‘प्रतिस्पर्धा सस्तोमा होइन, गुणस्तरीय सेवामा हुनुपर्छ’

हिमाल महरा
दाङ,१२ वैशाख । परिवर्तित समयसँगै प्रतिष्पर्धा सस्तोमाभन्दा पनि गुणस्तरीय सेवामा हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आयोजनामा शनिबार जखेरा तालमा पिकनिक तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले अवको प्रतिष्पर्धा सस्तोभन्दा पनि गुणस्तरीय सेवामा हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीले फोटोग्राफरहरूले फोटो खिच्ने सेवाको दररेटमा एकरूपता नहुँदा समग्र व्यवसाय नै संकटतर्फ उन्मुख भएको गुनासो गरेका छन्। उनीहरूले समय अनुसार पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा ग्राहक तान्नका लागि अत्यन्तै न्यून दरमा सेवा दिने प्रवृत्ति बढेको भन्दै अस्वस्थ प्रतिष्पर्धाले व्यवसाय टिकाउनै कठिन हुँने अवस्था भएको बताएका थिए ।

वक्ताहरूले दररेटमा एकमत नहुँदा ग्राहकसमक्ष गलत सन्देश जाने, सेवाको गुणस्तर घट्ने र दीर्घकालीन रूपमा पेशा नै जोखिममा पर्ने अवस्था सिर्जना हुने बताएका छन्। त्यसैले सहभागीले एसोसिएसनले निर्धारण गरेको दररेटलाई सबै फोटोग्राफरले अनिवार्य रूपमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष, लुम्बिनी प्रदेश अध्यक्ष तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले फोटोग्राफी पेशा पछिल्लो समय विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताए ।

प्रविधिको विकासँगै अस्वस्थ प्रतिष्पर्धाले व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै उनले भने,‘अबको प्रतिस्पर्धा केवल सस्तोमा सेवा दिने होइन, गुणस्तरीय र व्यावसायिक सेवा दिने हो ।’ जोशीका अनुसार प्रविधिको तीव्र विकास, मोबाइल फोटोग्राफीको बढ्दो प्रयोग र अस्वस्थ प्रतिस्पर्धाले परम्परागत फोटोग्राफरहरूको व्यवसायमा ठूलो प्रभाव पारेको छ। उनले फोटोग्राफरहरू समयअनुसार आफूलाई परिमार्जन गर्दै नयाँ प्रविधि, आधुनिक उपकरण र सिर्जनात्मक शैली अपनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी फोटोग्राफरहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले पेशागत समस्या पहिचान गर्न, अनुभव आदानप्रदान गर्न र साझा धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। एसोसिएसन दाङका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगला, प्रदेश उपाध्यक्ष दुर्गा चौधरी, पूर्व उपाध्यक्ष शिवराज अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव यमबहादुर आरसीले गरेका थिए।