‎बुबा हुनुको अर्थ : अनुभव, पीडा र सिकाइको निरन्तर यात्रा

मनोज पौडेल

मानिसको जीवनमा केही यस्ता भूमिकाहरू हुन्छन् जसलाई केवल शब्दमा सीमित गर्न सकिँदैन। ती अनुभूतिहरू महसुस गरिन्छ, बाँचिन्छ, तर पूर्ण रूपमा बयान गर्न सधैं गाह्रो हुन्छ। बुबा हुनु पनि त्यस्तै एउटा गहिरो अनुभूति हो, जहाँ माया, डर, जिम्मेवारी, असुरक्षा, आशा र सपना सबै एकसाथ मिसिन्छन्।

आज म मेरो जीवनको त्यही यात्राको केही अंश साझा गर्न खोजिरहेको छु, जुन केवल एउटा व्यक्तिगत कथा मात्र होइन, एउटा बुबाको मनभित्र चलिरहने निरन्तर संवाद पनि हो। ‎यो लेख लेख्ने प्रेरणा पनि सहज रूपमा आएको होइन।

मेरो एक आत्मीय मित्र किरण भण्डारी, जो बालबालिका विशेषगरी प्रारम्भिक बालविकास र पोषणको क्षेत्रमा गहिरो दख्खल राख्नुहुन्छ, उहाँ सधैं मेरो लेखहरू पढ्नुहुन्छ, मलाई अझ राम्रो लेख्न प्रेरित गर्नुहुन्छ। उहाँको व्यावसायिकता मात्र होइन, उहाँको आत्मीयता पनि उत्तिकै गहिरो छ। एकदिन हामीबीच फोनमा लामो संवाद भयो। सामान्य कुराकानीकै बीचमा उहाँले मलाई भन्नुभयो, “मनोजजी, तपाईं बुबा हुनुहुन्छ, तपाईंको त्यो अनुभव पढ्न मन छ। तपाईंले त्यो लेख्नुपर्छ।”

‎त्यो वाक्य सानो थियो, तर त्यसले मेरो मनमा ठूलो तरंग ल्यायो। सायद मैले कहिल्यै गहिरिएर आफैंलाई सोधेको थिइनँ कि बुबा हुनुको मेरो आफ्नै अनुभव के हो। त्यही दिन मैले उहाँलाई वाचा गरेँ, म यो विषयमा लेख्नेछु। आजको यो लेख, त्यसै संवादको निरन्तरता हो, एउटा मित्रले देखाएको ऐनामा आफूलाई हेर्ने प्रयास हो।

‎मेरो वैवाहिक जीवन २०६७ सालमा सुरु भयो। त्यो समय भविष्यका धेरै सपना थिए, धेरै कल्पनाहरू थिए, एउटा सानो परिवार बनाउने चाहना थियो। तीन वर्षपछि, २०७० सालमा, हाम्रो जीवनमा एउटा उज्यालो आयो, हाम्रो छोरी जन्मिइन्। त्यो क्षण अझै पनि मेरो मानसपटलमा ताजा छ। सानो शरीर, कोमल सास, र हाम्रो सम्पूर्ण जीवनलाई नयाँ अर्थ दिने एउटा उपस्थिती। समय बित्दै जाँदा आज ऊ करिब १३ वर्षकी भइसकेकी छे, तर मेरो आँखामा ऊ अझै पनि त्यही सानी बालिका जस्तै लाग्छे।

‎तर यो यात्रा सरल थिएन। यसबीचमा हामीले दुईपटक सन्तान गुमाउनु पर्यो। त्यो पीडा शब्दले बयान गर्न सकिने कुरा होइन। त्यो केवल अनुभव गर्न सकिने कुरा हो। एउटा जीवन जसलाई तपाईंले महसुस गर्न थालिसक्नुभएको हुन्छ, जससँग तपाईंले भविष्यका सपना जोडिसक्नुभएको हुन्छ, त्यो अचानक हराउँदा भित्र केही टुट्छ। त्यो पीडा मभित्र पनि छ, तर म सधैं महसुस गर्छु कि मेरी श्रीमतीले त्यो पीडा अझ गहिरो रूपमा भोग्नुभयो। उहाँको शरीरले त्यो गुमाएको हो, उहाँको मनले त्यो बोकेको हो, र त्यो खालीपन आज पनि कतै शान्त भएर बसेको छैन।

‎म आफै बाल स्वास्थ्य, पोषण र सरसफाइको क्षेत्रमा काम गर्ने मान्छे हुँ। मैले धेरै परिवारहरू देखेको छु, धेरै बच्चाहरूको अवस्था बुझेको छु, पोषण र हेरचाहको महत्त्वबारे सिकेको छु। तर आफ्नै जीवनमा आइपुग्दा मैले एउटा ठूलो सत्य बुझेँ—ज्ञान र प्रयासले सबै कुरा जित्न सकिँदैन। कहिलेकाहीँ प्रकृति आफैं निर्णायक हुन्छ। तपाईंले जति प्रयास गरे पनि, जति माया गरे पनि, सबै कुरा तपाईंको नियन्त्रणमा हुँदैन।

‎अहिले हाम्रो जीवनमा एउटै सन्तान छे—हाम्रो छोरी भाषा। ऊ केवल हाम्रो बच्चा मात्र होइन, हाम्रो संघर्षको प्रतिफल हो, हाम्रो आशाको केन्द्र हो, हाम्रो जीवनको एउटा महत्वपूर्ण आधार हो। उसको जन्म पनि सजिलो थिएन। डाक्टरको कडा निगरानीमा, आठ महिना नपुग्दै, प्रिम्याच्योर रूपमा ऊ जन्मिइन्। त्यो समय हामी डर, आशा र अनिश्चितताको बीचमा थियौं। डाक्टरले स्पष्ट रूपमा भन्नुभयो कि भविष्यमा अर्को सन्तानको बारेमा सोच्नु जोखिमपूर्ण हुन्छ। त्यो केवल सुझाव थिएन, त्यो एउटा चेतावनी थियो।

‎तर समाजले सधैं यस्ता वास्तविकतालाई स्वीकार्दैन। आज पनि कतिपय आफन्तहरू, साथीहरू, यहाँसम्म कि शिक्षित र स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसहरू समेत भन्छन्—एउटा छोरा त हुनैपर्छ, दुईवटा बच्चा त चाहिन्छ। उनीहरूको तर्क हुन्छ कि डाक्टर सधैं सही हुँदैन। कहिलेकाहीँ म ती कुराहरू सुन्दा मनभित्र आक्रोश उठ्छ। किनकि त्यो केवल एउटा सुझाव होइन, त्यो मेरो परिवारको सुरक्षासँग जोडिएको प्रश्न हो।

म आफैंसँग बारम्बार सोध्छु—के म समाजको अपेक्षाको लागि मेरो श्रीमतीको जीवन जोखिममा राख्न सक्छुरु के म एउटा कल्पित चाहनाका लागि वास्तविक खतरा स्वीकार्न सक्छु ? ‎म त्यसो गर्न सक्दिनँ। र सायद यही मेरो निर्णय हो, मेरो जिम्मेवारी पनि।

‎म विकास र पोषण क्षेत्रमा काम गर्ने भएकाले मेरो छोरीको हेरचाहमा कुनै कमी राख्ने कुरा मैले कहिल्यै सोचिनँ। उसलाई आवश्यक पोषण, शिक्षा, स्वास्थ्य, सबै कुरा दिन खोजिरहेको छु। तर एउटा कुरा सधैं मनमा खट्किरहन्छ—मसँग उसको लागि पर्याप्त समय छैन। कामको व्यस्तता, जिम्मेवारीहरू, यी सबैले गर्दा कहिलेकाहीँ मलाई लाग्छ कि मैले उसलाई दिनुपर्ने समय, उसलाई सिकाउनुपर्ने व्यवहार, सामाजिक सीप, पारिवारिक मूल्यहरू, सबै कुरा पूर्ण रूपमा दिन पाएको छैन।

‎तर जति सकिन्छ, म प्रयास गरिरहेको छु। सायद यही प्रयास नै मेरो बुबा हुनुको परिभाषा हो। ‎मैले उसलाई सधैं एउटा कुरा सिकाउने गरेको छु—पहिलो हुनु जरूरी छैन, सहभागी हुनु महत्वपूर्ण हुन्छ। किनकि जीवन केवल प्रतिस्पर्धा होइन, यो त सहभागिताको यात्रा हो। मैले उसलाई भनेको छु कि मानिस हुनु नै सबैभन्दा ठूलो कुरा हो, पद वा स्थान होइन। उसलाई सिकाएको छु कि जे गर्छौ, आफ्नो स्तरमा राम्रो गर, समयसँगै पहिचान आफैं आउँछ। कसैलाई सानो वा ठूलो भनेर नहेर, सबैको आफ्नै संघर्ष हुन्छ।

‎समाजमा अझै पनि महिनावारीलाई लिएर धेरै भ्रमहरू छन्। मैले मेरो छोरीलाई त्यो डर र संकोचबाट टाढा राख्न खोजेको छु। मैले उसलाई भनेको छु कि महिनावारी कुनै अशुद्ध कुरा होइन, यो त प्रकृतिको सामान्य प्रक्रिया हो। जब हामी देवीहरूलाई पूजा गर्छौं, उनीहरू पनि महिला नै हुन् भन्ने कुरा उसलाई सम्झाएको छु।

त्यसैले मैले उसलाई मन्दिर जान, पूजा गर्न, दशैं तिहारमा टीका लगाउन कहिल्यै रोकेको छैन। ‎यस विषयमा घरभित्र धेरै बहसहरू भए। कहिलेकाहीँ असहजता पनि आयो। तर ती बहसहरूले मलाई झन् स्पष्ट बनायो—परिवर्तनको सुरुआत घरबाटै हुन्छ। यदि आफ्नै छोरीलाई आत्मविश्वासी र स्वतन्त्र बनाउन सकिएन भने समाज परिवर्तनको कुरा गर्नुको कुनै अर्थ रहँदैन।

‎कहिलेकाहीँ म आफ्नै व्यवहारतिर फर्केर हेर्छु। के म साँच्चै उसले सिक्नुपर्ने जस्तो बुबा बन्न सकेको छुरु सायद पूर्ण रूपमा होइन। म अझै सिक्दै छु। कहिलेकाहीँ थकान, कहिलेकाहीँ रिस, कहिलेकाहीँ कमजोरी—यी सबै मभित्र पनि छन्। तर त्यसपछि म आफैंलाई सम्झाउँछु—ऊ केवल मेरी छोरी मात्र होइन, ऊ एउटा स्वतन्त्र व्यक्तित्व हो, जसले मलाई हेरेर आफ्नो संसार बनाउँदैछे।

‎बुबा हुनुको सबैभन्दा ठूलो चुनौती सायद यही हो—शब्दभन्दा व्यवहारले सिकाउनु। उसलाई इमानदार बन्न सिकाउँदैछु भने म आफैं इमानदार हुनुपर्छ। उसलाई सम्मान सिकाउँदैछु भने म आफैं सबैलाई सम्मान गर्नुपर्छ। उसलाई नडराई बोल्न सिकाउँदैछु भने म आफैं सत्यको पक्षमा उभिन सक्नुपर्छ। ‎समयसँगै मैले एउटा कुरा बुझ्दै गएको छु—बुबा हुनु कुनै स्थिर अवस्था होइन, यो निरन्तर परिवर्तनको प्रक्रिया हो। छोरी बढ्दै जाँदा उसको संसार फराकिलो हुँदै जान्छ, र म पनि त्यससँगै आफूलाई बदल्न सिक्दै जानुपर्छ।

‎अन्ततः, बुबा हुनु पूर्णता होइन—प्रयास हो। त्रुटिहरूका बीचमा पनि माया कायम राख्ने, कमजोरीहरूका बीचमा पनि जिम्मेवारी नछोड्ने, र हरेक दिन केही न केही सिकिरहने। सायद यही मेरो जीवनले सिकाएको सबैभन्दा ठूलो पाठ हो—बुबा हुनु भनेको सधैं सही हुनु होइन, सधैं सिकिरहनु हो।