प्रतिष्ठानमा मुटुको शल्यक्रिया सुरु

गोरक्ष समाचादाता
दाङ, १७ वैशाख । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेती आएपछि मुटु रोगको उपचार सुरु भएको हो ।

डा. उप्रेतीले प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न सक्षम बनाएको बताए । उनले यस सेवाको सुरुवात कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिसबाट गरिएको जानकारी दिए । दाङमा पहिलोपटक प्रतिष्ठानमा एन्जियोग्राफी कोरोनरी सेवा सुरु भएको हो ।

‘हामीले प्रतिष्ठानमा मुटु रोगको उपचार सुरु गरेका छौँ, मुटुको रक्तनलीलाई हेर्ने विधिभित्र कोरोनरी एन्जियोग्राफी सेवा पर्दछ’, डा.उप्रेतीले भने, ‘यसबाट मुटुको रक्तनलीमा रोग छ कि छैन भनेर पत्ता लगाउन सहयोग मिल्छ ।’ मुटु उपचारका लागि अरू थप उपकरण आए हर्ट अट्याक भएर आउने बिरामीको एन्जियो प्लास्टिक गर्न सकिने बताए ।

क्याथेल्याब मेसिन आइसकेकाले मुटुको उपचारमा थप सहज हुने उनले बताए । मुटुको इको गर्ने सेवा पनि सञ्चालनमा रहेको प्रतिष्ठानले जनाएको छ । मुटु रोगको उपचारका लागि थप उपकरण आउने प्रक्रियामा रहेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।