लाटोकोसेरो, संस्कृति संरक्षण र मनोरञ्जनका लागि उत्सव : निर्देशक आचार्य [अन्तर्वार्ता]

दाङ देउखुरीको लमहीस्थित जैविक विविधता पार्कमा यही वैशाखको १८ र १९ गते १३औँ लाटोकोसेरो तथा हुचिल उत्सव हुँदैछ । सन २०१२ देखि नेपालमा सुरु गरिएको लाटोकोसेरो तथा हुचिल उत्सवअन्तर्गत १३औँ संस्करण प्रकृतिका साथी नामक संस्था र लमही नगपालिका–५ मा रहेको अजम्बरी समुदायिक वन उपभोक्ता समूहको आयोजनामा दाङसँगै पश्चिम नेपालमै पहिलो पटक उत्सव आयोजनामा गरिँदै छ ।
जसअन्तर्गत अहिले जैविक विविधता पार्कमा लाटोकोसेरो सङ्ग्राहलय, मञ्चलगायत निर्माणसँगै उत्सवको प्रचारप्रसारको काम भइरहेको छ । नेपालमा लाटोकोसेरो तथा हुचिलको अवस्था, उत्सव गर्नु पर्ने कारण र उत्सवले समाजमा पार्ने प्रभावका सन्दर्भमा गोरक्षकर्मी लीलाधर वलीले प्रकृतिका साथी संस्थाका निर्देशक राजु आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेप ।
— देउखुरीको लमहीमा पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै हुनुहुन्छ, तयारी कसरी गरिरहनुभएको छ ?
 उत्सवमा लाटोकोसेरो संरक्षणका लागि छलफलसँगै सांस्कृतिक प्रस्तुति, पुराना खेल प्रदर्शन र मनोरञ्जनका कार्यक्रम हुन्छन् । त्यही क्रममा अहिले जैविक विविधता पार्कमा लाटोकोसेरो सङ्ग्राहलय स्थापनाको काम भइरहेको छ । जसका लागि अहिले २६ जना स्वयम्सेवकको टिमले काम गरिरहेको छ ।
त्यससँगै उत्सवका लागि मञ्च तयार गर्ने काम बाँकी नै छ । विद्यालय बन्द रहेकाले प्रचारप्रसारका लागि जान सकेनौ तर देउखुरी क्षेत्रमा रहेका केही कलेजहरूमा गएर कार्यक्रमको बारेमा जानकारी गराएका छौ । समग्रमा भन्नुपर्दा हालसम्म करिव करिव ५० प्रतिशत काम सकिएको छ, बाँकी सम्पूर्ण काम १७ गते बेलुकासम्म तयारी सक्ने छौ ।
— लाटोकोसेरो तथा हुचिल भनेको कस्तो चरा हो, नेपालमा यसका प्रजाति र अवस्था कस्तो छ ?
विशेष गरेर राति र बिहानको समयमा सक्रिय हुने र आँखाको तीनवटा परेला हुने चरा लाटोकोसेरो हो । आफ्नो टाउँकोलाई २७० डिग्रीसम्म घुमाउन सक्ने चरा हो । यो समूहमा बस्ने, सामाजिक चरा हो । आखाँ पनि मानिसको जस्तै अगाडि फर्किएको हुने गरेको छ । यो तपाई हाम्रो घर वरिपरी पनि पाइने चरा हो । लाटोकोसेरो अर्थात् हुचिल नेपालमा २४ प्रजाति र देउखुरीमै ११ प्रजातिका पाइने गरेका छन् । नेपालमा पाइने चरामध्ये झण्डै आधा प्रजाति दाङमै पाइने गरेको छ ।
— लाटोकोसेरो तथा हुचिल उत्सवका लागि लमहीलाई रोज्नुको उद्देश्य के हुन सक्छ ?
लमही भनेको पूर्वी र पश्चिम नेपालको केन्द्रबिन्दु पनि हो । यो क्षेत्रमा लाटोकोसेरो उत्सव गरियो भने दाङसहितका वरिपरी रहेका रोल्पा, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा संरक्षणको सन्देश पु¥याउन सकिन्छ भन्ने पनि हो । अर्काे भनेको भारतसँग सीमा जोडिएका दाङमा धेरै नाका रहेका छन् ।
हुचिलको अन्तर्राष्ट्रिय व्यापारसँगै चोरी सिकारी पनि हुने गर्दछ । यो क्षेत्रमा उत्सव गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने अवैध व्यापारसँगै चोरी सिकारीलाई रोक्नका लागि सहयोग पु¥याउनु पनि हो । हुचिल मार्ने र घरमा पाल्ने पनि गरिएको देखिन्छ । त्यसलाई रोक्दै लाटोकोसेरो अर्थात हुलिल संरक्षण गर्दा हुने फाइदाका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले दाङको लमहीलाई छनोट गरेर उत्सव गर्न थालेका हौ ।
— लाटोकोसेरोको के–का लागि चोरी सिकारी हुने गर्दछ ?
विशेष गरेर नेपालका कुरा गर्ने हो भने अन्धविश्वासका कारण हड्डीको माला लगाउने, प्वाखलाई तान्त्रिकले प्रयोग गर्ने र घरमा राख्दा भूतप्रेस छिर्दैन भन्ने अन्धविश्वासका कारण लाटोकोसेरो मार्ने र बिक्री वितरण गर्ने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय रूपमा हेर्दा चिनमा आयुर्वेदिक औषधीका लागि प्रयोग गरिने र भारतमा तान्त्रिकले प्रयोग गर्ने गर्दछन् ।
चिनमा पनि अन्धविश्वासकै कारण आयुर्वेदिक औषधीका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । दाङमा धेरै प्रजातिका लाटोकोसेरो तथा हुचिलका प्रजाति पाइने, भारतसँगै मुख्य राजमार्ग भएको जिल्ला भएकाले दाङको भूमि प्रयोग गरेर नेपालबाट भारत र चिन दुवैतिर व्यापार हुने गरेको अनुमान छ । त्यो हिसाबले पनि जनचेतना जगाउने आवश्यक ठानेका छौँ ।
— उत्सवलाई अन्य ठाउँभन्दा फरक बनाउन के–कस्ता कार्यक्रम राखिएका छन् ?
नाममा लाटोकोसेरो तथा हुचिल उत्सव भने पनि यो ठुलै उत्सव हो । यस्तो खोलको उत्सव संसारका चार देशमा हुने गर्दछन् । जसमा नेपालसहित भारत, इटाली र अमेरिकामा मात्र हुने गर्दछ । सांस्कृतिक कुरालाई बढी प्राथमिकता दिन्छौँ ।
पुराना जस्तै थारू समुदायको झुम्रा नाँच, यादव समुदायको नाच, कुमाल समुदायको नाँच, बाहुन–क्षेत्रीको भजनसँगै पाँच थरीका नाँच छन, विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको जनजातिको पोषकमा विद्यार्थीको नाँच र नाटक आठ थरीका छन्, भने पोखरास्थित वन विज्ञान संस्थानमा अध्ययन गरिरहेका विद्यार्थीले नाँच र नाटक प्रस्तुत गरेर सांस्कृतिक माहोल बनाउने छन भने पुराना खेल डण्डिवियो, तिलो जस्ता हराएका खेल गराएर जीवित बनाउने प्रयास गर्नेछौँ ।
त्यससँगै वन्यजन्तु, वातावरण र वनका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका ४० बढी स्टल रहने छन् । यसैगरी अध्ययन अनुसन्धान गरेका विद्यार्थी र अनुसन्धानकर्मीका दशवटा अनुन्धानका नतिजा पोस्टर बनाएर प्रस्तुत गर्नेछन् भने सबैभन्दा महत्वपूर्ण, उत्सव स्टलमा लाटोकोसेरोको सङ्ग्राहलय रहने छ ।
सङ्ग्राहलयमा लाटोकोसेरोसँग सम्बन्धित अडियो, भिडियो, फोटो, ढुङ्गा, माटो, चुन, फलामले बनाएका सामग्री राख्ने छौँ । पोस्टरमा लाटोकोसेरोसँग सम्बधित कलासँगै सर्प, भ्यागुता, बाघलगायतका चित्रसँगै रोवर्ट र चरा संरक्षणसम्बन्धी भिडियो समेत प्रदर्शन गरिनेछ । स्टेजमा कार्यक्रम चल्नेछ । त्यससँगै बिहान चरा अजम्बरी सामुदायिक वनमा चरा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
— लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ, किन होला ?
हामीले लाटोकोसेरोलाई हे¥यौ भने भाले र पोथी मिलेर फूल पालेर बच्चा हर्काउँदासम्म ४ देखि ६ महिनासम्म लाग्ने गर्दछ । चारदेखि छ महिनासम्मको अवधिमा तीन हजारसम्म मुसा खाएको देखिन्छ । किसानको बालीलाई क्षति गर्ने मुसालाई लाटोकोसेरोले खाएर सहयोग गर्ने भएकाले किसानको साथी भनिएको हो । किसानको उत्पादनलाई मुसाबाट बचाउनका लागि सहयोग गर्ने भए पनि त्यो किसानलाई थाहा छैन, त्यो पनि जानकारी दिने उत्सवको उद्देश्य हो ।
— लाटोकोसेरो संरक्षणमा चुनौती के देख्नुहुन्छ ?
सबैभन्दा ठुलो चुनौती भनेको समाजमा लाटोकोसेरोप्रति भएको नकारात्मक भावना हो । चुनौतीलाई कम गर्नका लागि पछिल्लो समय उत्सव गर्ने गरेका छौँ । अहिले पनि लाटोकोसेरो भनेको उल्लु त हो भन्ने, काम नलाग्ने चरा, अल्छी चरा भन्ने मनोभावना छ, त्यो भावनालाई कम गर्नुपर्ने छ ।
अर्काे भनेको अवैध चोरी र सिकारी हुन्छ । चोरी सिकारी गर्दा ५० हजार रूपैयाँसँगै जरिवाना र एक वर्षसम्म कैद सजाय हुन्छ भन्ने जानकारी दिनु पनि हो । धार्मिक रूपमा हेर्ने हो भने लाटोकोसेरो लक्ष्मीको बहान पनि हो, यो सन्देश नागरिकलाई दिनुछ । गुलेली प्रयोगलाई कम गर्नु पर्ने छ ।
— प्रकृतिका साथीले संरक्षणका लागि कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
हुचिल एउटा कार्यक्रम मध्यको एउटा हो । हामीले हुचिलसँगै वन्यजन्तुको अध्ययन र अनुसन्धानका क्षेत्रका काम गर्दै आएका छौँ । खासगरी हामीले पहाडी र हिमाली क्षेत्रमा वन, वन्यजन्यको अध्ययन, अनुसन्धान र संरक्षणका लागि काम गर्दै आएका छौँ । अनुसन्धानकर्मी र विद्यार्थीको कार्य क्षमताअभिवृद्धि गर्ने उद्देश्यले तालिमको काम गर्दै आएका छौँ । पछिल्लो समय वृक्षारोपनलगायतका कार्यक्रमहरू गर्दै आएका छौँ ।
— उत्सवका लागि सरकारसँगै स्थानीय नागरिकको कत्तिको सहयोग पाउनुभएको छ ?
जुनसुकै ठाउँमा कार्यक्रम गर्दा स्थानीयले कम्तीमा ४० प्रतिशत खर्च व्येहोर्ने गर्नुपर्छ । त्यो भएमा मात्र हामीले उत्सव गर्ने गरेका छौँ । लमहीमा आयोजना गरिएको उत्सवको स्थानीय आयोजकका रूपमा अजम्बरी सामुदायिक वन उपभोक्ता समूह रहेको छ ।
वन समूहले उत्सवलाई सफल बनाउनका लागि सबैसँग समन्वय गरिरहेको छ । हामीलाई थाहा भएसम्म उत्सवका लागि लुम्बिनी पर्यटन वन मन्त्रालय, लमही नगरपालिका, विभिन्न संघसंस्था र समुदायिक वनलगायतले नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
— सन् २०१२ देखि सुरु भएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले उत्सव गर्दै आउनुभएको छ, यो अभियानले हालसम्म कस्तो प्रभाव पारेको पाउनुभएको छ ?
उत्सवमा आएको कुरा कतिले सिके, व्यवहारमा लागु गरे, त्यो पत्ता लगाउनका लागि गाह्रो कुरो हो । तैपनि हामीले सन २०१२ देखि नेपाल सरकारलगायतका विभिन्न संघसस्थाको सहकार्यमा कार्यक्रम गरिरहँदा नेपाल सरकारले हुचिल संरक्षणका लागि सन २०२० मा आएर कार्ययोजना नै बनाएको छ, यो सबैभन्दा ठुलो उपलब्धी हो । अर्काे भनेको नेपालमा लाटोकोसेरो तथा हुचिलको अवैध व्यापार हो ।
आजभन्दा १५÷१६ वर्षअघिको तथ्याङ्क हेर्ने हो भने नेपालमा हुचिल मारिएको र बिक्री भएको वार्षिक करिब दुई हजार वटाको तथ्याङ्क थियो । त्यो अहिले घटेर १५÷१६ सयमा झरेको छ, यो सकारात्मक उपलब्धी हो । त्यसैगरी उत्सव तथा कार्यक्रम गरेपछि धेरै ठाउँमा स्थानीय समुदायले चाख मानेर संरक्षणका प्रयास भएका छन् । जस्तै स्याङ्जाको राङवान भैँसीगोडा भन्ने ठाउँलाई स्थानीयले लाटोकोसेरो संरक्षण क्षेत्र घोषणासँगै वन क्षेत्रमा गुलेली प्रतिबन्ध गरेका छन् ।
कास्की जिल्लाको हेम्जा भन्ने ठाउँमा लाटोकोसेरो र सर्प संरक्षणका बजेट नै विनियोजन भएर काम भइरहेको छ । खोटाङमा वडाको पंक्षी भनेर घोषणा गरिएर नियमित कार्यक्रम भइरहेका छन् भने नवलपरासीमा खेतमा बास गोडेर केही समय लाटोकोसेरोलाई बस्नका लागि बाँसको व्यवस्था नै गर्ने गरिएको थियो । यो राम्रो प्रयास हो ।
— तपाईंलाई व्यक्तिगत रूपमा अभियानमा लाग्न कसरी प्रेरणा मिल्यो ?
मलाई खासगरी नयाँ काम गर्न मन पर्छ । नाम चलेका वन्यजन्तु र चराका क्षेत्रमा सबैले काम गरिहेका छन् । मलाई चाही अरूभन्दा हेपिएको चराको संरक्षणमा लाग्नुपर्छ भन्ने सोचले सन २००८ वाट लाटोकोसेरो संरक्षणमा लागेको हुँ । वन्यजन्तुको अध्ययन र अनुसन्धानका क्षेत्रका काम गर्दा एकजना विदेशीसँग भेट भएको थियो ।
उहाँले नै मलाई लाटोकोसेरो संरक्षणमा काम गर्नसँगै विश्व लाटोकोसेरो कोषसँग आवद्ध गराउनुभएको थियो । सन् २००८ देखि नै विश्व लाटोकोसेरो कोषसँग आवद्ध रहेर स्वयमसेवकका रूपमा काम गरिरहेको छु । मलाई लाग्छ अहिले लाटोकोसेरो सामान्य चरा भए पनि कुनै समय दुलर्भ हुन सक्छ, त्यसैले सबै यसको संरक्षणमा लाग्नुपर्छ भन्ने हो ।
— अन्त्यमा के भन्न चाहानुहुन्छ ?
यो नौलो खालको उत्सव हो । लमहीमा पहिलो पटक हुन थालेको छ । अर्काे पटक गर्नका लागि पनि ७७ वर्ष कुनुपर्ने हुन्छ । यो नयाँ र नौलो खालको कार्यक्रम भए पनि विद्यार्थीका लागि सिक्ने राम्रो अवसर हो । यहाँ लाटोकोसेरोका बारेमा जानकारीसँगै विभिन्न समुदायको पुराना मौलिक कला र सस्कृतिक प्रदर्शनसँगै खेल समेत हुन्छ । नयाँ महोत्सव भएकाले तपाईका मिडियामार्फत् सहभागीताका लागि सबैलाई अनुरोध गर्न चाहान्छु ।