान्धी र बी.पी. कोइरालाका विचारहरुको सान्दर्भिकता उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र आदर्शको चर्चा गरिएको छ । विशेष गरी बी.पी. कोइरालाको राष्ट्रिय मेलमिलापको नीति आज पनि किन सान्दर्भिक छ भन्ने प्रश्नले पाठकलाई गम्भीर सोचतर्फ उन्मुख गराउँछ ।

समग्रमा, ‘सङ्कल्पन’ केवल विचारहरुको सङ्ग्रह मात्र नभई वर्तमान राजनीतिक, सामाजिक र मिडिया परिदृश्यको गहिरो विश्लेषण र आत्मसमिक्षा हो । यसले नयाँ पुस्तालाई सूचना–प्रविधिको ज्ञानसँगै पुरानो पुस्ताको अनुभव र योगदानको सम्मान गर्दै सन्तुलित दृष्टिकोण अपनाउन प्रेरित गर्छ । आजको निराशा, नकारात्मक मनोबिज्ञान,असन्तोष र अराजकताबीच सकारात्मक सोच, सन्तुलित र विवेकपूर्ण बहस अनि जिम्मेवार नागरिक चेतनाको खाँचो औंल्याउँदै पुस्तकले मार्गदर्शन गर्ने काम समेत गर्छ ।

अतः सङ्कल्पन’ बिगतका राजनीतिक उतारचढावको दस्तावेज मात्र होईन बर्तमान समयको चेतना बुझ्ने ऐना पनि हो । विशेषतः पत्रकारिता र सार्वजनिक जीवनमा संलग्नहरुका लागि यो कृति एक उपयोगी “गाइड” सावित हुनसक्नेमा कुनै शङ्का छैन ।

यसरी सामाजिक सरोकारका मुद्दा उपर बिमर्श र अन्तरक्रियामा सहभागी हुन उत्प्रेरित गर्ने बौद्धिक खजानायुक्त यति गुनिलो पुस्तक हामी पाठक माझ ल्याएकोमा लेखकको यो मिहिनेत र जांगरलाई सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु । जम्मामा ‘सङ्कल्पन’ पुस्तक पठनीय मात्र नभई सङ्ग्रहणीय पनि यसै छ । धन्यवाद ।