धानखोला–लमही सडक : तीन अर्बको लगानीमा स्तरोन्नति सुरु

लीलाधर वली
दाङ, १७ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोला–लमही सडक खण्डकोे स्तरोन्नतिको काम सुरु भएको छ । बुधवारबाट औपचारिक रूपमा कामको सुरुवात गरिएको छ । नेपाल र अमेरिकी सरकारको सहलगानीमा स्तरोन्नति हुन थालेको हो ।

धानखोला–लमहीसम्म ४० किलोमिटर रहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार शुभारम्भ गरेका हुन् । दुई करोड आठ लाख अमेरिकी डलर नेपाली करिब तीन अर्ब रुपैयाँमा सडक स्तरोन्नति हुन थालेको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत धानखोला–लमही सडकखण्डको ४० किलोमिटर स्तरोन्नति हुन लागेको हो ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ । एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्ने गरी २०८२ पुस ७ गते शर्मा–कुमार जेभीसँग (शर्मा कन्स्ट्रक्सन÷कुमार निर्माण सेवा प्रालि) ठेक्का सम्झौता भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र कपिलवस्तु जिल्लाको सीमाना धानखोलादेखि लमही लमही नगरपालिका–५ को रातोडाँडासम्म सडक स्तरोन्नतिको काम निर्माण कम्पनीले २४ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत् सात मिटरको क्यारिज वे र दुई दशमलव पाँच मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ । उनका आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति गरिनेछ ।

कार्यक्रममा सडक निर्माणको जिम्मा पाएको शर्मा–कुमार जेभीका डाइरेक्टर सौरव शर्माले ठेक्का सम्झौता अनुसार सडक स्तरोन्नतिको काम गरिने बताए । नेपालमा नवीन प्रविधिको प्रयोग गरी धानखोला– लमही सडक स्तरोन्नति काम हुन थालेको उनको भनाइ छ । त्यो अनुसार मेसिन र सामग्री प्रयोग गरेर सडक निर्माण हुन थालेकाले अहिलेको सडकभन्दा गुणस्तरीय र फलाकिलो हुने बताए ।

सडकको शुभारम्भ गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले जनपेक्षा अनुसार सडक निर्माण र सुधारको कामलाई अघि बढाउन आग्रह गरे । दुई देशको सहलगानीमा उच्च प्रविधिकको माध्यमबाट स्तरोन्नति हुन थालेको सडकले प्रदेशवासी नागरिकलाई सहजता दिने उनको भनाइ छ । सडक निर्धारित समयभित्र सम्पन्न गर्न विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले भालुबाङदेखि लमहीसम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै त्यसलाई ध्यानमा राखेर फराकिलो सडक, व्यवस्थित बस स्टेसन र सुरक्षित सडक पेटी निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे । सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने उनले बताए ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुनिलबाबु ढकालले ठुलो लगानीमा नयाँ प्रविधिबाट सडक स्तरोन्नतिको काम हुन थालेको भन्दै यसले दाङसहित पश्चिम क्षेत्रका नागरिकलाई सहज हुने बताए । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्वमले यो परियोजना अमेरिका र नेपालबिचको साझेदारीका रूपमा रहेको भन्दै मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपाल सम्झौताको एक हिस्सा भएको बताए ।

जुन सम्झौता अनुसार अमेरिकी सरकारका तर्फबाट ५५ करोड डलर अनुदान र नेपाल सरकार तर्फबाट १९ करोड ७० लाख डलरको सहयोगमा सडक स्तरोन्नति हुन थालेको बताए । एमसीसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चितता गर्ने प्रविधिमार्फत् लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए ।

नेपाल सरकारको मापदण्ड अनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग सात मिटर चौडा र दुवैतर्फ दुई दशमलव पाँच मिटर कालोपत्रे सोल्डर रहने गरी कूल १२ मिटर चौडाइ कायम गरिनेछ । उक्त सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि अन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेछ ।

यस अन्तर्गत बालुवा, गिट्टीलगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभाव पनि न्यून हुने बताइएको छ । यस प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने बताइएको छ ।

‘स्तरोन्नति भने पनि यो सडक पूरै नयाँ हुनेछ’

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डको धानखोलादेखि लमही अर्जुन खोलासम्मको ४० किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम बुधवारदेखि थालिएको छ ।

यसरी सडक स्तरोन्नति गर्दा नेपालमै पहिलो पटक फुल डेप्थ रिक्लेमेसन (एफडिआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिनेछ । यी प्रविधिले पुराना सामग्री पुनः प्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनाउने जानकारी एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जिानकारी दए ।

यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ । आयोजना अन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई÷दुई मिटर सोल्डर निर्माण गरी कूल १२ मिटर चौडाइ कायम गरिनेछ । उनका अनुसार अहिले कायम पिचलाई समेत स्तरोन्नति गरिनेछ ।

‘सडकको दायाँ–बाँयाँ विस्तार मात्रै गर्दैनौँ, अहिले कायम पिचलाई समेत उप्काएर उच्च प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति गरिनेछ’, एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘समग्रमा भन्दा यो सडक पूरै नयाँ बनाइने छ ।’

एमसिए नेपालले अमेरिकी लगानी साझेदारीमा जलविद्युत र सडकका क्षेत्रमा काम गर्दै आएको छ । अमेरिकी सरकारको ७० प्रतिशत लगानी र नेपाल सरकारको ३० प्रतिशत लगानी साझेदारीमा परियोजना सञ्चालनमा छ ।