भुपेन्द्र सुवेदी
बिगतको दुई–तीन प्रकारको नामले परिचित नेपाली कांग्रेस र आज विभिन्न बाहानाबाजीमा गठबन्धनले घेरेको नेपाली कांग्रेसको सधैंको रडाकोलाई निस्तेज पार्ने उद्देश्य लिएर अगाडि आउने हिम्मती नेता अझै कांग्रेसले पाएको छैन । पायो त केवल दाग लागेको विवादित नेतालाई मात्र अगाडि सारेर फेरि पनि उही २००७–०८ को अवस्थाको कांग्रेस जस्तै पो देखियो । फेरि उही टुटफुटको आधार बोक्दै बोक्दै गुज्रिने हो त ? के उही राष्ट्रिय प्रजा परिषद्मा फर्किने हो त ?
कुनै एउटा राजनीतिक दल वा समूहले मात्र देशको शासन शक्ति उपयोग नगरी, हरेक व्यक्तिले आफ्नो स्वेच्छाले रोजेको दलका गतिविधिमा खुला रुपमा भाग लिन पाउने, राजनीतिक सङ्गठन बिना रोकतोक खोल्न पाउने, त्यसका गतिविधिहरु विस्तार गर्ने र प्रचार गर्न पाउने, चुनावमा भाग लिन पाउने आदि राजनीतिक अधिकार भएको राजनीतिक प्रणालीलाई बहुदलीय व्यवस्था भनिन्छ । नेपालमा यस्तो अभ्यास २००७ सालदेखि २०१७ सालसम्म एक दशक र २०४६ चैत्र २६ गतेबाट हालसम्म विभिन्न अभ्यास हुँदै लोकतान्त्रिक गणतन्त्रको समेत अभ्यास हुँदै आएको छ ।
(प्रारम्भिक कालः २००७ देखि २०१७) राजनीतिक कुरा नउठाउँदा पनि खै किन लाग्छ कुतकुती, फेरि उही पुरानो याद आउँछ । आजको व्यवस्था राम्रोसँग चलाउन नसक्दाको परिणामले गर्दा पुरानोसँग दाजो गर्नै मन लाग्छ, किन? भनिन्छ, मोहन शम्शेरको प्रधानमन्त्रित्वमा पाँचजना राणा र पाँचजना कांग्रेसका प्रतिनिधि रहेको संयुक्त मन्त्रिमण्डलका सदस्यहरुले सपथ ग्रहण गरेपछि पनि मोहन शम्शेरको गतिविधि यस व्यवस्थालाई बलियो बनाउने दिशातर्फ उन्मुख थिएन ।
उता गोर्खा परिषद् नामको खुकुरी दलको उदण्डता राजधानी र देशभर बढेको थियो । देश र जनताको सुरक्षार्थ गृहमन्त्री वीपी कोइरालाको आदेश अनुसार २००७ साल चैत्रमा यसका प्रमुख नायकहरु गिरफ्तार गरेपछि दलको एक जुलुसले काठमाडौं जेलमाथि आक्रमण गरी उनीहरुलाई छुटायो । उक्त दलले विश्वेश्वरप्रसाद कोइरालाको निवासमा आक्रमण गर्दा वीपी कोइरालाले वीरतापूर्वक प्रतिकार गरी उनीहरुलाई तितरबितर गरेका थिए ।
यसैलाई निउँ पारेर श्री बबर शम्शेरलाई मन्त्रिपरिषद्बाट हटाइयो । राणा–कांग्रेसबिचको विवाद चर्कँदै गएपछि २००८ साल कात्तिक २६ गते मोहन शम्शेर बाहिरिन पुगे र नेपाली कांग्रेसका नेता श्री मातृकाप्रसाद कोइरालाको नेतृत्वमा २००८ साल मङ्सिर १ गते नेपाली कांग्रेसको सरकार गठन भयो । मेरो जन्म मिति पनि २००८ साल मङ्सिर १५ गते नै भएको हो भन्ने मेरो चिनामा देखिन्छ, तर त्यो अवस्थाको मानिसले आजको राजनीतिक अवस्थासँग तुलना गर्नु कति सान्दर्भिक होला ?
नेपाली कांग्रेसको सरकार गठनपछि क्रान्तिको समयमा भैरहवा क्षेत्रमा मोर्चा नेतृत्व गर्ने डा. के. आई. सिंहले उठाएका मागप्रति बेवास्ता गरी उल्टै उनलाई पक्राउ गरी काठमाडौं ल्याइएपछि उनले अनुकूल समय मिलाई नेपाली कांग्रेस सरकारविरुद्ध विद्रोह गरे । मन्त्रिपरिषद्लाई कानुन बनाउनेलगायत विभिन्न पक्षमा सहयोग पु¥याउन श्री कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा सल्लाहकार सभाको गठन भयो ।
पार्टी सभापति पदमा निर्वाचित व्यक्ति नै प्रधानमन्त्री हुनसक्छ भन्ने भावनाले प्रेरित भई जनकपुर अधिवेशनमा वीपी पार्टी सभापति निर्वाचित भए । यसपछि मातृका र वीपी बिच व्यक्तिगत स्वार्थका आधारमा खडा भएको नेपाली कांग्रेसको फुटले प्रजातन्त्रको संस्थागत विकासको मार्ग अवरुद्ध ग¥यो ।
आपसी कलहका कारण मातृकाले राजिनामा दिएपछि फेरि केशर शम्शेरको नेतृत्वमा परामर्शदात्री सरकार गठन भयो, तर यो सरकार पनि राष्ट्रव्यापी किसान आन्दोलनका समस्या समाधान गर्न नसकी पतन भयो । ठीक आजसम्म नेपाली कांग्रेसमा पनि त्यही टुटफुट र गुटको आधारमा गुज्रिएको छ ।
तत्कालीन नेपाली कांग्रेसको विशाल नगर अधिवेशनपछि उक्त पार्टीबाट अलग भई राष्ट्रिय प्रजापार्टीको गठन गरिएको भनिन्छ र उक्त पार्टीको सभापति मातृका प्रसाद कोइराला बन्नुभयो । श्री ५ त्रिभुवन स्वदेश फर्किएपछि २००७ साल फागुन ७ गते संयुक्त मन्त्रिमण्डल गठन भयो । यसै शासनकालमा २०१० साल जेठ ३२ गते दोस्रो सल्लाहकार सभाको उद्घाटन भाषणमा श्री ५ त्रिभुवनले छिट्टै आमनिर्वाचन हुन सक्ने आशा व्यक्त गर्नुभएको थियो । तर, राणा शासन हटे पनि नेताहरुको आपसी कलहले देश थप राजनीतिक सङ्कटतर्फ उन्मुख भयो ।
बिग्रँदो स्वास्थ्य र देशको राजनीतिक परिस्थितिबिच २०११ साल चैत्र ३० मा श्री ५ त्रिभुवनको देहावसान भयो । २०१२ वैशाख २५ गते नारायणहिटी दरबारमा आमन्त्रित १२९ जनसंस्थाका प्रतिनिधिहरुको सुझाव अनुसार यथाशीघ्र आमनिर्वाचन सम्पन्न गर्न श्री ५ महेन्द्रबाट श्री टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल गठन भयो तर आमनिर्वाचन गराउन नसकेपछि २०१४ असार १३ गते उक्त मन्त्रिमण्डल विघटन भयो ।
त्यसपछि संयुक्त प्रजातन्त्र पार्टीका नेता डा. के. आई. सिंहले मन्त्रिपरिषद गठन गरे, तर उनले पनि निर्धारित समयमा निर्वाचन गराउन नसकी राजिनामा दिनुप¥यो । यी सबै घटनाक्रमले तत्कालीन अस्थिर राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्छन् ।
यो राजनीतिक खिचातानीको बेथा आजको मात्र होइन, हामी नजन्मँदैको रहेछ । आजका राजनीतिक ज्ञाताहरुले पनि एक–अर्कालाई स्वीकार्न नसक्ने अवस्था देखिन्छ तर आज आफ्नै कर्तुत बाहिर आइसकेपछि आफू बच्नका लागि मात्र गठबन्धन गरिएको रहेछ भन्ने कुरा आम नागरिकले समेत बुझिसकेका छन् ।