गोरक्ष समाचारदाता
तुलसीपुर, १६ वैशाख । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले क्षमता बढाउने भएको छ । संस्थाले मुहानमा पानी पर्याप्त भएको र भण्डारण गर्ने क्षमता कम भएका कारण २४ सै घण्टा पानी वितरण गर्नका लागि पानी ट्याङ्की र पाइप लाइन विस्तार समेत गर्ने भएको छ ।
संस्थाले मङ्गलवार उपभोक्ता, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिबिच छलफल कार्यक्रम आयोजना राखेर नयाँ पानी ट्याङ्की निर्माण, सौन्दर्य पार्क निर्माणका विषयमा साधारण सभाबाट पास गरिने भएको छ । संस्थाका अध्यक्ष प्रदीप गौतमले खानेपानी संस्था सेवामूलक संस्था भएकाले थप संरचना निर्माणका लागि तीनै तहका सरकारले बजेट सुनिश्चिता गर्नुपर्ने बताए ।
उनले मुहानको पानी पर्याप्त रहेको तर संरचना अभावकै कारण २४ सै घण्टा उपभोक्तालाई वितरण गर्न कठिनाई भएको बताए । उनले आर्थिक रूपमा विपन्न रहेका उपभोक्तालाई धारा किस्तामा वितरण गर्ने र ऐलानी जग्गामा बसोबास गर्ने उपभोक्तालाई समेत वडाको सिफारिसका आधारमा धारा वितरण गर्ने उनको भनाइ छ । अध्यक्ष गौतमले धाराका लागि २४ सै घण्टा निवेदन खुल्ला रहेको र स्वीकृत भएको २४ घण्टाभित्रै धारा जडान गरिने बताए ।
संस्थाले हालसम्म दुई हजार एक सय धारा वितरण गरेको र अझै १७ सय धारा वितरण गर्ने सामथ्र्य रहेको संस्थाका सचिव मुकेश वलीले बताए । संस्थाले हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १६, १७, १८ र १९ नं. वडामा खानेपानी वितरण गर्दै आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वलीले खानेपानी संस्था नाफामुलक नभई सेवामूलक भएकाले तीनै तहका सरकारले नाफा र सेवामूलक संस्थाका बिचमा फरक छुट्याएर सोही अनुरूप बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीले खानेपानीको क्षेत्र विस्तारका साथै क्षमता विस्तारमा समेत ध्यान दिनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ वडा कमिटीका सभापति ज्ञानेन्द्र पोख्रेलले खानेपानीलाई संविधानमै मौलिक हककै रूपमा राखेकाले सरकारले निशुल्क रूपमा खानेपानीको व्यवस्था गर्नु पर्ने बताए ।
नेपाली काग्रेस वडा नं. १८ वडा कमिटीका सचिव विदुर गौतमले उपभोक्ताहरूलाई खानेपानी वितरण प्रभावकारी रहेको बताए । जुरपनिया मैनतारा खानेपानी समितिका सचिव राकेश बस्नेतले खानेपानी संस्थाहरू मर्जको नीतिलाई कार्यान्वयनमा ल्याउन सके सबै उपभोक्ताहरूलाई समान रूपमा पानी वितरण गर्न सकिने बताए ।
नेपाल रेडक्रस बिजौरी शाखाका सभापति बालकृष्ण रेग्मीले खानेपानी संस्थाले स्वच्छ पानी वितरणका लागि विशेष ध्यान दिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पाटीका रामबहादुर थापाले सरकारले उपभोक्तालाई निःशुल्क रूपमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताए । जनता संस्कृत मावि विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण केसीले संस्थाले खानेपानी वितरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आग्रह गरे । कार्यक्रममा भुल्के सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले विपन्न नागरिकलाई निःशुल्क रूपमा धारा वितरण गर्नुपर्ने बताए ।
यसैबिच संस्थाले मङ्गलवारदेखि नै कार्यालयमा पानी परीक्षण सुरु गरेको छ । खानेपानी सुरक्षा समितिका सदस्य सचिव गोकर्ण पौडेलले उपभोक्ताहरूलाई स्वच्छ पानी धारासम्म पु¥याउनका लागि पानी परीक्षण सुरु गरिएको बताए । उनले अब नियमित रूपमा पानी परीक्षण गरिने र त्यसका लागि जनशक्ति र आवश्यक सामग्रीको समेत व्यवस्थापन भइसकेको बताए । संस्थाका उपाध्यक्ष मनकुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुकेश वलीले गरेका थिए ।