गोरक्ष समाचारदाता
दाङ, १२ वैशाख । नेपाली कांग्रेसका नेता तथा ‘जरा अभियान’ अन्तर्गत दाङमा खटिएका केन्द्रीय प्रतिनिधि शङ्कर तिवारीले पार्टीको १५औँ महाधिवेशनले संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबिच उत्साहपूर्ण एकता कायम गर्ने बताएका छन् । घोराहीमा नेपाल प्रेस युनियनले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा तिवारीले पछिल्लो समय देखिएको पार्टीभित्रको आन्तरिक मतभेद क्रमशः समाधानउन्मुख रहेको बताए ।
विशेष महाधिवेशनबाट उत्पन्न विवाद सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै असहमति घट्दै गएको र अब पार्टी एकताबद्ध रूपमा अघि बढ्ने वातावरण बनेको उनको भनाइ थियो । नेता तिवारीले लोकतान्त्रिक पार्टीभित्र फरक मत स्वाभाविक भए पनि अन्ततः नेतृत्वलाई सफल बनाउने र पार्टीको मुख्य उद्देश्य पूरा गर्ने दिशामा सबै नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी रहने स्पष्ट पारे । महाधिवेशनबाट चयन हुने नेतृत्वले पार्टीलाई जनतामाझ अझ लोकप्रिय र भरोसायोग्य बनाउने विश्वास व्यक्त गर्दै उनले अहिलेबाटै एकता कायम गर्नमा नेताहरू लाग्ने बताए ।
सर्वोच्चको निर्णयसँगै पार्टी सभापति गगन थापाले पाटीभित्र देखिएका विमतिलाई कम गर्दै एकता कायमका लागि सक्रियताका साथ लागेको भन्दै विभिन्न नेताहरूसँग संवादसमेत गरिरहेको बताए । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत अग्रज नेतासँग छलफल भइसकेको र अन्य नेताहरूसँग पनि भेटघाट गरी असहमति अन्त्य गर्ने प्रयास जारी रहेको उनले जानकारी गराएका थिए । उनले आगामी असोज महिनामा तय गरिएको महाधिवेशनको मिति परिस्थिति अनुसार केही तलमाथि हुन सक्ने भए पनि यसले पार्टीलाई थप एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै उनले सबै तहका नेता तथा कार्यकर्तालाई उत्साहका साथ सहभागी हुन आग्रह गरे । उनले महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा सफल बनाउनु पर्नेमा जोड दिएका थिए ।
‘जरा अभियान’मार्फत पार्टीको तल्लो तहसम्म पुगेर वास्तविक अवस्था बुझ्ने कार्य भइरहेको जनाउँदै उनले संगठनका कमजोरी पहिचान गरी सुधार गर्ने काम अघि बढाइएको बताए । यस अभियानले पार्टीलाई पुनः सुदृढ बनाउँदै जनतामाझ विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने उनको धारणा थियो । तिवारीले पुनर्गठित र बलियो कांग्रेस जनतामाझ गएपछि बहुमत प्राप्त गर्ने आधार तयार हुने दाबी गरे । उनले सरकार स्वेच्छाचारी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै नागरिक स्तरबाट प्रभावकारी खबरदारी आवश्यक रहेकोमा जोड दिएका थिए । सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर नागरिक अधिकारमा असर पर्ने गतिविधिप्रति भने प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसले सशक्त रूपमा आवाज उठाउने बताए ।