दाङ,१७ बैशाख । दाङमा सञ्चालित निजी तथा संस्थागत विद्यालयले विद्यार्थी तथा अभिभावकमाथि चर्को शुल्क असुलिरहेको भन्दै विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । जिल्लामा क्रियाशिल विभिन्न विद्यार्थी संघ–संगठनहरूले विहीवार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कानुनले तोकेको भन्दा बढी शुल्क नलिन विद्यालयहरुलाई अनुरोध गरेका हुन ।

संविधानले सुनिश्चित गरेको आधारभूत तहसम्मको निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार विपरीत विद्यालयहरूले राज्यले तोकेको मापदण्डभन्दा बढी शुल्क लिने, अनावश्यक शीर्षकमा रकम उठाउने गरेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस्ता गतिविधिले नियामक निकायहरूको प्रभावकारिता र जिम्मेवारीमाथि समेत प्रश्न उठाएको भन्दै बक्तव्यमा कानुनी दायराभित्र सञ्चालनमा आएका शैक्षिक संस्थाहरूले प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै विद्यार्थी र अभिभावकमाथि अतिरिक्त आर्थिक भार थप्ने गरी मनपरी शुल्क निर्धारण गर्नु न्यायोचित नहुने उल्लेख छ ।
नेपाल विद्यार्थी संघ दाङका का कार्यवहाक अध्यक्ष गुरुप्रसाद गौतम, अनेरास्ववियुका सचिव सविन पोख्रेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष गोविन्द मल्ल, अखिल समाजवादीका दाङ जिल्ला इन्चार्ज खुमन सी, अखिल (क्रान्तिकारी) बहुमतका नरेन्द्र विक, अखिल (छैठौं) का सेवक भट्टराई र अखिल (क्रान्तिकारी) का सुमन रावतले विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरूलाई सरकारी मापदण्ड र निर्देशनअनुसार पारदर्शी, न्यायोचित तथा उचित शुल्क प्रणाली लागू गर्न आग्रह गरेका छन् । साथै, सम्बन्धित निकायहरूलाई यस्ता गतिविधिमाथि कडाइका साथ अनुगमन गरी आवश्यक कारबाही गर्न जोडदार माग गरेका छन् ।