‘सञ्चारमाध्यमलाई कमजोर पार्ने कदम सच्याउनुपर्छ’

ओमप्रकाश गुप्ता
भालुबाङ, १४ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले सञ्चारमाध्यमलाई कमजोर पार्ने खालका सरकारी कदम तत्काल सच्याउन आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने बताएका छन् ।

राप्ती गाउँपालिका–५ कालापानीस्थित धार्मिक तथा पर्यटकीय स्थल खैराहामा आयोजित राप्ती प्रेस मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्लो समय राज्यको नीति र प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र अनेक चुनौतीको सामना गरिरहेको बताएका हुन् ।

अध्यक्ष सुवेदीले सरकारका केही निर्णयले स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर परेको आरोप लगाए । उनले विशेष गरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीप्रति असन्तुष्टि व्यक्त गर्दै यसले नागरिकलाई समयमै सूचना प्राप्त गर्ने अधिकारबाट वञ्चित गराउने खतरा बढेको बताए । ‘लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई कमजोर बनाउने कुनै पनि कार्य स्वीकार्य हुँदैन’, उनले भने, ‘सञ्चारमाध्यमलाई कमजोर पार्ने खालका निर्णय तत्काल फिर्ता लिनुपर्छ ।’

कार्यक्रममा सहभागी अन्य वक्ताले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनीहरूले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउँदै यसलाई कमजोर पार्ने प्रयासको सशक्त प्रतिवाद गर्नु पर्नेमा जोड दिएका थिए ।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले मञ्चले विगतदेखि नै पत्रकारका हक, हित र पेसागत सुरक्षा सुनिश्चितता गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । राप्ती गाउँपालिका–५ नं. वडाध्यक्ष देवप्रसाद चौधरीले स्थानीय तहले सञ्चारमाध्यमसँग सहकार्य गर्दै जनताको सूचनाको अधिकार सुनिश्चितता गर्न प्रतिबद्ध रहेको बताए ।

नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले लोकतन्त्रको संरक्षणमा सञ्चार क्षेत्रको भूमिका अतुलनीय रहेको भन्दै पत्रकारको सुरक्षा र स्वतन्त्रता सुनिश्चितता गर्न राज्य गम्भीर हुनु पर्ने धारणा राखे । इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख पुष्करसिंह ऐरीले शान्ति सुरक्षा कायम गर्न सञ्चारमाध्यमसँग सहकार्य आवश्यक रहेको बताए ।

नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारीले सूचना प्रवाहलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमलाई सशक्त बनाउनु आवश्यक रहेको बताए । कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजाल, सल्लाहकारहरू दशरथ घिमिरे र वासुदेव न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न साझा प्रयास आवश्यक रहेको बताएका थिए । मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।