गोरक्ष समाचारदाता
दाङ, २० वैशाख । नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लोकतन्त्रका आधारभूत पक्ष र प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्न थालेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको २३ औँ वार्षिक साधारणसभा तथा नयाँ वर्षको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पोख्रेलले लोकतन्त्रका आधारभूत पक्ष र प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्न थालेको बताएका हुन् ।
संवैधानिक रूपमा सुनिश्चितता गरिएको प्रेस स्वतन्तन्त्रामाथि धावा बोल्ने र आर्थिक नाकाबन्दी गरेर सूचनामाथिको अधिकार कटौती गर्ने बाटोमा सरकार हिँडेको भन्दै निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेलले सरकारको आलोचना गरे । सञ्चार क्षेत्रमा गरिएको हस्तक्षेप सञ्चार क्षेत्रमा मात्र नभई सिङ्गो लोकतन्त्रमाथिको प्रहार भएको बताए ।
प्रधानमन्त्री कार्यालयको एउटा परिपत्रले संविधानले दिएको अधिकार कटौती गरेको पोख्रेलले बताए । सङ्घीय सरकारले स्थानीय तह तथा प्रदेश सरकारको अधिकारसमेत खोसेको उनले दाबी गरे । यो संवैधानिक हक विरुद्ध कार्य भएको बताउँै पोख्रेलले लोकतन्त्रमाथि भइरहेको प्रहारबारे नागरिकलाई बुझाउन सञ्चार क्षेत्रले भूमिका खेल्नु पर्ने बताए ।
अहिले सञ्चार क्षेत्रमा मात्र आक्रमण गरेको जस्तो देखिए पनि यसले लोकतन्त्रलाई कमजोर पार्नेछ भन्दै पोख्रेलले लोकतन्त्रको पक्षमा बलियो जनमत निर्माण गर्न मिडिया अग्रसर हुनु पर्ने बताए । ‘सरकारले सञ्चार क्षेत्रमा गरेको हस्तक्षेपबारे सबैलाई बुझाउन सचेत तथा अगुवा क्षेत्र सञ्चार क्षेत्र भएकाले यसबारे बुझाउन सक्नुपर्छ’, उनले भने ।
अहिले पर्ख र हेरको अवस्था नभएको र सत्ताको निरङ्कुसताको पहिलो प्रहार सञ्चार क्षेत्रमा पर्ने उनले बताए । सञ्चार क्षेत्रलाई नियन्त्रणमा लिन सकिए सरकारको विरोध गर्ने, खबरदारी गर्ने नहुने भएकाले हरेक सरकारले यस प्रकारको कार्य गर्दै आएको उनले बताए । सरकारले गरेको गलत निर्णयविरुद्ध एकताबद्ध भएर अगाडि बढनु पर्ने उनको भनाइ छ ।
महासंघका केन्द्रीय सचिव सविन प्रियासनले निरङ्कुशताविरुद्ध बोल्न सक्नु पर्ने बताए । राज्यले सञ्चार क्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध सशर्त रूपमा आन्दोलन गर्नु पर्ने बताए । यसका लागि सबै एकता बद्ध भएर अगाडि बढनु पर्ने बताए । महासंघका केन्द्रीय सदस्य लीला शाहले राज्यले सञ्चार क्षेत्रका स्पष्ट नीति लयाउन नसकेको बताए । राज्यलेको स्पष्ट नीति नहुँदा सञ्चार क्षेत्र समस्यामा परेको उनको भनाइ छ । राज्यले गरेको विभेदका विरुद्ध महासंघले चालेको आन्दोलनलाइ निरन्तरता दिइने उनले बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले सञ्चारमाध्यम टिके मात्र सञ्चारकर्मी टिक्न सक्ने भएकाले त्यसतर्फ महासंघले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए । पेसालाई मर्यादित बनाउनतर्फ लाग्न अनुरोध गर्दै उनीहरूले समाजले विश्वास गर्ने वातावरण निर्माण गर्न जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष उदय जिएम, महासंघका प्रदेश महासचिव पाण्डवप्रसाद शर्मा, महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी, पूर्व अध्यक्षहरू केबस् मसाल, डा सुदीप गौतम, महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, प्रेस काउन्सिलका पूर्व सदस्य शरद अधिकारी, महासंघ दाङ शाखाका पूर्व उपाध्यक्ष लक्ष्मी आचार्य, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौचारी नेपालका जिल्ला उपाध्यक्ष बिमल योगी, प्रगतिशील पत्रकार संगठनका अध्यक्ष महेश रिजाल, सञ्चारिका समूहका अध्यक्ष रञ्जीता अधिकारी, फोनिज दाङका अध्यक्ष दीप्तीशिखा चौधरी, राप्ती पत्रकार मञ्चका अध्यक्ष अर्जुन अधिकारी, सुशीला आचार्य, प्रेस संगठन दाङका अध्यक्ष जनक नेपाली, दलित पत्रकार संघका अध्यक्ष गिरिराज नेपालीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव जेएन सागरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमरक्षितिज भण्डारीले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाले पारित गरेको छ । सो अवसरमा महिला पत्रकारहरूको पेशागत सुरक्षाको नीति महासंघलाई प्रदान गरिएको थियो । उक्त नीति संशोधनसहित साधारणसभाले पारित गरेको छ ।
कार्यक्रम महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागिलाइ उपाध्यक्ष ओपेन्द्र बस्नेतले स्वागत गरेका थिए भने धन्यावाद ज्ञापन अर्का उपाध्यक्ष नारायणी रजौरेले गरेकी थिइन् । कार्यक्रमको सहजिकरण सचिव जे एन सागरले गरेका थिए ।