औद्योगिक ग्राममा निर्माण गरिँदै पूर्वाधार

अमरराज आचार्य
दाङ, १६ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले औद्योगिक ग्राममा पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ । औद्योगिक ग्राममा जमिनको प्लाटिङ, पोलिङको काम अगाडि बढाइने भएको छ । संरचना निर्माण गरेर उद्योगी व्यवसायीलाई आह्वान गरिने उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले बताए । औद्योगिक ग्राम क्षेत्रमा पर्खाल लगाइएको भए पनि केही स्थानमा भत्काइदिएको उनले बताए ।

गेटको निर्माणको गरिनेछ भने खानेपानीको व्यवस्था गरिने नगर प्रमुख खड्काले बताए । ‘संरचना निर्माण गरेपछि हामीले औद्योगिक ग्राममा उद्योग तथा व्यवसाय सञ्चालनका लागि सार्वजनिक रूपमा आह्वान गर्नेछौँ’, नगर प्रमुख खड्काले भने । औद्योगिक ग्राममा आवश्यक पर्ने सार्वजनिक शौचालय, खानेपानीदेखि फिल्ड सम्याउनेलगायतका काम उपमहानगरपालिकाले गर्नेे नगर प्रमुख खड्का बताउँछन् । आफैँ संरचना बनाएर उद्योग स्थापना गरेमा पाँच वर्षसम्म कर नलिने उपमहानगरपालिकाले जनाएको छ ।

औद्योगिक ग्राममा आफैँ संरचना निर्माण गरेर उद्योग व्यवसाय सञ्चालन गरेमा पाँच वर्षसम्म कर नलिने नगर प्रमुख खड्का बताउँछन् । हालसम्म औद्योगिक ग्राममा भने कुनै उद्योग, व्यवसाय स्थापना हुन सकेका छैन । तुलसीपुर उपमहानगरपालिका उद्योग तथा व्यवसाय उपभोक्ता हित शाखाका प्रमुख रेखा शर्माले हालसम्म औद्योगिक ग्राममा उद्योग स्थापना गर्नका लागि आफनो शाखासम्म कोही नआएको बताइन् । ‘औद्योगिक ग्राममा उद्योग व्यवसाय सञ्चालन गर्न इच्छुक भए पनि हामीसँग अहिलेसम्म कोही आउनुभएको छैन’, शाखा प्रमुख शर्माले भनिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा स्थापना गरिएको औद्योगिक ग्राममा उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायी आफैँले संरचना बनाएमा उपमहानगरपालिकालाई बुझाउनु पर्ने कर पाँच वर्षसम्म छुट दिने जनाएको छ । तुलसीपुरमा लगानी भित्राउन औद्यागिक क्षेत्रमा आफँै संरचना निर्माण गरेर उद्योग स्थापना गरेमा कर नलिइने तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले बताए ।

‘तुलसीपुरमा उत्पादन क्षेत्रमा लगानी भित्राउन यस प्रकारको नीति ल्याएका हौँ’, नगर प्रमुख खड्काले भने, ‘यो नीतिले यस क्षेत्रमा व्यवसायीले उद्योग स्थापना गर्न आकर्षित हुनेछन् ।’ उद्योग स्थापना भएमा रोजगारीको सिर्जना हुनेछ । जसले रोजगारीका लागि बाहिर जानेलाई यहीँ राजगार पाउने र उत्पादनमा समेत वृद्धि हुने उपमहानगरपालिकाले जनाएको छ ।

नयाँ उद्योग तथा उपमहानगरपालिकामा सञ्चालनमा रहेका उद्योगसमेत औद्योगिक ग्राम क्षेत्रमा जान सक्ने नगर प्रमुख खड्का बताउँछन् । औद्योगिक ग्राममा जुनसुकै उद्योग स्थापना गर्न सकिने उनले बताए । ‘हामीले सबैलाई औद्योगिक ग्राममा उद्योग स्थापना गर्न दिने भनेको छौँ’, नगर प्रमुख खड्काले भने, ‘स्थानीयलाई प्राथमिकता दिएको छ भने बाहिरबाट आउनेलाई पनि रोक लगाइने छैन ।’

औद्योगिक क्षेत्रमा साना तथा ठुला उद्योग स्थापना गर्न सकिने नगर प्रमुख खड्काले बताए । प्रदूषण कम हुने खालका उद्योग स्थापना हुन सक्ने उनले बताए । तुलसीपुर उपमहानगरपालिका–१६ मा १३ बिघा क्षेत्रफल औद्योगिक ग्रामका लागि छुट्याइएको छ । औद्योगिक ग्राममा उद्योगी व्यवसायीलाई बस्ने वातावरण बनाउन आवश्यक संरचनाका विकास गरिरहेको उनको भनाइ छ ।

औद्योगिक ग्राममा उपमहानगरपालिकाले औद्योगिक ग्राम रहेको १३ बिघा क्षेत्रफलमा पर्खाल लगाएर संरक्षण गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का वडाध्यक्ष शिवानन्द डिसीले जानकारी दिए । औद्योगिक ग्रामसम्म सडक तथा विद्युतको पहुँच विस्तार भइसकेको उनले बताए । ‘औद्योगिक ग्रामसम्म सहज सडक तथा विद्युतको व्यवस्था भइसकेको छ’, वडाध्यक्ष डिसीले भने ।

उद्योग स्थापनाका लागि उपयुक्त स्थान भएकाले उद्योगीले उद्योग स्थापनाका लागि आउने गरेको उनले बताए । उद्योगीहरू लगानी गर्नका लागि बुझ्न आउने गरेको उनको भनाइ छ । बजारबाट करिब तीन किलोमिटरको दूरीमा रहेकाले उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन सहज हुने उनले बताए । संरचना निर्माण गरेपछि उपमहानगरपालिकाले पाँच वर्षसम्म कर छुट दिने तथा जग्गाको भाडासमेत सहुलियत मूल्यमा उपलब्ध गराउने भएपछि लगानी गर्नेको आकर्षण बढ्ने वडाध्यक्ष डिसी बताउँछन् ।

उद्योग स्थापना भएपछि स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने उनले बताए । ‘यहाँ आउन चाहने उद्योगीले स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने भनेर भनेका छौँ’, उनले भने । पछिल्लो समयको अवस्थाले गर्दा उद्योग तथा व्यसाय स्थापनामा प्रभाव परेको हुन सक्ने अध्यक्ष डिसी बताउँछन् ।

औद्योगिक ग्राममा उद्योगी व्यवसायीलाई आवश्यक पर्ने सुरक्षा व्यवस्थादेखि अन्य पूर्वाधार निर्माणको काम उपमहानगरपालिकाले गर्ने नगर प्रमुख खड्काले बताए । यसका लागि बजेटको व्यवस्था गरिएको उनले बताए । तुलसीपुर उपमहानगरपालिकामा लामो समयदेखि औद्योगिक ग्राम घोषणा भए पनि त्यसको प्रभावकारी कार्यान्वन हुन सकेको छैन । औद्योगिक ग्राम हुनु सकारात्मक रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले जानकारी दिए ।

उद्योग स्थापना पूर्व उद्योगका लागि पूर्वाधार विकास हुनुपर्ने उनको भनाइ रहेको छ । यसमा उद्योग स्थापना गर्नुभन्दा पहिले नै ध्यान दिनुपर्छ । ‘पूर्वाधार विकास नहुँदा उद्योग स्थापना गरेमा उद्योगी व्यवसायीले समस्या भोग्नुपर्छ ।’ यसबारे स्थानीय सरकारले ध्यान दिनुपर्छ । ‘पूर्वाधार विकास नगरी व्यावसायिक कर छुट दिएर मात्र उद्योगीको आकर्षण हुँदैन’, अध्यक्ष केसीले भने । उद्योगीलाई आवश्यक पर्ने पूर्वाधारको विकास भएमा उद्योगी उद्योग स्थापना गर्न आकर्षित हुने उनको भनाइ छ ।

नीतिगत रूपमा नै व्यवस्था गरेर अगाडि बढ्दा सञ्चालनका लागि सहज र प्रभावकारी हुने अध्यक्ष केसी बताउँछन् । पछिल्लो समयमा उपमहानगपालिकाको यस प्रकारको नीतिले औद्योगिक ग्राममा उद्योग हुने र यसको उद्देश्य अनुसार काम हुने उपमहानगरपालिकाले जनाएको छ ।