एकराज शर्मा अधिकारी
मानिसलाई आनन्द चाहिन्छ भने इच्छाले भरिएको जीवन त्यागिदिनु पर्छ । बुद्धले भन्नुहुन्थ्यो– शान्ति, आनन्द र सन्तोषले भरिएको जीवन प्राप्त हुन सकोस् । सबै धर्मको सार भनेको न त मानिसको जन्म हुन्छ, न त मरण हुन्छ ।
न उत्पत्ति हुन्छ, न त विनास हुन्छ । न वृद्धि हुन्छ, न तिरोभाव हुन्छ । सबै कुरा अनित्य छन् । जे जति कुरा उत्पन्न हुन्छन् सबै छुट्छन् । हामीले आफ्नो प्रियजनबाट जसरी पनि छुट्नै पर्छ । यसमा चिन्ता लिनु हुँदैन । गौतम बुद्धको जन्म वैशाख पूर्णिमामा भएको थियो । त्यसलाई परिनिर्माण भनिन्छ । जति पनि वस्तु छन्, ती सबै नश्वर छन्, क्षण भंगुर छन्, मणशील छन्, परिवर्तनशील छन् ।
यो प्रकृतिको नियम हो । प्रकृतिको सत्यतालाई स्वीकार्नु पर्छ । आफ्नो कल्याणको बाटोमा लाग्नुपर्छ । बुद्धको परिनिर्माण पछि बुद्धको मृतदेहको अस्थिलाई आठ भागमा बाधेर अस्थि धातुमाथि मन्दिर बनेका हुन् । सम्राट अशोकको पालामा ती मन्दिरबाट अस्थि धातु निकालेर ८४ हजार भाग लगाएर बुद्धका मूर्ति बनाइएको थियो । यसरी मृतदेहको सम्मान गरिएको थियो ।
बुद्धको जीवनकालमा बुद्धका उपदेशहरु लेखिएनन् । किनभने त्यस बखत अहिलेको जस्तो लेख्ने चलन थिएन । थोरै मात्र ताड पत्रमा लेख्ने चलन थियो । कागज बनेकै थिएन । गुरु शिष्यको परम्परा थियो । मौखिक रुपमा शिक्षा दिने चलन थियो । बुद्धका उपदेश सबैले बु्झ्न सक्दैनन् । बुद्धका उपदेश पाली भाषामा लेखिएको छ ।
बुद्धको धार्मिक ग्रन्थलाई त्रिटक भनिन्छ । बुद्ध धर्म प्राचिनकालमा लंकाको राजधर्म नै थियो । बुद्धले दिएको उपदेशलाई पालना गरे शान्ति र आनन्द प्राप्ति हुन्छ । उहाँले भन्नुहुन्थ्यो– मेरो काम त बाटो देखाइदिने मात्र हो । कर्म त आफैले गर्नुपर्छ । पुण्य कर्म गरे सत्गति हुन्छ, पाप कर्म गरे दुर्गती हुन्छ । सत्कर्म गर्ने मानिस माथि जान्छ, दुर्गती गर्ने मानिस तल झर्छ, यो प्रकृतिको नियम हो ।
आफ्नो स्वरुपलाई भुल्नु हुँदैन । अतिबाट बच्नु पर्छ । विषय बासनामा नै धेरै भुल्नु हुँदैन । तपस्या गरेर शरीरलाई पीडा पनि दिनु हुँदैन । मध्यम मार्ग अपनाउनु पर्छ । जवान पनि एकदिन बुढो हुन्छ । धनी पनि एकदिन र्निधनी हुन्छ । संसारमा कुनै पनि कुरा एकैनास हुँदैनन् । नित्य हुँदैनन् । उनी पनि मानिस रोगी हुन चाहँदैनन् । तर, उसलाई कुनै न कुनै रोग लाग्छ ।
संसारमा निरोगी मानिस कोही छैनन् । मानिस बुढो हुन चाहँदैन तर सबै बुढा हुन्छन् । कोही पनि मर्न चाहँदैनन् तर अमर कोही छैनन् । यी सबै दुःख हुन् । प्रत्येकको दुःखको कारण हुन्छ । विनाकारण दुःख हुँदैन । दुःखको कारण हो– इच्छा ।
मानिस कहिले पनि सन्तुष्टि हुन सक्दैन । इन्द्रीयका जति प्रिय वस्तु छन् ती वस्तुको भोगको लागि एकअर्कासँग झगडा गर्छन् । यो दुःखको कारण हो । यो सत्य हो । सजिलो तरिकाबाट जस्ताको त्यस्तै थाहा पाउनु सम्यक दृष्टि हो । गायिक, वाचिक, मानसिक हिंसा गर्नुहुँदैन । इन्द्रीय माथि सम्यक राख्नुपर्छ ।
अष्टाङ्ग योग सुख प्राप्तिको उपाय हो । पढेर मात्रै कसैको कल्याण हुँदैन । नियमको पालना गर्नुपर्छ । अज्ञान नै दुःखको मूल कारण हो । कर्म, मन, वचन शरीरबाट हुन्छ । संस्कार तीन किसिमका हुन्छन् । संस्कारबाट नै मानिसको जन्म हुन्छ । पहिलो संस्कार पानीमा रेखा खिचिएको जस्तो हुन्छ । जुन देख्ने वित्तिकै मेटिन्छन् । दोस्रो संस्कार हो– बालुवामा रेखा खिचिएको जस्तो हुन्छ ।
यो केही दिनसम्म रहन्छ । त्यसपछि हराउँछ । तेस्रो संस्कार हो– ढुङ्गामा खिचिएको रेखा जस्तो हुन्छ । त्यो मेटिँदैन । त्यो लामो समयसम्म रहन्छ । यिनै संस्कारले गर्दा मानिसलाई संसारको चक्रमा पर्नुपर्छ । संस्कार भनेको मनमा बसिरहेको बासना हो ।
विश्वमा सारा वस्तु अनित्य छन् । मनको शरीरसँग गहिरो सम्बन्ध हुन्छ, इन्द्रीयको विषयसँग सम्बन्ध हुन्छ, आँखाको रुपसँग सम्बन्ध हुन्छ, कानको ध्वनीसँग सम्बन्ध हुन्छ, नाकको गन्धसँग सम्बन्ध हुन्छ, जिब्रोको स्वादसँग सम्बन्ध हुन्छ, छालाको इष्पर्शसँग सम्बन्ध हुन्छ, विचारको मनसँग सम्बन्ध हुन्छ, मनको विषयसँग सम्बन्ध हुन्छ र मनमा तरंग पैदा हुन्छ ।
जस्तो– काँशको भाडामा हिर्काउँदा तरंग पैदा हुन्छ । त्यसैगरी कसैले प्रशंसा गरे भने अथवा गाली ग¥यो भने त्यसको शरीरमा तरंग पैदा हुन्छ र सुख दुःख हुन्छ । यी सबै अज्ञानका कारण हुन् । गौतम बुद्धको पालामा दुई किसिमका मान्छे थिए । एउटा आत्मालाई मान्ने र अर्का आत्मालाई नमान्ने । बुद्धले आत्मालाई बन्धन मान्दथे ।
आत्मा आँखाले नदेखिने हुनाले अनित्य मान्थे । बुद्धले आत्माको सिद्धान्तलाई तुच्छ मान्थे तर उनी आध्यात्मिकवादी थिए । उनले कर्ममा जोड दिन्थे । भाग्यको भर पर्दैनथे । सुखदुःखको कारण कर्म हो । आत्मा होइन, ईश्वर होइन, वर्म होइन । सबै चिजहरु कारण र कार्यमा बाँधिएका छन् । त्यसैले हामीले कुशल कर्म गर्नुपर्छ । कर्मले राम्रो र नराम्रो परिणामलाई जन्म दिन्छ ।
दुःख परेको बेला कसैले शरण दिँदैन । शरण त आफूले धारणा गरेको धर्मले मात्र दिन्छ । जसले जति मानिसप्रति प्रेम गरेको छ उसलाई त्यत्तिकै दुःख आइपर्छ । हासो मजाकमा पनि जुठो बोल्नु हुँदैन भनेर सिक्नुपर्छ । एैनामा हेरे जस्तो गरेर शरीरबाट काम गर्नुपर्छ ।
अरुलाई पीडा नहुने किसिमको काम गर्नुपर्छ । व्यभिचार गर्नाले मानिसको पतन हुन्छ, अरुसँग शत्रुभाव राख्नाले मानिसको पतन हुन्छ, कर्तव्यबाट विमुख भए मानिसको पतन हुन्छ, लोभबाट मानिसको पतन हुन्छ । कुशल कर्म नै उन्नतीको कारण हो ।
पञ्चशीलको सिद्धान्त गौतम बुद्धकै सिद्धान्त हो । बुद्धले अष्टाङ्ग योगमा जोड दिन्थे, अहिले पनि योगको प्रभाव बढेको छ । दुःखबाट मुक्त हुने उपाय शास्त्रले योगको बाटो सिकाएका छन् ।