लीलाधर वली
दाङ, १२ वैशाख । घोराहीमा भएको ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बन्नुभएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल हुनुभएको हो । प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १० किलोमिटर दुरी ३० मिनेट ३३ सेकेन्डमा र महिलातर्फ सेनाकै पूर्णलक्ष्मी न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्न सफल हुनुभएको थियो । पहिलो बन्नुभएका खड्का र न्यौपानेले नगद ८०÷८० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रतियोगितामा सशस्त्र प्रहरीका रुपेश कार्की ३१ मिनेट १३ सेकेन्डका साथ दोस्रो हुँदा नेपाली सेनाकै उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा हुन सफल हुनुभयो । महिलातर्फ सेनाकै निर्मला केसीले ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा सम्झना गुरुङवान ३९ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान लिन सफल हुनुभएको छ । प्रतियोगितामा द्वितीय र तृतीय स्थान लिने पुरुष तथा महिला खेलाडीलाई जनही ४५ हजार र २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट २ सेकेन्डमा दुरी पार गर्दै चौथो हुँदा महिलातर्पm एपिएफकी फुलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल हुनुभयो । चौथो स्थान प्राप्त गर्नुभएका पाल र रानाले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
विगत बर्षको तुलनामा यस बर्ष पुरस्कार राशी बढाइएको भन्दै उहाँले आगामी दिनमा रकमलाई बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउने अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रतियोगितामा एक हजार बढी खेलाडीको सहभागीता रहेको थियो ।